नियात्रा : अक्सफोर्डदेखि आक्रोपोलिस डाँडासम्म !
-भीम राई
हाम्रो संसार पनि ज्यादै बिचित्रको छ । संसारमा भएको बिभिन्न ठाँउहरुको खोलानाला, तालतलैया, लेकबेसी, पहरापर्वत मात्र नभएर अनेकौ धार्मिक तीर्थस्थलहरुले अत्यन्त धैर्यतासाथ हामीलाई पर्खेर बसिरहेका छन् । प्राचिन कालदेखि मानब समाजले निर्माण गरेका तिनै रमणीय तीर्थस्थलहरु पुगियो भने मनै प्रफुल्ल हुने गर्दछ । त्यसरी तीर्थस्थलहरुको यात्रा गर्दा मुख्यतय मैले दुईवटा फाईदाहरु पाउने गरेको छु । पहिलो प्राकृतिक सौन्दर्यताको अवलोकन र दोस्राे खोपडीभित्र नयाँ ज्ञानको भण्डार ।
हामीलाई भाग्यले साथ दिएर यसचोटि अलिक फरक तीर्थस्थल यात्राको तय गरेका थियौ र सदाबहार भ्रमणमा हामीलाई साथ दिनुहुने परेवाजोडी भाइ कृष्ण र सानु बहिनी पनि हामी सँगसँगै हुनुहुन्थ्यो । उहाँहरुसँग ब्लुमस्क, टर्कीदेखि पानामा नहरसम्म पुगेका थियौ । अथवा भनौ, नर्वेजियन फोर्डको रमणीय पहाडहरुको स्वाद चाख्दैचाख्दै रोमको कोलोशियममा पुगेर त्यसको वरिपरि लुकामारी खेलेर आनन्दित भएका थियौ । हामी जहाँजहाँ पुगिरहेका थियौ, भाग्यमानी पाईतालाहरुले हामीलाई राम्ररी साथ दिइरहेका थिए । फेरि अनायसै बहदै आएको समयको हुरीले हामीलाई २०१५ को जुलाई १० तारिकका दिन ग्रिसको एउटा सानो गाँउ ‘ओलम्पियामा’ पुरयाइदिएकाे थियाे ।
ओलम्पिया गाउँको तिनै रङ्गशालामा इसापूर्व ७७६ मा प्रथम प्राचिन ओलम्पिक खेल सम्पन्न भएको थियो । हामी त्यहाँ पुगेर मारामारी एकसय मिटर दौडेका थियौ । तर, सबैभन्दा हाँसो उठ्दाे कुरोचाहिँ के भयो भने यस धर्तीमा करिब छ दशक जीवन जिइसकेकाे र सेताम्मे दार्ही जुङ्गा पाकेका म बुढोले नै उनीहरु तीनजनालाई दशहात पछाडि पार्दै बिजय हात पारेका थिएँ अनि हाम्रो अहोभाग्यले जुराएर प्राचिनकालको त्यो रङगशालामा भएको प्रतिस्पर्धात्मक दौडपछि ओलम्पिक गाउँलाई दिनभरि समय खर्च गरेर बेलुकी पानीजहाजमा फिरेका थियौ ।
२६ सय तिर्थयात्री र एक हजार जहाजका कर्मचारीसहित नर्वेजियन जेडले बेलुकीको सातबजे तीनचोटि ठूलो हर्न बजाउँदै ओलम्पिया बन्दरगाहलाई सधैसधैका लागी छाडिराख्यो । त्यसपछि पानीजहाजले भूमध्ये सागरमा क्रमश: बाह्र घण्टाको यात्रा पुरा गर्याे । बिहानीपख हामी आँखा मिच्दैमिच्दै ब्युँझदा पानीजहाजले पिरेसस बन्दरगाहमा आराम गरिसकेको कुरो जहाजका कप्तानले ध्वनी प्रसारक यन्त्रदेखि जानकारी गराएका थिए ।
केहिबेरमा हामी चारैजना भेला भयौ । त्यसपछि हतारहतार बिहानीको खाजा खानको लागि जहाजको दशौं तलामा चढ्यौ । खाजा खाने क्रममा हामीले त्यहाँदेखि टर्कीको क्षितिजदेखि उदाएको सूर्यको किरणले पिरेसस बन्दरगाह नजिकको सामुन्द्रिक पानी चाँदीझै टलक्कै टल्किरहेको राम्रोसँग नजर लगाईरह्यौ तर, मलाई त्यस नजरले दिलाएको खुशी भन्दा जिन्दगीमा पहिलोचोटि पश्चिमी सभ्यताका महान दार्शनिकहरु सुक्रोटिस र प्लेटोको जन्मघर पुग्दा मन फुरुङ्ग भएर रुवाझै हावामा उडिरहेका थिए ।
जुलाई महिनामा एथेन्सको मौसम ज्यादै गर्मी थियो । तातोतातो चिया र त्यहाँको मौसमले मलाई चिटचिट पसिना आउन थालेका थिएँ । केहिबेरपछि पानीका बोतल, सहरको नक्सा, क्यामेरा र पासपोर्ट खाँदेको एकएक वटा झोला काँधमा भिरेर हामी जहाजको ग्याङ्गवेमा झर्यौ त्यसपछि, सरासर हिडदै ट्याक्सि स्टेसनमा पुगेका थियौं ।
पिरेसस ट्याक्सि स्टेसनमा भएको प्रचण्ड गर्मिले गालादेखी तपतप पशिना चुहाउदै ट्याक्सि चालकले शुभ-बिहानी ‘कालिमेरा’ भनेर हामीलाई न्यानो स्वागत गरे । उनैको ट्याक्सिमा चढेर एथेन्स घुम्नको लागि तयार भयौ । ट्याक्सि भित्र हैकम जमाएपछि चालकले उसको नाम निकोलस भनेर सुनाए । निकोलसले पिरेसस बन्दरगाहदेखी केहि अगाडिको बिफल्टे भन्ज्याङ छिचेलेर सानो डाँडाको टुप्पामा पुगे र ट्याक्सिलाई खक्रक्कै रोक्यो । हजारौ सपनाहरुसँग रुमलिएका हाम्रा मनहरु सहरको दृश्यबलोकन गर्न एकदम आतुर थिएँ, त्यसैले ट्याक्सि रोकिने बितिक्कै झरि हाल्यौ ।
निकोलसले चालक र पथप्रदर्शक दुवैको काम सँगसँगै गरिरहेका थिएँ । निक्कै फुर्तिलो र फरासिलो मिजासका धनिले थोरै अङ्ग्रेजी र धेरै ग्रिक भाषामा भटभट्याउदा हामीलाई उसको भाषा बुझ्न हम्मेहम्मे परिरहेको थियो । तै पनि त्यँहादेखि देखिएको सुन्दर सहरको रमणिय घरहरु, डाँडाकाँडाहरु र बिभिन्न रङ्गशालाहरुको मनोरम दृश्यले मुखदेखि जिब्रो निस्केर भाग्न खोजिरहेका थिएँ ।
हामीले तीनै डाँडोमा बिस मिनेट जति समय खर्च गरयौ । त्यसपछि, सन् २००४ मा भएको गृष्मकालिन ओलम्पिक रङ्गशाला ‘स्पारोस लोइज’ लाई दाहिने तिर बनाएर उसले एकरफ्तारमा ट्याक्सि हाँकी रह्यो । तिनै बहुचर्चित ग्रिक धावक स्पारोस लोइजले सन् १८९६ मा भएको प्रथम आधुनिक म्याराथन दौडमा स्वर्णपदक जितेका थिएँ । केहिबेरमा ग्रिसका प्रधानमन्त्रीको कार्यलयलाई राजमार्गको दाहिने तिर पार्दै प्रथम आधुनिक गृष्मकालिन ओलम्पिक रङ्गशालामा पुगेर ट्याक्सिको चक्काहरु दोश्रोचोटि रोकिएँ ।
बेलायती कठङ्ग्रिदो हिउदे मौसमले जलिरहेको मन र मस्तिष्कलाई फुरुङ्गै बनाउदै अघिल्लो बिहान प्राचिन ओलम्पिक रङ्गशाला, ओलम्पियामा पुगेर सय मिटर दौडेका थियौ । भोलिबिहान प्रथम आधुनिक ओलम्पिक रङ्गशाला पुगेर दुईसय मिटर दौडेर आनन्दित त त्यसै भयौ । तर, सेतासेता सिङ्गमरमर द्वारा निर्मित बिश्वको एउटै मात्र रङ्गशालाको हरेक सिटहरुमा नजर डुलाउदा मेरो मुखबाट हल्का रयाल चुँहिन थालिसकेका थिएँ ।
८० हजार दर्शक अटाउने त्यति आकर्षक रङ्गशालालाई अब बुईपा, खोटाङमा जाँदा कुन शब्दले बर्णन गर्न सकिएला भनेर म भित्रभित्रै पिरले जलिरहेको थिएँ । अझै त्यति मात्रै कहाँ हुनु र ? बिहानीको सूर्यको किरणले टलक्कै टल्केका ती मार्बलको सुन्दरताले उल्टो पिडा दिएर झन थरथर काम्न पो थालिसकेका थिएँ ।
निक्कै अबेरसम्म रङ्गशालाको अबलोकन गरेपछि, बिहानीको घामसँग लुकामारि खेलिरहेको वरिपरिको आकर्षक डाँडो र सिधै अगाडिको समथर जमिनलाई नियाल्दै ट्याक्सि सुस्तरि ओरालै ओरालो हुइकिन थाल्यो । त्यसपछि सिधै मुनि समथर भूमीमा रहेको ‘टेम्पल अफ जेयस’ लाई ताकेर केहिबेर अगाडि बढिरह्यो ।
ट्याक्सि ग्रिक ओलम्पियन देवता जेयसको मन्दिर नजिकै पुगेर रोकिएको थियो । ट्याक्सि रोकिने बितिक्कै हाम्रा कदमहरु जेयसका मन्दिरतर्फ अगाडि बढेका थिएँ । इसापुर्व छैटौ शताब्दिदेखि मन्दिर बनाउन सुरु गरिएको भएपनि त्यसको ६३८ बर्षपछि मात्रै रोमन सम्राट हाडरियनले मन्दिरको निर्माण कार्य सु-सम्पन्न गरेका थिएँ । त्यस मन्दिरलाई थाम्नका लागि १०४ वटा ‘कोरिथिएन’ मार्बलदेखी बनेका बलिया बलिया स्तम्भहरुको प्रयोग भएका थिएँ ।
पाठकहरुलाई स्मरण रहोस, ग्रिक सभ्यताले ‘डोरिक, आएनिक र कोरिथिएन’ गरेर तीन प्रकारको ठूल्ठूला स्तम्भहरु प्रचलनमा ल्याएका थिएँ । जसलाई लण्डन, पेरिस र वासिङ्गटन डिसीको सबैभन्दा महत्वपुर्ण महलहरुमा प्रयोग गरिएका मैले एथेन्स पुग्न अगाडिनै नजर लगाईसकेको थिएँ ।
लगभग २६ सय बर्ष पहिले निर्माण गरिएको जेयसको मन्दिरले इतिहासको कालखण्डमा बिभिन्न युध्द र महाप्रलय भोगेका थिएँ । तर भग्नाबशेष रुपधारण गरिसकेका मन्दिरको १५ वटा स्तम्भहरु अहिलेसम्म ज्युँकात्युँ ठाडै उँभिरहेका हामीले देखेका थियौ ।
१७ मिटर अग्ला र २ मिटर चौडाइ भएका तिनै भिमकायाँ स्तम्भहरु मध्ये एउटा स्तम्भ सन् १८५२ मा ढलेर भुईमा लम्पसार परेर सुतिरहेका छन् । त्यसलाई देखेपछि, मेरो अनुहारलाई निन्याउरो बनाउदै तीनकुनेको दुँभो चोर्ने देशभक्त्ति नेपाली मनहरुलाई एथेन्समा पुगेर मज्जाले स्मंरण गरेका थिएँ । किनभने, त्यति पुरानो इतिहास बोकेको तर भुकम्पले बङलङ्गै ढलेको खम्बाको टुक्राहरु चोर्ने हिम्मत नगरेका सभ्य एथेनियन जनताहरु प्रति मैले हृदयदेखी उच्च सन्मान गरिरहें ।
हामी त्यस्तो ऐतिहासिक स्थलमा बल्लबल्ल टाउकोले टेकेर पुगेका थियौ । त्यसैले मन्दिरलाई त्यति चाँडै छाडिहाल्न पटक्कै हाम्रा मनले मानीरहेका थिएनन् । तर बिधिको बिडम्बना त्यस्तो थिएन । पानीजहाजमा हसुरेको बिहानीको खाजाले केहि समय अगाडिनै बिदा मागिसकेका थिएँ । लोभि आँखाहरुले मनोरन्जन लिइरहेकै भएपनि हाम्रा पेटहरु पटक्कै खुशि थिएनन । त्यसैले जेयसको मन्दिरलाई दशऔंला जोडेर नमस्कार गर्दै दिउसोको लन्च खान नजिकैरहेको ग्रिक रेस्टुँरातिर लागिहाल्यौ ।
एथेन्सको स्थानिय रेष्टुँरामा भूमध्यसागरिय भोजन टन्न खाएपछि मेरा पेट बल्लबल्ल खुशि भएका थिएँ । तर ट्याक्सिमा चढने बितिक्कै मलाई किन हो किन त्यहाँका सडकहरु, बत्तिका खम्बाहरु, सस्याना जैतुन रुखका पोथ्राहरु, आकर्षक घरहरु अनि समथर जमिनको बिचँ भागमा एक्कासि ह्वात्तै उँठेका आक्रापोलिस डाँडा देखेर मेरो हृदयमा खुशिका तरङ्गहरु मज्जाले जोडिरहेका थिएँ । अनि तिनै रमणिय डाँडाले मेरो तन र मन दुवैलाई लामो समयसम्म आकर्षण गरिरहेको थियो ।
म निक्कै टँठिलो मुद्रामा ट्याक्सिको अघिल्लो आसनमा आरामले बसिरहेको थिएँ । अनि त्यति फराकिलो राजमार्गमा ट्याक्सि प्रतिघण्टा चालिस किलोमिटरको गतिमा हुईकिइरहेको समय समयमा मैले नजर लगाइरहेको थिएँ । ट्याक्सि खुला सडकमा केहि अगाडि बढेर ट्राफिक बत्तिबाट बायाँ घुम्ने बितिक्कै खटक्क गरेको आवाज मेरो कानमा आएर ठोकियो ।
कसोकसो त्यति बिरमाईलो आवाजले उकालिमा गियर घटनुको साथसाथै गति पनि घटेको मैले अनुभुत गर्नथाले । त्यसबेला मेरा आँखाका ढकनिहरु एकसेकेण्ड पनि झिम्म भएका थिएनन् बरु एकोहोरो एथेन्सलाई क्वारक्वार्ति नियालि रहेका थिएँ । तर हामी चार जनालाई सकिनसकि बोकेर आक्रापोलिसका घनघश्या उकालो चँढिरहदा ट्याक्सिलाई परेको मर्मले मेरो हृदय थोरै बेचैन बनिरहेका थिएँ ।
एथेन्स सहरको बिचँ भागदेखि सिधै माथि उठेर टाउकोमा समथर भएको त्यति सुन्दर डाँडामा अबस्थित एथेना देवीको मन्दिर अवलोकन गर्न उकालो लागिरहदाँ मेरो मनचाँही त्यहाँदेखी उडेर अन्त कतै गइसकेका थिएँ । किन हो किन, मलाई एथेनाको नामदेखि बनेका एथेन्स आफ्नै घरआगँन जस्तै पृय लागिरहेको थियो । हुनत १८ बर्षको कलिलो उमेरमा मैले गाउँ छाडेर यतिबेला सम्म फिरङ्गी जीवन बिताईरहेको थिएँ । अहिले औलामा गन्दा ठेक्कै त्यसको दुई दोब्बर अथवा ३६ बर्ष पुरा भइसकेका रहेछन् । त्यसैले मलाई त्यसबेला नेपाल स्वदेश र ग्रिस परदेश जस्तो पटक्कै लागिरहेको थिएनन् ।
एकबारको जीवन जिउने क्रममा पृथ्वीलाई कति चक्कर लगाइयो होला भनेर अहिलेसम्म ठेक्कै एकिन गर्न सक्त्तिनथे । तर, म जहाँजहाँ पुगेको थिएँ, निश्चयनै उताउतै रमाएका थिएँ । मलाई बेइजिङ, बैकंक, बोस्निया, बर्लिन, ब्राटिस्लाभा, बर्मिङ्घाम र बोस्टन सहरहरु पुग्दा ती सवै आफ्नै सहरहरुझै लागिरहेको थियो । कोलम्बियाको केरा, इटालीको अङ्गुर र साईप्रसको सुन्तलाको स्वादमा मैले नेपालको भन्दा केहि फरक स्वाद पाएको थिइन । मैले उतातिर पुग्दा उतैको खाना खाए र त्यतैको भाषा बोल्ने प्रयत्न पनि गरें । त्यसैले मलाई जहिले पनि हाम्रो यो सानो संसारनै हामी सबैको एउटा सुन्दर घर हो जस्तो लागिरहेको हुन्थ्यो ।
मलाई कहिले पनि माउन्ट एभरेस्ट आफ्नो र माउन्ट टिटलिस पुगेर त्यो स्विटजरल्याण्डको मात्रै हो भन्न मेरो दिलले मानेको थिएनन् । बरु यो संसारमा जेजति छन् ती सबै हाम्रै हुन । र, सबैले मिलेर यस धर्तीलाई जोगाउनु पर्छ भन्नेमात्र लागि रहन्थ्यो । किन हो किन, मलाई भित्री आत्मादेखि नक्कली राष्ट्रबादको भूत कहिलेपनि चढन सकेको थिएनन् । त्यसैले मलाई एउटा मात्र देशको देशभक्त्ति हुनभन्दा पृथ्वीभक्त्ति हुन जहिलेपनि मन लागि रहन्थ्यो ।
अनि कहिलेकाही यस्तो लाग्थ्यो । हामी जुनसुकै राष्ट्रमा बसेपनि केवल मानब मात्र हौ । एकले अर्कोलाई दोषारोपण गरेर दुश्मनि पैदा गर्न भन्दा सदैब मानबिय हितको लागि सोचियो भने त्यो नै सबैभन्दा उत्तम हुन्छ जस्तो लाग्दथ्यो । यदि बास्तबिक यर्थाथलाई स्विकार गर्ने हो भने राष्ट्र राष्ट्रको सिमानाले मानिसका बिचारहरुलाई कहिलेपनि रोक्न सक्तैन रहेछन् । सायद त्यसैले हुनसक्छ मार्क्स, एङ्गेल्स र आइन्सटाइनका महान बिचारहरु बिश्वभरि छरिएर रहेकाछन् । तर, दुर्भाग्यबस उनीहरु कहिलै पनि आफु जन्मेको देशमा मात्रै अटाउन सकेनन् ।
ट्याक्सि आफ्नो रफ्तारमा गुडिरहेको थियो । केहिबेरमा मुलसडक छाँडेर हामी बायाँतिर रहेको कारपार्कमा पुगेका थियौ । त्यहाँदेखि आ-आफ्नो झोला बोकेर उकाली चढन थाल्यौ । निक्कै लामो समयसम्म उकाली चढेपछि पार्थिननको मुख्य ढोकामा रहेका महान दार्शनिक प्लेटोलाई अभिबादन गर्दै हाम्रो कदमहरु क्रमश: अगाडि बढिरहेका थिएँ ।
आक्रापोलिस डाँडामा मध्यान्हको प्रहर थियो । त्यसैले हामी थोरै भूमध्यसागरिय घामले डढिरहेका थियौ । तर, समय समयमा डाँडामा आउने सितल बतासले हामीलाई थोरै राहत दिइरहेको थियो । आक्रापोलिस डाँडाको चारैतिर डरलाग्दा चट्टानदेखि बनेका भिराला पहरालाई देखेर हाम्रो आङ जिरिङ्गै हुने गर्दथे । यस्तो लाग्थ्यो, त्यहाँदेखी बल्ढङ्गै लडिएर झरियो भने सिधै बैकुण्ठबास पुगिन्थ्यो होला ? अनि पहराको बिशाल छातिमा पछारिदै तल समथर जमिनमा पुग्दा मुश्किलले शरिरको एकदुई चोइटो मासु र हड्डि मात्रै बाँकी रहन्थ्यो होला ? त्यसैले हामी कतै झ्वाम्म तल खसि हालिएला कि भन्ने त्रासले त्राहित्राहि भइरहेको थियौ ।
तर त्यहाँदेखी टाउकोलाई फनफनि घुमाएर हेर्ने हो भने एथेन्स सहरको पुरै ३६० डिग्री दृश्यबलोन गर्न मज्जाले सकिन्छ । हामी डाँडामा पुग्दा दिउसोको समय करिव एक बजिसकेको हुनुपर्दछ । मध्यान्हको त्यति सफा मौसममा एथेन्स धपक्कै बलेको जस्तो हामीलाई अनुभुत भइरहेको थियो । हामी भन्दा अगाडि त्यहाँ पुगेका बुढाबुढि, अधबैसे तरुनीहरु र फाच्चेफुच्चे बच्चाहरु जताततै हिडिरहेका देख्न सकिन्थे । यतिकैमा एकजना बेलायती युबकले उसको प्रेमिकालाई औंठी लगाइ दिएर बिबाहको प्रस्ताब गरेको रमाईलो दृश्य हाम्रो अगाडि देखापरयो ।
त्यस्तो दृश्य बाट सर्लक्कै नजर हटाएर छोटाछोटा जामा पहिरन गरेका स्कानडेनिभियन मुलका तरुनीहरुको सेताम्मे तिघ्राको शरण पर्दैपर्दै म केहिबेर एक्लै हिडिरहेछु । युबतीहरु स्कानडेनभिय देखी आएको हुनुपर्छ भनेर उनीहरुले बोलेको भाषा द्वारा मैले चाल पाइसकेको थिएँ । त्यसै त उनीहरुको देशमा बढि जाडो हुन्थ्यो । त्यसैले ग्रिसमा भइरहेको गर्मिको फाइदा लिदै तिघ्राहरुले सूर्यको शरण परेका हुन भन्ने मलाई त्यसबेला लागिरहेको थियो ।
तर, अचानक कृष्ण भाईले दुरदृष्टि बाट, ‘दाई ! हामी यतातिर छौ है ?’ भनेर बोलाउदा म झसङ्ग झस्केको थिएँ । उसको बोलि सुनेपछि, ‘छ्या ! म के भएको हो ?’ एउटी स्त्रीको सर्बाङ्गै नग्न शरिर देखिसकेको मानिस जाबो स्वेडिस तरुनीहरुको नाङ्गो तिघ्राले एक्ल्याएर मलाई यो कुनासम्म एक्लै ल्याई पुरयायो भनेर झन मेरा अनुहार रातापिरा भएका थिएँ । त्यसपछि, म केहि बोल्दैनबोलि उनीहरुलाई केहिबेर चुपचाप पर्खेर बसिरहें ।
युबतीहरुको पहिरनले आकर्षण गरेर छुट्टिएको हामी चारैजनाको भेट भएपछि डाँडैडाँडाको बाटो हिडिरहेका थियौ । तर त्यतिकैमा इरेकथियन मन्दिरको नजिक पो पुगिसकेका रहेछौ । त्यहाँ पुगेपछि मन्दिरको दक्षिणी भागमा रहेका ६ जना युबतीहरुको मार्बल स्तम्भलाई मज्जाले नियालेर हेरयौ । तिनै युबती स्तम्भहरुको टाउकोले पुरै तलालाई दर्होसँग थामेको देख्दा हामी आश्चर्यमा परेका थियौ । इसापुर्व ४०६ मा निर्माण भएको तिनै इरेकथियन मन्दिरलाई पृष्ठभुमि बनाएर हामीले क्यामेरामा केहि तस्बिरहरु पनि कैद गरिहाल्यौ ।
इरेकथियन मन्दिरबाट अलिकति मुन्टो दाहिने तिर घुमाउने बितिक्कै एथेना देवीको मन्दिरमा पुगेर हाम्रो अनुहार ठङरङ्ग ठोकियो । तर, एथेना देवीको त्यति सुन्दर मन्दिर ‘पार्थिनन’ लाई भेनेसनहरुले बमप्रहार गरेर छानोनै उडाइ दिएको त्यो कालो इतिहास सम्झँदा हाम्रा आँखाहरु धमिला धमिला भएका थिएँ । मन्दिरका छानो उडेर गएपनि मार्बलका ४६ वटा स्तम्भहरु चाँही अहिलेसम्म शून्य आकाश तिर उतानो फर्केर उँभिरहको नजर लगाउन सकिन्छ । मैले त्यतिबेला नेपाली इतिहासमा आफ्नो स्वर्थ पुरा गर्न र मानब जीवनको बिभत्स हत्या गर्नको लागि देशभित्र बम भित्र्याउने बमगुरु ‘प्रचण्ड’ सम्झेर आफ्नो अनुहार ङिस्स बनाइरहेका थिएँ ।
हामी निक्कै लामो समय सम्म त्यँही उँभिएर पार्थिननलाई हेरिरहेका थियौ । तर, मानबिय सभ्यताको पहिचान बोकेर दुई हजार बर्ष पहिले बनेको मन्दिरलाई बमले जिर्णोदार अबस्थामा पुरयाइ दिएको देख्दा हाम्रो हृदय खङरङ्गै भएका थिए । तैपनि मानब जातिको हृदय गौरवान्तित बनाउने पार्थिननको निर्माण इसापुर्व ४४७ देखी सुरु गरिएको थियो । र, इसापुर्व ४३८ मा मात्रै त्यसले पुर्णरुप लिएको थियो । तर पुरै मन्दिरलाई राम्रोसँग रङ्गरोकन भर्न अर्को चारबर्ष समय खर्च गर्नु परेको थियो ।
त्यहाँ प्रयोग भएका सबै मार्बलहरु पेन्टिलिन पर्वतदेखी ल्याइएका थिएँ । र, त्यति प्रख्यात आक्रापोलिस पार्थिनन निर्माणका मुख्य कालिगढ चाँही अलौकिक शक्त्तिका धनि फेदियसनै थिएँ । मार्बलमा बनाईएका धेरैजसो आकृतिहरु उनी आफैले पनि कुँदेका थिएँ । त्यति ठूल्ठूला मार्बलका ब्लकहरु आधुनिक जमानाका औजारहरुको प्रयोग बिना कसरि डाँडामा ल्याइएका थिएँ होला भनेर म केहिबेर गमिरहें । प्राचिन कालमा निर्माण भएका बिश्वको सातौ आश्चर्यलाई हेरेर हामी मात्रै होइन सबै पर्यटकहरुनै धेरै लामो समयसम्म आश्चर्य मान्दै टोलाइ रहेका थिएँ ।
हरेक मानबको कल्पना भन्दा निक्कै टाढापुगेर बनेका आक्रापोलिसका पार्थिनन मानविय सभ्यताका लागि एउटा राम्रो उदाहरण हो भन्नेमा दुईमत हुन सक्त्तैन । खेदको कुरो चाँही भेनेसनहरुले त केबल पार्थिननको छानो मात्रै उडाई दिएका थिएँ । तर, ओटोमान साम्राज्यले आफ्नो शासनकालमा आक्रापोलिसमा बाँकीरहेका जम्मै बहुमुल्य मार्बलहरु तत्कालिन बेलायती दुत थोमस ब्रुसलाई बेचिदिएका थिएँ ।
स्कटल्याण्डमा जन्मेका थोमस ब्रुस सातौ ‘अर्ल अफ एलजिन’ हुन् । उनले सयकडौ श्रमिकहरु लगाएर सन् १८०१ देखि १८१२ सम्ममा आक्रापोलिसमा भएको प्राचिन मार्बलहरु धमाधम भत्काउदै बेलायतमा ओसारेका थिए । बाह्रबर्ष भित्रमा ओसारि सकेका केहि मार्बलहरुले उनको आफ्नो निबास स्कटल्याण्ड पुगेर बास पाएका थिएँ ।
अन्य मार्बलहरु चाँही ३५ हजार स्टर्लिङ पाउण्डमा बेलायती सरकारलाई बेचेका थिएँ । तिनै मार्बलहरुलाई बेलायत सरकारले “एलजिन मार्बल” भन्ने नामाकारण गरेका थिएँ । र, बिश्वको सबैभन्दा प्रख्यात तर अति बिबादस्पद एलजिन मार्बललाई सरकारले बेलायती सङ्ग्राहलय लण्डनमा ज्यादै सुरक्षित तरिकाले राखेका छन् ।
बेलायती सङ्ग्राहलयमा भएको त्यतिक्कै प्रख्यात ढुङ्गा ‘रोजेटो स्टोन’ को बिषयमा मैले धेरैचोटि सुनेको थिए । करिब दुई हजार बर्ष अगाडि तीन प्रकारको भाषामा लिपिबध्द भएको त्यो ढुङ्गालाई नेपोलियनको सिपाहीहरुले मिश्र कब्जागर्दा हजारौ बर्ष पहिले जमिनमा गाडिएका अबस्थामा भेटेका थिएँ । त्यो चाल पाएर बेलायती सैनिकले फ्रेन्च सैनिकलाई मिश्रमा आक्रमण गरेर रोजेटो स्टोनलाई बेलायत ल्याएका थिएँ ।
तीस बर्ष अगाडि प्रथम पटक हङकङ देखि बेलायत पुग्दा तिनै ढुङ्गाको दर्शन गर्न बेलायती सङ्ग्राहलय, लण्डन पुगेको थिएँ । ‘ढुङ्गा खोज्दै जादाँ मलाई देउता मिलेको थियो ।’ म कसोकसो झुक्किएर ठङरङ्गै “एलजिन मार्बल” भएको बिशाल कोठाभित्र छिर्न पुगेछ । तिनै अतितलाई एलजिन मार्बलको उदगम स्थल आक्रापोलिस डाँडामा भावभिह्वल अबस्थामा स्मंरण गरिरहको थिएँ ।
जब सन् १८३२ मा ग्रिस स्वतन्त्र भयो । तब ग्रिसले एलजिन मार्बललाई यथास्थानमा फर्काउनको लागि अनेकन प्रयत्नहरु गर्दै आएका थिएँ । अझै अन्तराष्ट्रिय छबि राम्रो होस भन्ने उदेश्यले अति प्रख्यात पुर्व नायिका मेलिना मरकरिलाई ग्रिस सरकारले सन् १९८३ मा ‘मार्बल फर्काउने मन्त्री’ सम्म बनाएको थियो । दुर्भाग्यबस उनी पनि मार्बललाई पार्थिननमा फर्काउन सफल हुन सकिनन् । अन्तमा तिनै कारणले उनको इहलिला समाप्त भयो ।
थेसोलेनिकी, ग्रिसमा जन्मेर अक्सफोर्डमा बस्ने पेनेलोप पापान्ड्रेयले बेलायती सङ्ग्रालय पुग्दा, ‘मेरा आशुँ छचल्किएर पोखिएका छन्, एक हिसाबले भन्ने हो भने बेलायतीहरु मार्बल चोरनै हुन्,’ भनेको सम्झँदा मेरो हृदय टाल्न नमिल्ने गरेर फाँटेका थिएँ । त्यसै गरेर हरेकबर्ष लाखैलाख ग्रिक नागरिकहरु बेलायती सङग्रालय पुगेर पार्थिननको एलजिन मार्बललाई नजर लगाएपछि आँशुको भेल बहाएर स्वदेश फर्कने गरेकाछन्, उनैले भनेका थिएँ ।
सुश्री पेनेलोपको भनाईलाई सम्झँदै गर्दा मैले नजर लगाएको बिश्वको सर्बाधिक प्रख्यात सङ्ग्राहलयहरु लुभ पेरिस, हर्मिटेज सेन्ट पिटर्सबर्ग र बेलायती सङ्ग्रालय लण्डनको एकअर्कामा निक्कै लामो समयसम्म तुलना गरिरहेको थिएँ । यदि लण्डनदेखी एलजिन मार्बल नै हटाइ दिने हो भने श्रीपेच पहिरन गरिरहेको बेलायती सङ्ग्राहलयको महत्व बङ्लङ्गै खस्केर तालिकाको पुछारमा पुग्थ्यो होला भन्ने मलाई धेरैबेरसम्म लागिरह्यो ।
खयर जे सुकै होस् । एकबारको जुनिमा यति धेरै डाँडाहरु काटन उकालि चँढियो । त्यस्तै समथर ब्याँसिहरुमा पुग्न कैयन ओरालिहरु झरिए । अनगिन्ति सुरुङहरु छिरिए, अशँख्या नदीहरु तरिए, घुर्माइला नागी फाँट र भन्ज्याँङमा बेस्सरि थकाई मार्दै बिभिन्न तिर्थस्थलहरुको दर्शन गरिए । तर, पश्चिमी सभ्यताका महामानबहरु सुक्रोटिस, प्लेटो, अरिस्टोटल र अलेक्ज्याण्डर महानले आक्रापोलिस डाँडामा पारेको पाइतालाको डोबहरुमा आफ्नो मरिन्च्यासे बादँरे पाइतालाहरु पार्दा जीवनभरि पालेको रहर पुरा भयो भन्दै म औधि प्रशन्न मुद्रामा खुशादशि, टर्कीतिर प्रस्थान गरेका थिएँ ।
अक्सफोर्ड, बेलायत ।