छ्याङ्दी हाइड्रोपावरले लाभांश घोषणा, ५ प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद
छ्याङ्दी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफाका आधारमा सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनी ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि आगामी वार्षिक साधारणसभामा लैजाने जनाएको छ । लाभांश पारित गर्ने हकप्रद प्रस्ताव लैजान तथा अन्य एजेन्डासहित कम्पनीले पुस २७ गते सातौं वार्षिक साधारणसभासमेत बोलाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि २०७७ पुस १७ गते सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ । यसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नेछन् भने साधारणसभामा सहभागी हुन पाउनेछन् ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।