Logo

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन


पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो । गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र स्थानीयवासीको टोलीले पहिलो चरणमा पदमार्गको अवलोकन भ्रमण गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मको पदमार्ग सञ्चालनलाई गाउँपालिकाले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको बताउँदै अध्यक्ष भण्डारीले डिपिआरको आधारमा पर्यटन पूर्वाधार थप गर्दै लैजाने योजना रहेको बताउनुभयो । ‘‘कहाँकहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौ, सरोकारवालाको टोलीबाट भएको अध्ययन र अनुगमनले यहाँको समस्या र सम्भावनाको थप उजागर हुनेछ’’, अध्यक्ष भण्डारीले भन्नुभयो ।

सांसद थममाया थापा, गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा सदस्य बुद्धिमाया पुन, चिमखोलाका अगुवा गम पुन, ध्रुवकुमार पाइजालगायत प्राविधिक र पत्रकारको टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम– दरमिजा– चिमखोला– घ्यासिखर्क–छरी हुँदै धौलागिरि आइसफल र आधार शिविरसम्म पुगेर पदमार्ग सञ्चालनको अवस्थाबारे अध्ययन गरेको हो । एकसाता लगाएर गरिएको भ्रमणका क्रममा पदमार्ग अन्तर्गत निर्माणधीन पूर्वाधारकोसमेत अवलोकन गरिएको थियो ।

चालू आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गकोसमेत अनुगमन गरिएको अधिकृत सुवेदीले बताउनुभयो । ‘‘चिमखोलाका जङ्गल, ओढारमा बास बसेर पदमार्ग बनाइराख्नु भएको छ, अक्करे भिरमा पदमार्ग खन्ने काम जारी छ, अवलोकन र नापजाँचको काम गरेका छौँ, बाँकी बजेटबाट पदमार्ग बनाउन टोलीलाई सुझाइएको छ’’, प्रमुख सुवेदीले भन्नुभयो । स्थानीयले पदमार्ग अन्तर्गत कोखेभीरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् ।

कोखेभिरसँगै पापिधर्मी भिरमा तीनसय मिटर बढी कडा पहाड कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको टोलीमा सहभागी सहायक सवइञ्जिनीयर सुमनबहादुर बुढाथोकीले जानकारी दिनुभयो । अक्करे भिरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण अघि बढेको छ । सांसद थापाले म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई विकास गर्न पहल गर्ने बताउनुभयो । ‘‘अत्यन्तै सम्भावना रहेछ यस पदमार्गको, केही ठाउँमा अझै पदमार्ग बनाउन बाँकी नै रहेको पाइयो, पदमार्ग, आवासगृहलगायतका पर्यटन पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारमार्फत आवश्यक पहल गर्छु’’, पूर्वमन्त्री थापाले भन्नुभयो ।

टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको प्रारम्भिक अध्ययन गरिएको थियो । पदमार्गको पहिचान भएको दशक पुग्न लाग्दासमेत यस पदमार्गलाई सञ्चालनमा ल्याउन सकिएको छैन । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ‘ट्र्याक’ निर्माण भइसकेको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले जानकारी दिनुभयो ।

उच्च हिमाली क्षेत्र र बस्तीदेखि टाढा रहेकाले जङ्गलमै बास बसेर पदमार्गलगायतका पूर्वाधार बनाउनुपर्ने बाध्यता रहको र हिमाली दर निर्धारण नहुँदा कामदारलाई उचित पारिश्रमीक दिन नसक्दा समस्या भएको उहाँले बताउनुभयो । धौलागिरि र अन्नपूर्ण क्षेत्रका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालीज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थान प्रत्यक्ष अवलोकन गर्न पाउनु यस पदमार्गका थप आकर्षण रहेका चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग सडक विस्तारसँगै मासिएपछि म्याग्दी र मुस्ताङलाई पदमार्गबाटै जोड्न धौलागिरि आइसफललाई वैकल्पिक मार्गको रुपमा पहिचान गरिएको थियो । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्