जनता नयाँ बिहानको पछि लाग्छ पुरानो चिहानको पछि होइन: प्रवक्ता विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूलाई नजिस्क्याउन आग्रह गरेका छन्।कांग्रेसलाई बाघको संज्ञा दिँदै उनले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न आग्रह गरेका हुन्।
मकवानपुरमा आज सरकारविरूद्धको प्रदर्शनमा बोल्दै प्रवक्ता शर्माले कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको बताए। ‘कांग्रेस सकियो, कांग्रेसको दिन गयो भन्नेहरू र आफ्नो पार्टीभित्र रडाको भएपछि कांग्रेसको ढोका ढक्कढक्याउनेहरू हो, हामी सडकमै रहन्छौं,’ उनले भने, ‘सरकारमा जानु परे निर्वाचनपछि बहुमत लिएर जान्छौं।’
गत निर्वाचनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भनेका थिए। उक्त भनाइप्रति संकेत गर्दै प्रवक्ता शर्माले आज ७७ जिल्लामा एकसाथ सरकारविरूद्ध प्रदर्शनमा ठूलो सहभागिता रहेको उल्लेख गरेका हुन्।
कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको उनले बताएका छन्। ‘अब सडक र सदनबाट हामी सरकारलाई जनअपेक्षाअनुसार काम गर्न दबाब दिन्छौं,’ उनले भने। महामारीका बेला सत्तारूढ नेकपा पार्टीभित्रको आन्तरिक झगडामा रूमलिएको उनले बताए।
ओली सरकारका पालामा भ्रष्टाचार बढेको पनि उनले बताए। ‘वाइडबडिमा भ्रष्टाचार भएको हो,’ उनले भने, ‘बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने भनिएको थियो। तर सरकारले चीनको विवादास्पद कम्पनीलाई दियो, यो भ्रष्टाचार हो।’
ओली सरकारप्रति निराशामा व्यवस्थाप्रति नै निराशा बढेको भन्नेतर्फ केही लागेको उनले बताए। राजावादीको प्रदर्शनप्रति लक्षित गर्दै उनले भने, ‘जनता नयाँ बिहानको पछि लाग्छ पुरानो चिहानको पछि होइन। यो कुरा जनतालाई बुझाउन पनि हामी सडकमा आएका हौं।’