नेप्सेले फेरि अर्को नयाँ उचाई कायम गरेको छ

सेयर बजारको परिसूचक नेप्सेले ११ दिनपछि अर्को नयाँ उचाई कायम गरेको छ। सोमबार ५६ अंकले बढेपछि परिसूचक नेप्सेले २०६७ अंकको नयाँ रेकर्ड बनाएको हो।
यसअघि १८ गते २०६३ को उच्च रेकर्ड बनाएको थियो। केही दिन बजारमा करेक्सन देखिएकोमा हिजो आइतबारदेखि बजार फेरि उकालो लागेको हो। यस दिन ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा करिब २ अर्ब बढी कारोबार भएको हो।
यस दिन जलविद्युतबाहेकका समूहहरु बढेका छन्। सो समूह २१ अंकले घटेको छ। बैंकिङ २२, ब्यापार १६१, होटल ३६, विकास बैंक ५६, फाइनान्स ३, निर्जीवन बीमा समूह ३७९, उत्पादन १०६, अन्य ६३ तथा माइक्रोफाइनान्स १३६ अंकले बढेका छन्।
प्राइम लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ।
लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै ५.७ प्रतिशत गुमाएका छन्। त्यस्तै युनिलिभरको मूल्य ४.९ प्रतिशतले घटेको छ। बजारमा सबैभन्दा महँगो सो कम्पनीको मूल्य प्रतिकित्ता १९२०० कायम भएको छ।
कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ७४ करोड ३९ लाख रुपैयाँको कारोबार भयो। मूल्य करिब १० प्रतिशत बढेर २२३८ कायम भएको छ।
त्यस्तै पुनर्बीमा कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको मूल्य पनि ६ प्रतिशतले बढेर १६५१ कायम भएको छ।