Logo

‘यलम्वर संगीत प्रतियोगिता-५०८०’ प्रवृत्ति राईले जितिन्


काठमाडौँ: खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ की प्रवृत्ति राई विश्वव्यापी अनलाइन यलम्वर संगीत प्रतियोगिता (किरात/यलम्बर सम्वत् ५०८०)को छैटौं संस्करणको विजेता बनेकी छन्।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वव्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको आज (शनिबार) भएको फाईनल प्रतिष्पर्धामा उत्कृष्ट १० मा परेका अन्य ९ प्रतिष्पर्धीलाई पछाडि पार्दै प्रवृत्तिले उपाधी कब्जा गरिन्।

ललितपुरस्थित ‘द यलखिम रेष्टुरेण्ट पार्टी प्यालेस’  आयोजना गरिएको फाईनल प्रतिष्पर्धामा सुनसरीकी सरिता राई ‘फस्ट रनरअप’ बन्दा खोटाङकै लकेस राई ‘सेकेन्ड रनरअप’ भए। त्यस्तै, दर्शक छनौटमा भने सुनसरीका रामकुमार राईले बाजी मार्दै उत्कृष्ट प्रतिभा घोषित भए ।

प्रतियोगीताको निर्णायकमा वरिष्ठ संगीतकर्मी सुर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राई थिए । फाईनल प्रतिष्पर्धामा प्रमुख अथितिमा गायक तथा संगीतकार जितेन राई एवं विशेष अथितिमा किरात राई यायोक्खाका महासचिव जनक राईको उपस्थिति भएको प्रतियोगिताका प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी दिए।

प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अनलाईनमार्फत विश्वव्यापी रुपमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १० देशका २ सय १३ जना प्रतिस्पर्धीहरुबाट विभिन्न चरणबाट अन्तिम प्रतिष्पर्धाको लागि उत्कृष्ट १० मा छानिएकाहरु बीचमा शनिबार फाइनल प्रतिष्पर्धा भएको प्रतियोगिताका प्रचारप्रसार विभाग संयोजक राईले जानकारी दिए।

उत्कृष्ट १० मा खोटाङका लकेश राई, प्रवृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलिमा साम्पाङ राई रहेका थिए।

उत्कृष्ट १० प्रतिस्पर्धीहरुले ग्रान्ड फिनालेमासमेत आफ्नो गायन प्रतिभा अनलाईनबाटै प्रस्तुत गरेका थिए भने कार्यक्रम किरात राई साँस्कृतिक कलाकार संघको आधिकारिक युट्युब च्यानलमार्फत लाइभ गरिएको संयोजक राईले बताए ।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले वार्षिक रुपमा राष्ट्रव्यापी गर्दै आएको प्रतियोगितालाई कोरोनाका कारण यो वर्ष विश्वव्यापी अनलाईन रुपमा सञ्चालन गरिएको प्रचारप्रसार संयोजक राईले बताए ।

प्रतियोगितालाई सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको संघका केन्दीय अध्यक्ष रामकर राईले बताए । किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि प्रतियोगिताको आयोजना गरिने अध्यक्ष राईले उल्लेख गरे ।

‘यलम्वर संगीत प्रतियोगिता-५०८०’ क्रमस बायाबाट बिजेता प्रवृत्ति राई, फस्ट रनरअप सरिता राई र सेकेन्ड रनरअप लकेस राई

त्यस्तै, प्रतियोगिताका विजेताले यलम्वर संगीत प्रतियोगिताका विजेता प्रवृत्तिले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउने भएकी छन् । किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्वर संगीत प्रतियोगिताका विजेताले आफ्नो प्रस्तुति दिन पाउने संयोजक राईले जानकारी दिए। त्यस्तै,  गरी उपविजेता सरिताले एउटा गीत रेकर्डिङ गर्न पाउने भएकी छन्।

यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जितेका थिए । यस्तै, दोश्रो संस्करण निश्चल राई, तेश्रो संस्करणमा नम्रता राईले उपाधी जितेकी थिइन् । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम बने भने गत वर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राई बाजी मारेकी थिइन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्