यलम्वर संगीत–६ को ‘ग्रान्ड फिनाले’ मङ्सिर २७ गते हुने
काठमाडौँ: विश्वव्यापी अनलाइन यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणको ‘ग्रान्ड फिनाले’ यहि मङ्सिर २७ (शनिबार) गते हुने भएको छ।
अनलाईनमार्फत विश्वव्यापी रुपमा सञ्चालन गरिएको प्रतियोगितामा पहिलो चरणमा सहभागी १० देशका २ सय १३ जना प्रतिस्पर्धीहरुबाट अन्तिम प्रतिष्पर्धाको लागि उत्कृष्ट १० छानिसकिएको प्रतियोगिताका प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी दिए।
उत्कृष्ट १० मा खोटाङका लकेश राई, प्रवृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलिमा साम्पाङ राई रहेका छन् ।
उत्कृष्ट १० प्रतिस्पर्धीहरुले ग्रान्ड फिनालेमासमेत आफ्नो गायन प्रतिभा अनलाईनबाटै प्रस्तुत गर्नेछन् भने कार्यक्रम किरात राई साँस्कृतिक कलाकार संघको आधिकारिक युट्युब च्यानलमार्फत लाइभ गरिने संयोजक राईले बताए ।
किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले वार्षिक रुपमा राष्ट्रव्यापी गर्दै आएको प्रतियोगितालाई कोरोनाका कारण यो वर्ष विश्वव्यापी अनलाईन रुपमा सञ्चालन गरिएको प्रचारप्रसार संयोजक राईले बताए । प्रतियोगितालाई सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको संघका केन्दीय अध्यक्ष रामकर राईले बताए । किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि प्रतियोगिताको आयोजना गरिने अध्यक्ष राईले उल्लेख गरे ।
प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका विजेताले यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउने भएको छ । किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्वर संगीत प्रतियोगिताका विजेताले आफ्नो प्रस्तुति दिन पाउने संयोजक राईले जानकारी दिए। यसै गरी उपविजेताले एउटा गीत रेकर्डिङ गर्न पाउने छन्।
यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जितेका थिए । यस्तै, दोश्रो संस्करण निश्चल राई, तेश्रो संस्करणमा नम्रता राईले उपाधी जितेकी थिइन् । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम बने भने गत वर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राई बाजी मारिन् ।



