Logo

नीतिगत स’मस्या कि नेपाली बजारको चरित्र ?


साताको पहिलोदिन आइतबार सेयरबजार परिसूचक नेप्से ६ प्रतिशतले ओरोलो लाग्यो । लगातार उकालो लागेको बजारले नयाँ रेकर्ड कायम गर्दै अघि बढेको थियो । केही विश्लेषकहरुले सेयर बजार अझै बढ्न सक्ने अनुमान गरेका थिए भने केहीले तत्कालै बजारले प्रतिक्रिया दिने भन्दै लगानीकर्तालाई बढी उत्साही नहुन आग्रह गरिरैका थिए ।

आइतबार भने सेयर बजारले एकाएक ‘यू टर्न ’ लियो । बुलिस बजारमा आइतबार एकाएक नेप्सेमा नेगेटिभ सर्किट लाग्दा लगानीकर्ताले ठूलै भुइँचालो नै गएको अनुभूति गरेका छन् ।  गत साताको अन्तिम कारोबार दिन लगानीकर्ताले नाफा बुक गर्न खोज्दा १५ अंकको करेक्सन देखिएको थियो ।
१५०० अंकबाट माथि लागेपछि राम्रो करेक्सन नदेखिएको बजारमा केही अंकले नेप्से घटेको भए त्यसलाई सामान्य रुपमा लिन सकिन्थ्यो ।

तर नेप्सेमा गएको १२३.३४ अंक (६ प्रतिशत) को पहिरोले बजारमा भर्खरै प्रवेश गरेका नयाँ लगानीकर्ताहरुलाई सशंकित बनाउने अवस्था आएको छ ।  यस्तो अवस्थामा पनि आइतबार सातअर्बभन्दा माथिको कारोबार भएको छ ।  डाउन नेप्से सुरुवातबाट नै डाउन ट्रेन्डमा रहेको र बीचमा केही सयम खरिद चाप बढे पनि लगातार डाउन ट्रेन्डमा नै रहँदा समेत यति ठूलो रकमको कारोबार हुनुले लगानीकर्ता बजार बढ्नेमा आशावादी नै रहेको संकेत गर्छन् ।

नेप्से सुरुमा जुन रुपमा घटेको थियो केहीसमयमा नै फर्कने संकेत पनि देखिन्थ्यो । तर साढे ११ बजेपछि पुनः नेप्से घट्ने क्रम सुरु भयो त्यसपछि पनि अडिदै घट्दै ग¥यो । यो बीचमा बिक्री गर्नेले त प्रशस्त समय पाए भने खरिद गर्नेले पनि । अहिलेको बजार परिसूचकलाई २०७३ साउनको १८८१ अंकमा पुगेका परिसूचसँग तुलना गर्ने हो भने नेप्सेलाई अस्वाभाविक रुपमा बढेको रुपमा लिनुपर्ने अवस्था भने छैन ।

यस बीचमा दर्जनौं कम्पनीको कराडौं कित्ता सेयर सूचीकृत भएको छ भने बोनस र हकप्रदको माध्यमबाट समेत बजारमा थप पुँजी भित्रिएको छ । तर लगानीकर्ताले आफूले लगानी गर्ने कम्पनीको संस्थागत सुशासन, वित्तीय अवस्था साथै समग्र बजारको अवस्थालाई भने अध्ययन गर्नुपर्ने हुन्छ ।  नेपाल राष्ट्र बैंकले गत बिहीबार सेयर धितो कर्जा (मार्जिन लोन) मा पुनरवलोकन गर्ने बताएको थियो ।

राष्ट्र बैंकको सोही नीतिगत परिमार्जनलाई बजारले तुरुन्तै प्रतिक्रिया जनाएको बजारका जानकारहरु बताउँछन् ।   तर नेपाल राष्ट्र बैंक भने मार्जिन लोनमा पुनरवलोकन गर्ने मात्रै भनेको भन्दै मार्जिन सीमा नै घटाउने भन्ने निर्णय नभएको दाबी गर्छ ।  राष्ट्र बैंकका एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने “आवश्यक परे सेयर धितो कर्जामा पुनरवलोकन हुन सक्छ भनेको हो, हामीले अब त्यसमा अध्ययन विश्लेषण गर्छौँ र आवश्यकअनुसार निर्णय लिन सकिन्छ । सेयर धितो कर्जाको सीमा घटाइहाल्ने भनेर कतै भनेको छैन ।”

नेपाल राष्ट्र बैंकले मार्जिन लोनको सीमा घटाए पनि अहिले तत्कालै लगानीकर्तालाई प्रभाव पर्ने अवस्था भने देखिँदैन ।  नेप्से १२–१३ सय हुँदा राष्ट्र बैंकले मार्जिन सीमा ७० प्रतिशत पुर्‍याएको थियो । अहिले नेप्से दुईहजारमाथि पुगेको अवस्थामा मार्जिन सीमा पुनरवलोकन नै भए पनि कुनै असर नपर्ने बजारका जानकारहरू बताउँछन् ।

आइतबार राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउन पुगेको लगानीकर्ता संगठनका प्रतिनिधिसँग पनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सेयर धितो कर्जामा पुनरवलोकन गर्ने मात्रै भनेको तर के कुरामा भनेर स्पस्ट नभनेको र मार्जिन लोनेको सीमा घटाउँदा लगानीकर्तासँग छलफल गरेर नै घटाउने आश्वसन दिएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

अहिले बजार घट्नुपर्ने कुनै कारण नदेखिएको फोरमका अध्यक्ष रौनियारले बताए । सीमित स्वार्थ समूहले हल्ला फैलाएर मार्जिन सीमा घटाउँदा पहाड खस्ने अवस्था आउने जस्तो गराएको उनको दाबी छ ।  “सेयर बजारमा घटबढ हुनु सामान्य प्रक्रिया हो तर लगानीकर्ता आत्तिएर बेचेर बाहिरिनुपर्ने कुनै कारण छैन, सानो उतारचढावलाई नै बहन गर्न नसक्ने र भाग्ने लगानीकर्ता बजारमा आवश्यक छैन,” उनको आक्रोश थियो ।

ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट नीतिगत प्रभाव मान्छन् । सेयर धितो कर्जामा पुनरवलोकन गर्ने मौद्रिक नीतिको समीक्षाको कारण नै आज बजार घटेको उनको दाबी छ ।  राष्ट्र बैंकले नीतिमा परिवर्तन गर्न खोज्दा के गर्न खोजेको हो भन्ने स्पष्ट गरेको भए राम्रो हुने लगानीकर्ताको टिप्पणी छ ।
तर हामीले यसो गर्न लागेका छौं भन्दा तर्साउने वातावरण बनेको उनीहरुको धारणा छ ।

अहिलेको अवस्थामा मार्जिन लोनको सीमा घटाउनै नहुने भन्ने हैन तर यति घट्छ भनिदिने हो भने अन्योलता र त्रास हट्थ्यो ।  राष्ट्र बैंकले सेयर बजारलाई मात्रै नभएर समग्र अर्थतन्त्रलाई हेरेर निर्णय लिने हो । तर राष्ट्र बैंकले गर्न खोजेको काम अमूर्त भएकाले बजारमा त्रास बढेको रानाभाट बताउँछन् । नेपाली बजार नै पूर्ण नभएको र यस्तोमा नेपाली बजारमा स्वभाव नै आइतबारको वास्तविकता भएको जानकारहरु बताउँछन् ।

सेयर बजार भित्रको हल्ला र चलखेल नजिकबाट नियकालीरहेको एक विज्ञको दाबी छ । अपरिपक्व बजारको चरित्र नै आइतबारको नेप्सेको वास्तविकता हो ।  यस्ता प्रक्रियाले धेरै पैसा हुने र चलखेल गर्न जान्नेलाई थप अवसर सिर्जना गर्ने र सोझा तथा नयाँ लगानीकर्ता फस्ने उनको दाबी छ ।  नेप्सेको फ्लोरसिटले पनि खरिद चाप बलियो देखिएकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको दाबी छ ।

सेयर बजारको वास्तविक चरित्र उजागर भयो 

सेयर बजारको आइतबारको दृश्यले वास्तविक नेपाली सेयर बजारको चरित्रलाई चित्रण गरेको धितोपत्र द’लाल व्यवसायी नरेन्द्र सिँजापति बताउँछन् । लगानीकर्ताहरुले सचेत जानकार भएर लगानी गर्न आवश्यक छ भन्ने आइतबारको दृश्यले देखाएको उनले बताए । सोहीअनुसार लगानीकर्ताले लगानी रणनीति बनाउनुपर्ने उनको भनाई छ ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी सेयर बजार लगानीकर्ताको मनोविज्ञानले प्रभावित बन्ने बताउँछन् ।  राष्ट्र बैंकले सेयर धितो कर्जामा रिभ्यु गर्नुपर्छ भनेको तर भन्दै त्यसैमा आत्तिनुपर्ने अवस्था भने नभएको उनको भनाइ छ ।

बजार हल्लाले प्रभावित हुने भन्दै नयाँ र साना लगानीकर्ता बढी चनाखो हुनुपर्ने अवस्था रहेको उनले बताए । हल्लाले बजार प्रभावित नहोस भनेर नै सर्किट ब्रेकर राखिएको उनको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्