बजार बढ्यो भनेर के गर्नु, १८८१ को बिन्दुमा बैकका शेयर किन्ने लगानीकर्ता अझै घा’टामा
बजार लगातार बढिरहेको छ। शेयर बजारले अहिले सम्मकै उच्चतम बिन्दुको नयाँ रेकर्ड समेत कायम गरिसकेको छ। तर बजार बढेको मज्जा भने धेरै लगानीकर्ताले लिनै पाएका छैनन्।
खासगरी यसअघिको बुलमा बैकिङ सेक्टरको शेयर किन्ने लगानीकर्ताले बजार बढेको मज्जा लिन नपाएका हुन्। बजार उच्चतम बिन्दुमा पुगेको बेला उनीहरूको लगानीको साँवा उठ्नु त कता हो कता अझै घाटामै रहनुले उनीहरूलाई बढेको बजारले समेत खुसी दिन नसकेको हो।
“बजार बढ्यो भनेर सबैतिर खुशीयाली छ, तर यसअघिको बुलमा बैकिङ सक्टरमा लगानी गरेका धेरैजसो लगानीकर्ताले गरेको लगानीको अझै सॉवा समेत आएको छैन। धेरै लगानीकर्ता बजारले नयाँ उचाइ कायम गर्दा समेत खुसी हुन सकेका छैनन्”, शेयर बजारका युवा लगानीकर्ता नयन बास्तोलाले भने।
मेरो लगानीले यस अघिको उच्चतम बिन्दु १८ सय ८१ छोएको बेला बैकिङ सेक्टरका १० बैंकको ‘र्यान्डमल्ली शेयर मूल्य लिएर तिनीहरूको अध्ययन गर्दा धेरैजसो लगानीकर्ता अझै घाटामै रहेको पुष्टि भएको छ। हामीले लिएका १० बैंकमा ६ बैंकका लगानीकर्ता घाटामा देखिएका छन् भने चार बैंकका लगानीकर्ता नाफामा देखिएका छन्। १० बैंकमा सबैभन्दा बढी घाटा स्ट्यार्ण्डड चार्टर्ड बैंक र एभरेष्ट बैंकका लगानीकर्ताले बेहोरेका छन्। उनीहरूको अझै प्रति कित्ता क्रमशः ७४६ रुपैयाँ र ४१५ रुपैयाँ घाटा देखिएको छ।
यस अघिको बुलमा स्ट्यार्ण्डडको प्रतिकित्ता शेयर मूल्य ३७ सय ७६ रुपैयाँ रहेको थियो भने एभरेष्ट बैंकको ३४ सय ९० रुपैयाँ थियो। उनीहरूले त्यसपछि पाएको लाभांश लगायतको सबै रकम एडजस्ट गर्दा यतिबेला ती बैंकको शेयर मूल्य क्रमशः १४ सय १२ र ११ सय १७ रुपैयाँ हुन्छ। तर पछिल्लो बजार मूल्य अनुसार ती बैंकको बजार मूल्य क्रमशः ६ सय ६६ र ७ सय दुई रुपैयाँ छ। यस आधारमा उनीहरूलाई प्रतिकित्ता क्रमशः ७४६ रुपैयाँ र ४१५ रुपैयाँ घाटा देखिएको हो।
तर, यो अवधिमा केही बैंकका लगानीकर्ता भने नाफामा देखिएका छन्। हामीले र्यान्डमल्ली लिएको १० बैंकमा चार बैंकका शेयरधनी नाफामा देखिएका छन्। जसमा सबैभन्दा बढी एनआइसी एशिया बैंक र कृषि विकास बैंक छन्। उनीहरूका शेयरधनीले क्रमशः प्रतिकित्ता दुई सय ७२ रुपैयाँ र ६८ रुपैयाँ कमाएका छन्। तर, यसमा उनीहरूले बैंक व्याज समेत जोड्ने हो भने उनीहरू पनि अझै घाटामै देखिनेछन्।
सूचकका हिसाबले बजारले नयाँ रेकर्ड कायम गरेको भएपनि बढेको बजारले पुराना लगानीकर्तालाई अझै जस्टिफाई गरेको छैन। त्यसैले अहिले नै बजार निक्कै माथि गएको वा बजार अचाक्ली बढेको भनेर विश्लेषण गरिहाल्न अलि हतार हुने बास्तोलाको भनाई छ। बैकिङ सेक्टरका लगानीकर्ता समेत नाफामा गएको दिनबाट बजार बढेको भन्न सही मानेमा ठिक हुने उनको तर्क छ। बास्तोलाले भने, ‘बैकिङ सेक्टरलाई हेरेर बजारको बढेको भन्न नमिल्ने भएपनि तथ्याङ्कको हिसाबले त्यस्तो भन्दैन। पहिलेको सूचक भन्दा माथिल्लो बिन्दु छुनु नै वास्तविक वृद्धि हो।’
कम्पनीहरूको बजार पूँजीकरण बढेको बजारको आकारले पनि शेयर बजार उच्चतम अंकमा पुगेको उनको ठम्यई छ। यसअघिको १८ सय ८१ पुगेको बेलाको बजारको आकार र पूँजीकरणलाई हेरेर विश्लेषण गर्ने हो भने अहिले सूचकले बनाएको रेकर्ड अझै त्यही बेलाको अवस्थामा नपुगेको उनको ज़िकीर छ। “मेरो विश्लेषणमा बजार अझै बढेको छैन। बजारको आकार र पुँजीकरणले मात्रै बढेको देखिएको हो। त्यसैले अहिले नै बजार बढेको भन्न मिल्दैन। बजार अझै बढ्न बाँकी छ। अझै बढ्छ भन्ने मेरो विश्वास छ” बास्तोलाले भने।