नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै फागुन ७ देखि पार्टीको १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलले बताए।

‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार बिहान पत्रकारहरूसँग उनले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न।

’ सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ। त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ।

मंसिरभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने नेता पौडेलले बताएका छन्। यसअघि बसेको कांग्रेस केन्द्रीय समितिले मंसिरभित्र क्रियाशील सदस्यता वितरण गरिसक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। तर समायोजन नसकिएको भन्दै केही जिल्लामा कांग्रेसले क्रियाशील नवीकरण र वितरण गर्न सकेको छैन।