Logo

मुन्धुम : एक अलिखित शास्त्र तथा जीवन र जगतको दर्शनशास्त्र हो, कसरी ?


जीवनलाई कसरी डोहोर्‍याउने ? कसरी सु-संस्कृत, सभ्य र सुरुचीपूर्ण बनाउने ? यस सम्बन्धमा विभिन्न समुदाय, भूगोल अनुरुप आ-आफ्नै विशिष्ठ शैली हुन्छ । ‘मुन्धुम’ एक यस्तै दर्शनशास्त्र हो, जसले जीवन र जगतलाई समूचित ढंगले बुझाउँछ ।

राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । यसमा मानव जीवनले आदिम युगदेखि आधुनिक सभ्यतासम्म गरेको यात्राको वर्णन छ ।

मुन्धुमले मूलत चार पक्षलाई समेट्छ । एक, सृष्टि । यस अन्र्तगत मुन्धुमले सारा ब्रम्हाण्ड, आकास, पृथ्वी, जल, जीव, पंक्षी, वनस्पति र मानव सृष्टिबारे विस्तारमा बताउँछ । दुई, संस्कृति र संस्कार । अर्थात मुन्धुमले संस्कृति र संस्कारको विकास क्रमबारे वर्णन गर्छ । तीन, जीवन पद्धती । यसले जीवन पद्धतीको सिलसिला केलाउँछ । चार, धर्म संस्कार एवं विधी । यसले परम्परागत धर्म संस्कारबारे उल्लेख गर्छ ।

बैरागी काइँलाले मुन्धुमबारे लेखेका छन्, ‘ब्रम्हान्डको सृष्टिदेखि मानवको क्रमविकाससँगै लिम्बुजातिको सामाजिक विकासको सजीव इतिहास मुन्धुमलाई लिम्बू समुदायको साझा अनुभवबाट सिद्ध परम्परागत र मौखिक दस्तावेज मानिन्छ । यति मात्र नभएर मुन्धुमलाई हामी लिम्बूजातिको जातीय विश्वदर्शन पनि भन्न सक्छौ ।’

जीवन र जगतको दृष्टि

खासमा ‘मुन्धुम’को मर्म भनेको मानव जीवनलाई सार्थक र सुरुचीपूर्ण बनाउने दर्शन हो । यसले एक मानव जीवनलाई कसरी सफलतापूर्वक डोहोर्‍याउने भन्ने मार्गदर्शन गर्छ । लिम्बु मुन्धुम अनुसार थिम्जिक मुन्धुमले प्रकृति र मानव-समाजका भलाईका लागि अपनाउनुपर्ने विभिन्न नीतिशास्त्र एवं आचार शास्त्रबारे बताउँछ । दैनिक जीवन यापनलाई व्यवस्थित गराउने मुन्धुमले इमान्दार, चरित्रवान एवं योग्य नागरिक बन्न प्रेरित गर्छ । दैनिक जीवनमा गर्नुपर्ने पूजाआजा, संस्कार विधी, आचारण, कर्तव्य यसमा समेटिएका छन्  ।

‘मुन्धुम’ एक आँखीझ्याल हो, जहाँबाट जीवन र जगतलाई नजिकबाट नियाल्न सकिन्छ । जीवन र जगतका सत्यलाई बोध गराउँछ । मुन्धुमले ‘जीवन केवल ऋतुभरिको फूलजस्तै हो’ भनेर यो क्षणभंगुर छ भन्ने कुरा दर्शाएको छ । जब मृत्युको बोध हुन्छ, तब मान्छेले जीवनको सौन्दर्य र सार-तत्व पनि खोज्छ । जीवनको आखिर सत्य मृत्यु नै हो भने, क्षणभरका लागि बाँचुञ्जेल किन रिसराग राख्ने, किन अहंकार पाल्ने, किन अरुको चित्त दुखाउने, किन अरुलाई पिरोल्ने ?

मुन्धुम एक अलिखित शास्त्र

खासगरी लिम्बु पण्डित जसलाई फेदाङमा, येबा, साम्बा भनिन्छन्, उनीहरुले धाराप्रवाह गाउने जीवन दर्शन हो, मुन्धुम हो ।

रमाइलो चाहि के भने, यो कुनै लिखित नभएर मौखिक रुपमै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आजको अवस्थामा आइपुगेको हो । अर्थात मुन्धुम श्रृति, स्मृति र मौखिक परम्परामा धानिएको छ । किराती आदिवासीहरुको मुन्धुमलाई दन्त्यकथा, लोककथा, थुथुरीवेद आदि भनेर लिखित रुपमा उतार्ने गरिएको बताइन्छ ।

मुन्धुमलाई कवितात्मक शैलीमा वाचन गरिन्छ । यो लयात्मक हुन्छ । त्यही कारण मुन्धुम वाचन गर्नका लागि यसमा पारंगत हुनुपर्छ भन्ने मान्यता छ । के पनि मान्यता छ भने, मुन्धुम वाचन गर्न पोख्त व्यक्ति अर्थात पुरोहित दैवी शक्तिले युक्त हुन्छन् भनिन्छ । पुरोहितलाई लिम्बुले फेदाङ्बा, साम्बा, राईले नछुङ, याख्खाले माड्बा र सुनुवारले फुम्बु आदि नामले पुकारिन्छन् । उनीहरुले नै मुन्धुम विधी अनुरुप कर्मकाण्ड गराउँछन् ।

मुन्धुमलाई लोक साहित्य पनि मानिन्छ । आदिम युगदेखि आजको दिनसम्म किरात पूर्खाहरुले गरेका संघर्ष यसमा समेटिएका छन् । यसमा मिथक छन् ।  पात्र छन् र प्रवृत्ति छन् । जीवन दर्शनले भरिपूर्ण रोमाञ्चक घटनाहरु छन् । किरात जाति र जीवनको भव्यता जनाउने विम्ब र प्रतिक छन् ।

विभिन्न स्रोत र अनलाईनखबरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्