Logo

महेन्द्रनगरमा नक्कली नोट छाप्‍ने सामग्रीसहित ३ जना पक्राउ


मुन्धुमस्टार डटकम — कञ्चनपुर प्रहरीले नक्कली नोट छाप्‍ने सामग्रीसहित ३ जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार साँझ एक भारतीयसहित २ जना र अघिल्लो दिन साँझ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने दिपक नाथ, सोहि ठाउँ बस्ने रितिका बम, भारतको बरेली घर भई भीमदत्त नगरपालिका –१८ बस्ने अनुज शर्मा रहेका छन् । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

नाथलाई शनिबार साँझ भीमदत्त नगरपालिका–४ गोबरियास्थित एक पसलमा नक्कली रुपैयाँको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बम र शर्मालाई आइतबार साँझ महेन्द्रनगर बजारकै गल्ली नम्बर २ मा कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु बस्ने कोठाबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर मेसिन, ल्यापटप, कागज, कैंची र १ हजार १३६ थान नक्कली नोटहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार तिनै जनाले प्रिन्टरबाट नक्कली नोट छाप्ने र बजारमा वृद्धवृद्धा तथा बालबालिकाहरुसँग कारोबार गर्ने गरेको खुलेको छ ।

‘राम्ररी नोट चिन्न नसक्नेहरुसँग कारोबार गरिएको कुरा खुल्न आएको छ,’एसपी मरासिनीले भने,‘लागूऔषधको प्रयोगकर्ताहरुसँग बढी कारोबार भएको देखिन्छ ।’ उक्त समूहले कहिलेदेखि नक्कली नोट छाप्‍ने र कारोबार गरिरहेको छ भन्ने कुरा अझै खुलेको छैन । पछिल्लो समय यो समूहबाट नक्कली नोट पाएका स्थानीयहरु सम्पर्कमा आउन थालेको मरासिनीले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्