Logo

भोलि चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेई नेपाल आउँदै


मुन्धुमस्टार डटकम — चिनियाँ रक्षामन्त्री एवं पहिलो वरीयताका स्टेट काउन्सिलर जनरल वेई फेंगे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्तिमार्फत चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाको दुईदिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सिपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

पछिल्लो समयमा दुई छिमेकी भारत र चीनबीच उनीहरूको हिमाली क्षेत्रमा टकरावको स्थिति कायम रहँदा र पछिल्लोपटक भारतबाट उच्च कूटनीतिक एवं उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट रक्षामन्त्री आउनुलाई संयोग मात्र नभएको कूटनीतिक र रणनीतिक मामिला जानकारहरूको भनाइ छ । चिनियाँ रक्षामन्त्रीले दक्षिण एसियाको भ्रमणको सुरुवात नै नेपालबाट गरेका छन् । उनी भोलि नै नेपालबाट बंगलादेश जानेछन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किनेछन् ।

कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

रक्षामन्त्री वेई नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेको भनिएको छ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।  उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले ०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेईसँग द्विपक्षीय वार्ता गरेका थिए ।

त्यही वेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा थियो । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि रक्षामन्त्रीका तर्फबाट नेपाल भ्रमणका लागि स्मरण गराएका थिए । पछिल्लोपटक तत्कालीन रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले ०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए ।

रक्षामन्त्री हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा चिनियाँ सरकारले नेपाली सेनालाई प्रकोप व्यवस्थापनका लागि दिने घोषणा गरेको दुई अर्ब ४० करोड नेपाली रुपैयाँ (१५करोड चिनियाँ युयान) बराबरको सहयोग पनि यसबीचमा आएको छैन । योलगायत नेपाल र चीनबीच सैन्य अभ्यासलगायत सहकार्यका विषयमा छलफल हुनेछ ।

के भन्छन् जानकारहरू ? 
पूर्वराजदूत डा. दिनेश भट्टराई भारतीयपछि चिनियाँ मन्त्रीको भ्रमण संयोग मात्रै हुन सक्ने, तर उनीहरूको दौडधुप अर्थपूर्ण देखिएको बताउँछन् । ‘उनीहरू आफैँले निर्णय गरेको मितिमा आउँछन्, चाहेका मानिसलाई उनीहरूले चाहेको समयमा भेट्छन्, हाम्रोअनुकूलता वा सुविधामा उनीहरूको भ्रमण हुँदैन,’ भट्टराई भन्छन्, ‘शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रिय भएको अर्थमा यो भ्रमणलाई लिनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भारत र चीनबीच नेपालमा प्रभाव विस्तारको होड चलेको टिप्पणी गर्छन् । ‘पाँच वर्षअघिको नाकाबन्दीपछि नेपालमा चीनले स्थान ओगटेको छ, भारतले गुमाएको छ । गुमेको स्थान फिर्ता लिने भारतको जोड र नाकाबन्दीसँगै नेपालमा पाएको स्थान कायम राख्ने चीनको जोडबीच होडबाजी चलेको छ,’ डा. कार्कीको विश्लेषण छ ।

सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेको विश्लेषणमा भारतीय विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको भ्रमण संयोगमा मात्र होइन । ‘चिनियाँ रक्षामन्त्रीको आकस्मिक  भ्रमण कूटनीति र सुरक्षाभन्दा पनि राजनीतिक मिसनबाट अभिप्रेरित देखिन्छ,’ वाग्ले भन्छन्, ‘छिमेकमा प्रभाव विस्तार दुवै देशको प्राथमिकतामा रहेको देखिन्छ । नेपालमा चीनको विस्तारित प्रभाव मजबुत पार्ने गरी भूमिका बढाउन र उच्चस्तरीय चिनियाँ नेतृत्वको सन्देश लिएर रक्षामन्त्री आउन लागेको बुझिन्छ ।’

भूरणनीतिक मामिला जानकार पूर्वउपरथी विनोज बस्न्यात नेपालका छिमेकी भारत र चीन तथा अमेरिकासँगको पुरानो सम्बन्ध अब नयाँ भूराजनीतिक वातावरणमा प्रवेश गरेको बताउँछन् । ‘भारत र चीन एक–अर्का विरोधी वा दुवैको विरोधी कार्ड खेल्दा नेपालको राष्ट्रिय हित पूरा हुँदैन । एक–अर्का विरोधी षड्यन्त्रको सिद्धान्तमा नेपाल जान सक्दैन, यसलाई नेपालले धान्न पनि सक्दैन,’ बस्न्यात भन्छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्