Logo

धरानमा चर्चा स्कुलकैः अभिभावक तीनतिर


धरानः कक्षा–१२ को परीक्षा होला कि नहोला भन्ने दोधार हुँदाहुँदै आवश्यक सर्तकता अपनाउँदै, स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालनमा आयो नै । अहिले धरानमा स्कुल खुल्ला कि नखुल्ला भन्नेबारेमा चर्चा कायमै छ । धरानमा स्कुल खुल्छन् कि खुल्दैनन् टुंगो भने लागिनसकेपनि चर्चा भने कायमै छ ।

स्कुल खुलेपनि कति विद्यार्थीले सहभागिता जनाउलान्, यो नै हो अहिलेको प्रश्न । कोरोना महामारी कायमै छ । धरानमा कोरोना संक्रमणको दर पहिलाको भन्दा घटेपनि निमिट्यान्नै भइसकेको छैन र हुने पनि छैन । खोप नबनेसम्म धरानमा संक्रमित घटबढ भइरहन्छ । स्कुल खुल्ला कि नखुल्ला भन्ने विषयले यो साताभरि चर्चा कमाइरह्यो । चाडबाड सकिएपछि यसको चर्चा झन् चुलिएको हो । धरानका मेयर तिलक राईले पनि ‘चाडबाड सकिएपछि विचार गरौंला’ भनेको हुनाले यसको चर्चा झन् चुलिएको हो ।

अहिले धरानका अभिभावक तीनतिर छन् । एकथरी अभिभावक स्कुल खुलाउन हुन्नँ भन्ने पक्षमा छन्, अर्काथरी अभिभावक स्कुल खुलाउनुपर्छ । यस्तै, अर्कोथरी अभिभावक छन्– जो ‘साइलेन्ट’ मै छन् । भनौं, उनीहरू सहर छोडेर पुख्र्यौली गाउँघरतिर छन् । उनीहरु पर्ख र हेरकै अवस्थामा ‘साइलेन्ट’ अवस्थामा बसेका छन् । उनीहरु चाहन्छन्– जहिले स्कुल राम्ररी खुल्यो अनि कसरी र कस्तो अवस्थामा विद्यालय खुल्यो अन्य अभिभावकलाई सोधेर मात्रै सहर झरेपछि आफ्ना छोराछोरी विद्यालयसम्म पुरयाउने अवस्थामा छन् ।

स्कुल खुलाउन हुन्नँ भन्ने पक्षमा रहेका अभिभावकहरु यस वर्ष आफ्ना छोराछोरीको पढाइ धकेलियोस् तर स्कुल पठाउन सक्दैनौं भन्छन् । धरान–८ की अभिभावक सम्झना राई भन्छिन्, ‘बरु यस वर्ष नानीको पढाइ बिग्रियोस्, नानी एक वर्ष छिप्पिए पनि फरक पर्दैन । तर यस्तो महामारीमा कसरी स्कुल पठाउनु । स्कुल पठाएर कोरोना सरिहाले त्यसको जिम्मा कसले लिने ?’

स्कुल खुलाउनुपर्छ भन्नेमध्येका अर्थात् एकथरी छोराछोरी हाछ्यु गर्दा तर्सिन्छौं तर मोबाइल एडिक्सनले बिगारयो भन्ने अभिभावक पनि धरानमै छन् । धरानका विक्रम डिसी भन्छन्, ‘छोराछोरीले पब्जी खेलेर लगाएको देख्दा त स्कुल खुलेकै राम्रो । आफ्नो छोरा त मोबाइल एडिक्सन भइसकेपछि यस्तो झँवाक चलेको हो ।’ धरानका अभिभावक ललित योञ्जन पनि विद्यालय खुलेकै राम्रो भन्नेमध्येका एक हुन् ।

सहर छोडेर गाउँघरमा हुने काममा व्यस्त धरानकी यशोदा लिम्बू स्कुल जहिले खुल्छ, त्यही बेला अवस्था हेरेर आफ्नो नानी सहर ल्याउने र स्कुल पठाउने बताउँछिन् । अभिभावकका कुरा सुन्ने हो भने धरानमा स्कुल खुल्दैन । खुलिहाले पनि थोरै विद्यार्थी सहभागी हुने पक्का छ । यसले विद्यार्थीको भविष्य डामाडोल हुने देखिन्छ ।

धरान उपमहानगरपालिका, प्रधानाध्यापक, स्कुल सञ्चालक, शिक्षक भने जसरी पनि शैक्षिक सत्र खेर नजाओस् भन्ने पक्षमा लागेको देखिन्छ । शिक्षक त झन् स्कुल खुलेदेखि आफूले पाउने पारिश्रमिक समयमै पाएर घरधन्दा चलाउन सहज हुने सोचिरहेको देखिन्छ । किनभने यतिका महिनासम्म कतिपय विद्यालयका शिक्षकले तलबसमेत नपाएर अन्य वैकल्पिक उपाय समेत अपनाउन थालेको देखिन्छ । शिक्षकले धर्ना, प्रदर्शनजस्ता कार्य पनि गरिसकेका छन् तर तलब पाएका छैनन् ।

यसैबीच बिहीबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई सुझावपत्र बुझाइएको छ । धरान उपमहानगरपालिकामा बनाइएको सुझाव कार्यदलले सुझाव प्रतिवेदन बुझाएको शाखा अधिकृत रामचन्द्र कार्कीले जानकारी दिए । उनले शिक्षा मन्त्रालयबाट नै विद्यालय खुला गर्न निर्देशन आइसकेको बताए । विशेषतः स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालय खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । उनले यस विषयमा विद्यालय सञ्चालक, शिक्षक, अभिभावकहरूपनि सकारात्मक रहेको बताए ।

धरानमा सबैभन्दा ठूलो कुरा जोखिमको मूल्याङ्कन हुन जरुरी छ । अभिभावक रिता श्रेष्ठ भन्छिन्, ‘यदि स्कुल खोल्ने हो भने सबैभन्दा पहिला जोखिम कति छ र त्यसको मूल्याङ्कन गरेर विद्यालय सञ्चालन गर्दा हुन्छ ।’ उनले आलोपालो सिफ्ट अपनाउन सकिने सुझाइन् । ‘खासमा भन्ने हो भने जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालन गर्नु भनेको छ । त्यस्तो आलोपाले सिफ्ट वा उपयुक्त विधिलाई हेर्नुपर्छ, नत्र हुम्लामा एकै विद्यालयका धेरै विद्यार्थीलाई संक्रमण भएजस्तै यहाँ पनि नहोला भन्न सकिन्नँ ।’ उनले विषम् परिस्थिति भएकाले विद्यार्थी, शिक्षक तथा अभिभावक कसैलाई दोष दिन नमिल्ने बताइन् ।

प्रभावकारी होला ?
शैक्षिक सत्र खेर जान नदिन भन्दै सरकारले असार १ गतेबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी समेत गरेको थियो । त्यसको पूर्ण कार्यान्वयन नभएको उनको तर्क छ । सरकारले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सहुलियत दरमा डाटा र भ्वाइस सेवा उपलब्ध गराएको भएपनि त्यो प्रभावकारी भएन । ‘अधिकांश शिक्षक र विद्यार्थी त्यसबाट लाभान्वित हुन सकेका छैनन्’, एक सरकारी स्कुलका अध्यापक भन्छन्, ‘यसको भर नपरौं । उनले यो विधि विद्यार्थीलाई पढाउनेभन्दा पनि सामान्य सिकाइ मात्र भएको बताए ।

‘कक्षामै उपस्थित गराउँदा पनि नपढ्ने विद्यार्थी छन्, खासै चासो नदिने अभिभावक छन्, हाम्रोमा त झन् विपन्न वर्ग विद्यार्थी आउँछन्, अधिकांशसँग अनलाइन सेवा छैन र पढाइमा चासो भएका अभिभावक पनि छैनन् ।’ असार १ पछि फेरि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ ल्याइयो र अहिले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ आएको हो । ‘यस्तै, अभिभावक, यस्तै विद्यालय सञ्चालक र यस्तै सरकार भए विद्यालय समयमा खुल्दैनन्’, उनको तर्क छ, ‘त्यसैले आलटाल मात्रै गरिरहनु भएन सही ‘डिसिजन’ गर्नुपर्छ ।’

कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहँदा विद्यालय खोल्दा विचार पुरयाउनुपर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक बद्री तामाङ बताउँछन् । ‘विद्यालय जसरी पनि खुलाउनपर्छ भनेर विद्यालयलाई सब्जी बजार, बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायातको सेवा र तिनीहरुको अवस्थासँग जोडेर तर्कहरू गर्नु राम्रो होइन’, उनी भन्छन्, ‘यिनीहरुको अवस्था पटक्कै समान छैन । हाम्रा केटाकेटीहरु सब्जी बजारमा (थोरै समय) भौतिक दुरी कायम नगरी हिँडिरहेका भन्ने अवस्था र तर्कले विद्यालय भौतिक रुपमा सञ्चालन गर्न पाउनुपर्छ भन्ने आवाज र मागलाई सही पुष्टि गर्न सक्दैन ।’

विद्यालयहरुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाको मानक के के हुने, भौतिक दुरी कायम रहने कुरामा अभिभावक आश्वस्त हुन सक्ने अवस्था कसरी सिर्जना गर्ने, समग्र विद्यालय निर्मलिकरणको व्यवस्था, मानक र यी सबैको नियमित अनुगमनको प्रभावकारी व्यवस्था सम्वन्धमा गम्भीर छलफल र बहस हुन जरुरी रहेको उनी बताउँछन् । ‘अझ त्यो भन्दा बढी हाम्रा विद्यार्थीहरु कोरोनाबाट संक्रमित भएमा उपचारको उचित व्यवस्था कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो ।’ उनी थप्छन् ।

उता महेन्द्र क्याम्पस धरानका प्राध्यापक राजेन्द्र शर्मा विद्यालय खोलिनुपर्ने बताउँछन् । ‘धरानको मात्रै कुरा गर्ने हो भने सार्वजनिक यातायात, टेम्पो, सिटी सफारी, बजार पूर्णरुपमा खुल्ला भइसकेका छन्, विद्यालय खोल्दा के हुन्छ ?’, उनले भने, ‘विशेष सुरक्षाका उपाय अपनाउँदै विद्यालय खोल्दा हुन्छ ।’ उनले विद्यालयले सुरक्षाका उपाय भने पूर्ण पालना गर्नुपर्नेमा जोड दिन्छन् । (हाम्रो कोशी आवाज डटकमबाट लिएको हौ ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्