मुख्यमन्त्री शेरधन राईद्वारा थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको उद्घाटन
थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा आइतबार आयोजित भव्य कार्यक्रममा शिक्षालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले दक्ष जनशक्ति उत्पादनका लागि सरकारले रोजगारमुखी शिक्षामा ध्यान दिएको बताउनुभयो ।
अन्य जिल्लाहरु जग्गाको व्यवस्थापनमा जुटिरहँदा थुलुङ दुधकोशी गाउँपालिकाले कक्षा नै सञ्चालन गर्नु सह्रानीय भएको बताउनुभयो ।सोलुखुम्बुबासीले सही नेतृत्व छनौट गर्न सफल भएकालेनै आज गाउँगाउँमा सडक, विजुली, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भईरहेको भन्दै मुख्यमन्त्री राईले थुलुङ दुधकोशीलाई नगरपालिका बनाउने आधारभुत मापदण्ड पुरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै शैक्षिक शत्रदेखि सञ्चालनमा आएका उक्त प्राबिधिक शिक्षालय उद्घाटन कार्यक्रममा संघीय सांसद हेमकुमार राईले भौतिक विकास मात्रै नभएर मानव संसाधन विकासमा समेत आफूहरुको प्राथमिकता रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा प्रदेश १ का अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले गाउँपालिकामा भईरहेको बिकास निर्माण कार्यको प्रशंसा गर्नुभयो ।
प्रदेश सांसद एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विगतको सरकारले गर्न नसकेका र नगरेका कार्यहरु वर्तमान नेकपा सरकारले गरेको दाबी गर्नुभयो । प्रदेश सांसद उत्तम कुमार बस्नेतले अधिकांश बिकासमा सडक बाधक बनेको भन्दै अन्तर जिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपलिकाले अघि सारेको दिगो बिकासको योजनामा सहयोगका लागि आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले बहुप्राबिधिक शिक्षालयको स्थापनाले सिंगो जिल्लाको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।