नाता तोडेको तिमीसँग
युगौँ भयो
तर
जोडेको प्राण तुन्ने प्रेम सम्झौता,
च्यात्नु परेको मैले नै हो
किनभने
उ बेला
अप्रीय लाग्नेगर्थ्यो तिम्रो गुण
त्यसैले दर्ज गरेँ छोडपत्र
खाद्य अदालतमा

तर ताजै छ सम्झना
खुर्मीको सहायताले
चाना पारेर गोलो-गोलो, पातलो
आगो र पानीको द्वन्द्वात्मक बिधिबाट
तिम्रो हरेक तन्तु र शीराहरु सम्म
घुलन गराएँ खरानीको विष,
तथापि कतै बिचलित भएनौ
अर्थात तिम्रो अस्तित्वमा
त्यत्ति ठूलो सौन्दर्यता बाँचेको छ !

र नि:स्वार्थी भावले
मेरै निम्ति अर्पण गर्थ्यौ
निर्दोष तिम्रा हजारौं जिन्दगीहरु
न कुनै बदला नै लिएको हुँ !
त्यसैले सत् तिम्रो शाश्वत छ

म पनि के कम
तिमी भन्दा सयौं गुणा तितो हुनुपरेको छ
वर्णाश्रम व्यवस्थाले
सामाजिक अंशबन्डा गरेदेखि यता
श्रमजीवी मान्छेहरु
कण्डमको भुमिकामा सिमित बनाइए

ठगी खाने, लुटी खानेहरुको सान छ यहाँ
तिनिहरुको रक्षकको पनि मान छ
तर कृषकहरु धर्मराईरहेका छन्
कहाँ छन् हँ कृषिप्रधान देशका
महान शासकहरु ?

पछिल्लो संस्कृतिले पनि
उही बिँडो थमाएको छ
श्रमिकहरुलाई
श्रमको मूल्य भन्दा
भ्रमको मूल्य लाखौं गुणा आकाशिँदो छ
बिज्ञान र प्रबिधिलाई बुझ्ने, देख्ने
चेतना र आँखाको आकारै छैन
तर पनि मैइ दिवसको
उद्दन्डपूर्ण नृत्य
देखाउन भने छोड्दैनन

त्योभन्दा कहालीलाग्दो
विषालु तत्व के होला र
ज्यामी, भरिया, हलियाको लागि ?
तर पटक्कै निराशा छैन
हिक्स पार्टिकलको
संघर्षशील अस्तित्व झैँ
विश्व-पुँजीवादको एकलौटी प्रदर्शनी मेलामा
कर तिरेको चिर्कटाहरु च्यापेर
स्क्र्याट्च गरिएको मुन्धुमको
एक थान सुन्दर अनुहार
र एक जिस्ता
लक्ष्य प्राप्तिको घोषणापत्र
फिजाएकोछु पुर्खाको छालामा
थाहा छ यो बिक्री हुँदैन

तर फरक पर्दैन मलाई
किनकि
बिक्री हुनेछैन कदापि सत्य
यदि बिकेछ भने त्यो असत्य हुन्छ
जुन सत्य यति शक्तिशाली छ
कि जसले तिम्रो महंगो पर्दाहरु
ध्वार्ध्वारी च्यातेर उदाङ्गो पारिदिनेछ
जीत निश्चित छ सत्यताको ।

✍️भाई किराती
सोलुखुम्बु हाल – काठमाण्डौ ।