कार्तिक – ३० – २०७७

मुन्धुमस्टार डटकम – अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन्।

विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन्।

सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ। अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन।

कोरोनाभाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ। त्यसो गर्दा पाँचदेखी १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ।

लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन्।

रुसले स्पुत्निक-भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ।

चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ।

दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन्।

परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ।

तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ।

फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड-१९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन्।

फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ।

अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ।

उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ।

अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन्।

खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।