Logo

पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाका एटीएमबाट हुने कारोबार घट्दो


काठमाडौँ — पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाका एटीएमबाट हुने कारोबार घट्दो छ । खासगरी गत असारको तुलनामा त्यसपछिका महिना (साउन, भदौ र असोज) मा एटीएमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांक छ । कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनका कारण गत चैतदेखि असारसम्म एटीएम कारोबार बढेको थियो ।

लकडाउन हटेपछि ग्राहक बैंक तथा वित्तीय संस्थाको काउन्टरमै जान थालेकाले एटीएम कारोबार घटेको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

गत असारमा एटीएममार्फत ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । साउनमा यस्तो कारोबार घटेर ३८ अर्ब ३९ करोड र भदौमा ३२ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । ती महिनामा कारोबार रकमसँगै कारोबार संख्यामा पनि कम आएको राष्ट्र बैंकको तथ्यांक छ । जसअनुसार गत असारमा एटीएममार्फत करिब ६३ लाख वटा कारोबार भएका थिए । साउनमा यस्तो कारोबार संख्या घटेर ४७ लाख ६९ हजार र भदौमा ३७ लाख ९७ हजार वटा कारोबार एटीएममार्फत भएको देखिन्छ । गत असोजमा पनि एटीएमबाट हुने कारोबार रकम र संख्यामा कमी आएको राष्ट्र बैंकको अनुमान छ ।

लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक एटीएम कारोबार निःशुल्क बनाएका थिए । गत साउनदेखि एटीएम कारोबारमा शुल्क लिने निर्णय बैंकहरूले गरेका थिए । तर त्यसलगतै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अन्तरबैंक एटीएममा शुल्क नलिने व्यवस्था ल्यायो । मौद्रिक नीति जारी भएको दुई दिनपछि नै उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन दियो । निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम निःशुल्क बनाएका छन् ।

अन्तरबैंक एटीएम कारोबार निःशुल्क बनाएपछि बैंक तथा वित्तीय संस्थाले एटीएम सेवा बेवास्ता गर्न थालेका छन् । यस्तो गुनासो राष्ट्र बैंकसम्म पनि पुगेको छ । ‘एटीएममा पैसा नराखेको, समयमा मर्मतसम्भार नगरेकोलगायत गुनासो आउन थालेका छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अन्तरबैंक एटीएम कारोबारमा पैसा नलाग्ने बनाएपछि समस्या बढ्न थालेको देखिन्छ ।’ गत असारको तुलनामा त्यसपछिका महिनामा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ कारोबारमा पनि कमी आएको छ । गत असारमा ६ लाख ५३ हजार वटा इन्टरनेट बैंकिङ कारोबार भएका थिए । साउनमा यस्तो कारोबार २ लाख ५ हजार र भदौमा २ लाख ८ हजार वटा कारोबार इन्टरनेट बैंकिङमार्फत भएको देखिन्छ । यस्तै असार, साउन र भदौमा इन्टरनेट बैंकिङमार्फतको कारोबार क्रमशः १९ अर्ब, ३ अर्ब र ४ अर्ब ७४ करोड रुपैयाँ भएको राष्ट्र बैंकको तथ्य

गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको एटीएम संख्या ४ हजार १ सय ६ वटा छन् । जसमध्ये वाणिज्य बैंकहरूको ३ हजार ५ सय ७९ वटा, विकास बैंकको २ सय ९६ वटा र वित्त कम्पनीको ५१ वटा छन् । मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा पुर्‍याउने सरकारी लक्ष्य छ । जसअनुसार ६ वटा स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । २०७६ भदौसम्म ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका थिए । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको कुल संख्या १ सय ४९ छ । जसअनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ८१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ९ हजार ८ सय ५१ वटा पुगेको छ । गत असारमा शाखा संख्या ९ हजार ७ सय ६५ थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्