कोरोना कोष भक्तपुरमा एक करोड ९६ लाख रुपैयाँ रकम जम्मा भयो
काठमाडौ — भक्तपुर नगरपालिकाले बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड ९६ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा नगरपालिकाले एक करोड रुपैयाँ र प्रदेश सरकारले १२ लाख रुपैयाँ जम्मा गरेको थियो ।
बाँकी रकम व्यक्ति, संघसंस्था, वित्तीय संस्था, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले जम्मा गरेको नगरपालिकाका लेखापाल रामसुन्दर सुखजुले बताए । संकलन भएकोमध्ये अहिलेसम्म एक करोड ५७ लाख ६४ हजार तीन सय ४२ रुपैयाँ खर्च भएको छ ।
चैतदेखि असारसम्म एक करोड ११ लाख ८९ हजार दुई सय ४१ रुपैयाँ र त्यसयता ४५ लाख ७५ हजार एक सय एक रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ । लकडाउनका वेला नगरपालिकाले विपन्न परिवारलाई राहतका लागि ५५ लाख आठ हजार ६२ रुपैयाँ खर्च गरेको छ ।
मास्क, पन्जा, स्यानिटाइजर, फिनेल, पिपिई र प्रचारप्रसारमा धेरै रकम खर्च गरेको छ । नगरपालिकाले ३४ लाख २३ हजार दुई सय ४२ रुपैयाँ खर्चिएर आइसोलेसन केन्द्र निर्माण गरेको छ ।



