Logo

मान्छेको कचहरीमा ईश्वरहरू ! ******


बलराम तिमल्सिना-
बाटो सहितको हदम्याद तोकेर टाँस्नु छ पूर्जी,
ईश्वरहरूको ठेगानामा भ्रान्तिको स्वर्गबाट झिकाउनु छ
उनीहरूलाई र लिनु छ बयान एक एक मान्छेको कचहरीमा ।
श्रृष्टिमै पहिलो पटक ईश्वरको भविष्यको वारेमा
मान्छेको अदालतमा मान्छेले नै लिनु छ फैसला !
पहिले हाजिर गराउनु छ
श्रृष्टिका देवता भनिएका ब्रम्हालाई र सोध्नु छ –
शून्यबाट तिमीले
यत्रो ब्रम्हाण्ड रचेको हो भने
कृपया शून्यबाट एक पटक एउटा रोटी बनाएर देखाऊ !
उनलाई फेरि सोध्नु छ-
उहिलै त तिमी
ठाउँ ठाउँबाट
जात जातका मान्छे जन्माउथ्यौ रे
कृपया एक पटक मुखबाट एउटा मान्छे जन्माएर देखाऊ
या पाखुराबाट, कम्मरबाट
या पैतालाबाट मान्छे जन्माएर देखाऊ !
उनले रोटी पनि बनाउने छैनन्
उनले मुखबाट मान्छे पनि जन्माउने छैनन्
त्यसपछि ठगी गरेको आरोपमा
उनलाई श्रम शिविरमा पठाउनु छ !
दोश्रो पूर्जी काट्नु छ
लालन पालनका ईश्वर भनिएका
विष्णुको नाममा
र उनलाई सोध्नु छ –
लक्ष्मीको आलिङ्गनबाट फुत्किएर
तिमी कहिले आयौ हामीलाई भेट्न ?
खै कसलाई गर्यौ लालन पालन ?
उनीसँग पनि कुनै जवाफ हुने छैन
उनलाई पनि ठगी मुध्दा लगाएर
ब्रम्हासँगै श्रम शिविर पठाउनु छ !
तेश्रो पूर्जी काट्नु छ
प्रलयका ईश्वर महेश्वरको नाममा
उनी नशामा झुम्म हुने छन्
उनलाई प्रश्न सोध्नु नै बेकार हुने छ
लागु औषध प्रयोग तथा कारोवारको मुध्दामा
उनलाई सुधार गृहमा पठाउनु पर्ने छ !
एवम् रितले
तेत्तिस कोटी सबैलाई झिकाएर
हरेकको बयान लिनु छ
हरेकलाई श्रम शिविरमा पठाउनु छ !
अल्लाह , यशू सबै सबैलाई
उनीहरूको ठेगानाबाट झिकाएर
श्रम शिविरमा पठाउनु छ
र भन्नु छ-
आजसम्म तिमीहरूले
हाम्रो कमाई खाएर मोज गर्यौ
अव तिमीहरू श्रम गर हामीसँग र सोच –
ठगेर खानु र श्रम गरेर खानु कति फरक रहेछ !
श्रृष्टिमै पहिलो पटक
ईश्वरहरूलाई काममा खटाएर
मान्छेले निगरानी गर्नु छ !
ईश्वरलाई भोक लाग्छ लाग्दैन
ईश्वरलाई थकाई र निद्रा लाग्छ कि लाग्दैन
एक पटक मान्छेले
ईश्वरहरूको औकातको परिक्षा लिनु छ !
आफैले बनाएको ईश्वरको सत्तालाई
मान्छेले विघटन गरिदिनु छ
यो संसारको सत्ता मान्छेले आफ्नो हातमा लिनु छ !
ईश्वरहरूको आतङ्क बन्द भएपछि
वल्ल प्रज्ञानका सबै ढोका खुल्ने छन् र मान्छे मुक्त हुने छ !
२०७७|०६|२१ भक्तपुर

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्