Logo

प्रदेश १ को नाम ‘किरात’को चर्चा तर छलफल ‘कोसी’ र ‘कासी’ : यी दुई बिचको अन्तर


इन्द्र नारथुङे, खोटाङ – प्रदेश १ को नाम किरात हुन सकेन भने “कोसी” हुनुपर्छ भन्ने तर्क पेश गरेपछि केही विद्वान साथीहरुले कोसीलाई “कासी” भनेर खिसीट्युरी गरिरहेका छन् । तर “कोसी” र “कासी” अलगअलग पहिचान हुन् । यी दुईमा खास समानता भेटिन्न ।

“कोसी”, नेपालको पूर्वतर्फ बग्ने चारवटा ठूला नदिहरुको (सुनकोसी, तामाकोसी, भोटेकोसी अर्थात इन्द्रावती र दुधकोसी) सामुहिक नाम हो । अझ लिखु, अरुण र तोमरलाई मिलाउँदा सात हुन आउँछ । माझ किरातमा कोसीलाई नदिकै अर्थमा बुझ्ने गरिन्छ, अर्थात सबै नदिहरु कोसी हुन् ।

किरात राई भित्रको कतिपय भाषिक समुदायमा ठूला नदिलाई “कुसी” भनिन्छ भने नेवारी भाषामा नदिलाई “खुसी” भनिन्छ । कोसी जस्तै मिल्न आउने “रोसी” खोला पनि यही क्षेत्रमा विद्यमान छ ।

किरात राई भित्रको चाम्लिङ भाषी समुदायमा अन्तिममा “सी” जोडिएका थुप्रै नामहरु छन्, जस्तो कि: ङोसी-केरा, फोसी-ठूलो भाँडा ,बिरोसी-खोर्सानी । आदी अत: “कोसी” आगन्तुक वा खस-आर्य समुदायबाट आयातीत शब्द होइन, यो शब्द यिनै नदि आसपास बस्ने आदिवासीहरुको मौलिक शब्द हो ।

सप्तकोसीमा समाहित यिनै सात ठूला नदि र यी नदिसँग मिसिएका साना-ठूला खोलासँग हजारौं बर्षदेखि जीवन गतिशील बनाउँदै आएका तामाङ, ह्योल्मो, जिरेल, सुरेल, हायु, दनुवार, माझी, थामी, सुनुवार, राई, याक्खा र लिम्बुहरुले विकसित गरेको संस्कृति र जीवन दर्शन नै कोसी सभ्यता हो ।

कोसी सभ्यता भित्र पनि सुनकोसी, तामाकोसी, लिखु, इन्द्रावती, दुधकोसी, अरुण र तोमरको बेग्लाबेग्लै पहिचान होला तर समग्रमा धेरै कुरो मिल्न जान्छ ।

“कासी” अर्थात बाराणसी वा बनारस, भारतको उत्तर प्रदेशमा अवस्थित एउटा प्रशिद्ध हिन्दु स्थल हो । जो गंगाको तटमा अवस्थित छ । जहाँ भारत र नेपालका ब्राह्मणहरु कर्मकाण्डका लागि दिक्षित हुने गर्दछन् ।

हो, नेपालबाट बगेर जाने जम्मै नदिहरु अन्ततः गंगामा नै मिल्ने हो तर जहाँ कासी अर्थात बनारस छ, त्योभन्दा पूर्वतर्फ धेरै किलोमिटर टाढा महाकाली नदि मिसिन्छ । कर्णाली नदि र गण्डकी नदि अझै पूर्व पुगेर गंगामा समाहित हुन्छन् भने “कोसी” नदि त विहारको तल्लो क्षेत्रमा मात्र गंगासँग एकाकार हुन्छ ।

उता कहाँको “कासी”, यता कहाँको “कोसी” । गंगा र कोसीको मिलनविन्दु कासीमै भए पनि त हो भन्नु । अत: कोसी र कासीलाई एउटै हो भनेर बुझ्नु इतिहास, भुगोल र संस्कृतिको अध्ययन नगरी केवल लहडमा प्याच्च बोल्नु मात्रै हो । यस्तो बोलीले कसैको बौद्धिकताको उचाईलाई मापन गर्दैन ।

देश १ को नाम किरात, लिम्बुवान, खम्बुवान, कोचिला आदिको पक्षमा वकालत गर्नु नाजायज होइन तर आफ्नै पूर्खाहरुले स्थापित गरेको कोसी सभ्यतालाई कासीसँग जोडेर मुतको न्यानो लिनु अन्ततः आफै चिसिनु हो । त्यसैले फेरि पनि गहन अध्ययन गरौं, विष्लेषण गरौं र भ्रमबाट मुक्त हौं । (इन्द्र नारथुङेको फेसबुकबाट )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्