Logo

लेनिनको राज्य र क्रान्तिः सन् १८४८–१८५१ को अनुभव (२१)


भ्ला.इ.लेनिन
राज्यसम्बन्धी प्रश्नलाई ठोस रुपमा प्रस्तुत गरिएको छ–ऐतिहासिक रुपमा पुँजीजीवी राज्य अर्थात् पुँजीजीवीवर्गको आधिपत्यको निम्ति चाहिने राज्ययन्त्र कसरी उत्पन्न भयो ? पुँजीजीवी क्रान्तिहरुको क्रममा र उत्पीडित वर्गहरुको स्वतन्त्र क्रियाकलापहरुको सिलसिलामा त्यसमा के कस्ता परिवर्तनहरु भए, के कस्ता क्रमोन्नतिहरु ग्रिए ? राज्यको यस यन्त्रको सम्बन्धमा सर्वहारावर्गका कार्यभारहरु के के हुन् ?

पूँजिजीवी समाजको निम्ति स्वाभाविक हुने केन्द्रीकृत राज्यसत्ता निरकुशतावादको पतनको युगमा उत्पन्न भएको थियो । राज्यको यस यन्त्रको निम्ति दुईवटा संस्थाहरु विशेष रुपले लाक्षणिक छन् । ती हुन्– कर्मचारीतन्त्र र स्थायी सेना । यी संस्थाहरु पुजीजीवीवर्गसित हजारौं सूत्रहरुद्वारा कसरी सम्बद्ध भएका हुन्छन् भन्ने कुरा माक्र्स तथा एङगेल्सका कृतिहरुमा बारम्बार उल्लेख गरिएको पाइन्छ । प्रत्येक मजदुरको अनुभवले यस सम्बन्धलाई अत्यन्तै प्रत्यक्ष र प्रभावशाली तरिकाले स्पष्ट पारेको छ । मजदुरवर्गले स्वयं आफ्नै कटु अनुभवद्वारा यस सम्बन्धलाई देख्न सिक्दछ । यसैकारणले गर्दा नै उसले यस सम्बन्धको अनिवार्यता सम्बन्धि त्यस सिद्धान्तलाई निम्न–पुँजीजीवी प्रजातन्त्रवादीहरु या त अज्ञानतावश र विचार नपु¥याइकन इन्कार गर्दछन्, या त अझ विचारहीन रुपमा “सामान्यत” स्वीकार गरिदिन्छन्, परन्तु तदनुकूल व्यावहारिक निष्कर्ष निकाल्न चाहिँ बिर्सिदिन्छन् ।

कर्मचारीतन्त्र र स्थायी सेना पुँजीजीवी समाजको शरीरमा पालिने “परजीवी” हुनु, जुन यस समाजलाई छिन्नभिन्न पार्ने आन्तरिक अन्तर्विरोधहरुबाट उत्पन्न भएका हुन्छन् । परन्तु यी यस्ता परजीवी हुनु, जसले त्यस समाजको जीवनका सबै प्राणदायी रोमकुपहरुलाई “अवरुद्ध गरिदिन्छन् ।” राज्य परजीवी अङग हो भन्ने धारणालाइृ औपचारिक सामाजिक–प्रजातन्त्रवादी क्षेत्रहरुमा हाल व्याप्त काउत्स्कीवादी अवसरवादले अराजकतावादको खास र निजी विशेषता ठानेको छ । अवश्यमेव नै माक्र्सवादलाई कसरी विकृत पार्नु ती कूपमण्डूकहरुलाई ज्यादै नै उपयोगी हुन्छ, जसले साम्राज्यवादी युद्धप्रति “पितृभूमिको रक्षा” भन्ने अवधारणा लागू गर्दै, त्यसलाई सिंगारपटार गरीवरी न्यायोचित ठह¥याउँदै समाजवादलाई पहिले कहिल्यै पनि नसुनिएको हदसम्म कलङ्कित गरिदिएका छन् । तर आखिर यो निःसन्देह नै विकृति हो ।

सामन्तवादको पतन भएपछि युरोपले जति पनि गनेर गन्न नसकिने पुँजीजीवी क्रान्तिहरु देखेको छ, ती सबैको दौरानमा नोकरसाही र सामरिक यन्त्रको नै विकास, सुधार तथा सुदृढीकरण हुँदै गएको छ । सामान्यतया निम्न –पुँजीजीवीवर्गका मानिसहरु नै उच्च पुँजीपतिवर्गको पक्षमा आकर्षित हुन्छन् र यसै यन्त्रको माध्यमद्वारा निश्चित हदसम्म उसको मातहतमा रहन्छन् । यसै यन्त्रले माथिल्लो तहमा रहेका किसानहरु, सानातिना शिल्पकारहरु, व्यापारीहरु र यसै खालका अन्य मानिसहरुलाई अपेक्षतया यस्ता आरामप्रद, चिन्तारहित र सम्मानपूर्ण नोकरीहरु मिलाइदिन्छ, जसले गर्दा उनीहरु सर्वसाधारण जनताभन्दा माथि रहन जान्छन् । हेर्नाेस् सन् १९१७ को २७ फरवरीपछिको ६ महिनाभित्र रुसमा के भयो ? जुन सरकारी पदहरु प्हिले खासगरी कालासयवालाहरुलाई (२७) प्रदान गरिन्थ्यो, तिनमा अब कादेतहरु (२८), मेन्सेविकहरु र एसेरहरुको बहाली हुन थाल्यो । कुनै गहकिलो सुधार गर्ने कुरा त वास्तवमा कसैले पनि सोच्दै सोचेको छैन ।

त्यसलाई “संविधानसभासम्म” स्थगित गर्ने हरतरहले कोसिस गरिन्छ । अनि संविधानसभा डाँक्न चाहिँ युद्धको अन्त्यसम्म येनकेन आलटाल गर्न खोजिएको छ । परन्तु लुटको माल अंशबण्डा गर्न, मन्त्री, सहायक मन्त्री गर्भनर–जनरल आदिको ओहोदा टप्काउन भने कुनै प्रकारको विलम्ब गरिदैन, न त संविधानसभाको नै प्रतिक्षा गरिन्छ । सरकार गठन गर्ने सम्बन्धमा चालबाजीको जुन नाटक खेलिएको थियो, त्यो वास्तवमा ‘लुटको माल” बाँडफाँड गर्ने र फेरि बाँडने यसै अंशवंण्डाको अभिव्यक्ति मात्र थियो, जुन देशभरि नै तलदेखि माथिसम्म नै केन्द्रीय तथा स्थानीय प्रशासनको हरेक विभागमा चलिरहेको थियो । सन् १९१७ को २७ फरवरीदेखि २७ अगस्तसम्मको आधा वर्षको जम्माजम्मी निचोड, वस्तुगत निचोड निःसन्देह नै यसप्रकार छ– सुधारहरु दराजमा थन्क्याएका छन्, सरकारी पदहरुको भागबण्डा सम्पन्न गरिएको छ र यस अंशवण्डाको सन्दर्भमा जुन ‘गल्तीहरु’ हुन गएका थिए, तिनलाई किञ्चित् पुनर्वितरणको माध्यमद्वारा सच्चाइएको छ ।

परन्तु विभिन्न पुँजीजीवी तथा निम्न–पुँजीजीवी पार्टीहरुबीच –यदि रुसी उदाहरण लिने हो भने कादेतहरु, एसेरहरु र मेन्सेविकहरुबीच) जति बढी मात्रामा नोकरसाही यन्त्रको ‘भागवण्डा’ हुन्छ । त्यतिकै स्पष्ट रुपमा उत्पीडित वर्गहरुलाई र उनीहरुको नेतृत्वमा रहेको सर्वहारावर्गलाई समस्त पुँजीजीवी समाजप्रति नै उनीहरुको अप्रसाध्य शत्रुता पनि छर्लग हुँदै जान्छ । यसैले गर्दा सबै पुँजीजीवी पार्टीहरुको निम्ति अझ सबभन्दा प्रजातन्त्रवादी र “क्रान्तिकारी प्रजातन्त्रवादी” पार्टीहरुको निम्ति समेत क्रान्तिकारी सर्वहारावर्गको दमन तीव्र तुल्याउनु र दमनकारी यन्त्र अर्थात् त्यही राज्ययन्त्रलाई बलियो पार्नु आवश्यक हुन जान्छ । घटनाको यस्तो विकासक्रमले गर्दा क्रान्तिले राज्ययन्त्रमा सुधारको होइन, बरु त्यसको विनाश र उन्मूलनको लक्ष्य राख्न विवश हुनुपर्दछ ।

नानाथरीका तर्कवितर्कहरुले होइन, बरु घटनाक्रमको वास्तविक विकासले र सन् १८४८–१८५१ के जीवन्त अनुभवले नै यस्तो लक्ष्य राख्न लगाएका छन् । ऐतिहासिक अनुभवको वास्तविक आधारमा माक्र्स कति हदसम्म अडिग हुनुहुन्थ्यो भन्ने कुरा यस तथ्यबाट पनि छर्लग हुन्छ कि सन् १८५२ मा उहाँले नष्ट गरिनुपर्ने यो राज्ययन्त्रलाई कुन कुराले विस्थापित गर्ने भन्ने ठोस प्रश्न अझै पनि राखिसक्नुभएको थिएन । त्यसबेला अनुभवले अझै पनि यस्तो प्रश्नको निम्ति चाहिने सामग्री दिएको थिएन । यस प्रश्नलाई इतिहासले पछि, सन् १८७१ म गएर मात्र, कार्यसूचीमा समाविष्ट गरेको थियो । सन् १८५२ मा प्राकृति ऐतिहासिक अवलोकनको अचुकतासहित मात्र यत्तिकै भन्न सकिन्थ्यो कि सर्वहारा क्रान्ति राज्यसत्ताको विरुद्ध “सारा विनाशकारी शक्तिहरुलाई सङ्केन्द्रित गर्ने” लक्ष्यको र राजकीय यन्त्रलाई “चकनाचुर पार्ने” लक्ष्यको नजिक आइपुगको छ ।

यहाँ प्रश्न उठ्न सक्छ–माक्र्सको अनुभव, निरीक्षण र निष्कर्षहरुलाई एक आम नियम मानेर त्यसलाई सन् १८४८ देखि १८५१ सम्मका तीन वर्षहरुको फ्रान्सेली इतिहासभन्दा धेरै विस्तृत क्षेत्रमा पनि लागू गर्नु के उचित हुनेछ ? यस प्रश्नलाई केलाउनको निम्ति पहिले एङगेल्सको एउटा टिप्पणीको सम्झना गरौं, अनि मात्र वास्तविक तथ्यहरुको चर्चा गर्नतर्फ लाग्ने छौ । (क्रमशः)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्