Logo

एङ्गेल्सका यादहरु- नियात्रा !


-भीम राई

हरेक हिउद पछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरि नै अनगिन्ति हिउदहरु आफ्नै गतिमा बहदै गई रह्यो । जिन्दगीका धेरै हिउदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर पालि रहेको थियो । तिनै रहरहरु लाई साकार पार्न एक दिन हामी लाईम स्ट्रिट लिभरपुल रेल स्टेसन पुगेका थियौ । बिहानको दश बजे स्टेसन भित्र छिरेपछि भित्तामा देखाईएका बिधुतिय सुचना पार्टीलाई मैले एक झलक नियालेर हेरे । दश बजेर सत्र मिनेटमा एउटा रेल म्यानचेस्टर तर्फ जादै गरेको देखेपछि तिनै रेललाई सामातेर त्यसतर्फ जाने हामीले निधो गर्यौ ।

“तिमी यतै उभि रहनु है ?”

तारालाई सानो स्वरमा भने र हिडदै टिकट किन्ने काउन्टर नजिकै पुगे । म त्यहाँ पुग्दा केहि मानिसहरु काउन्टर अगाडि पङ्त्ति बध्द भएर टिकट किन्ने पालो पर्खेर उभि रहेका थिए । त्यसैले म पनि केहिबेर उनिहरुको पिछाडि उभि रहे । मेरो पालो आएपछि म्यानचेस्टर जाने रेलका दुई वटा टिकटहरु किने । त्यसपछि हामी सरासर हिडदै तीन नम्बर प्लेटफर्ममा पुग्यौ । तर हामी प्लेटफर्ममा पुग्न अगावै रेल आएर हाम्रो इन्तजार गरि रहेको थियो । त्यसैले हतार हतार रेलको अन्तिम डिब्बामा चढि हाल्यौ र बायाँ पट्टिको खालि सिटमा थपक्कै बस्यौ ।

सुचना पार्टिमा देखाईएको समयमा रेलले लाईम स्ट्रिट स्टेसन, लिभरपुललाई छाड्यो । स्टेसन छाडने बितिकै ताराले, “अब म थपक्कै सुत्छु, मलाई नबोलाउनु होस है ?” भन्दै सुस्तरि म तिर ढल्किन् र मेरो दायाँ कुमलाई उनकी पृय सिरानी बनाईन । अनि आफ्नो श्रीमानको कुमलाई नै स्वर्ग सम्झदै स्वर्गिय आनन्द लिन सुरु गरिन ।

“आ….कुम्भकर्णको छोरीलाई के कचकच गरि रहने है ?” भनेर म चाँही झ्यालबाट बाहिर नजर लगाउन थाले ।

बेलायति अगष्ट महिनाको एउटा शनिश्चर बारको दिन थियो । शून्य आकाशबाट आएको सुनौलो घामको ज्योतिले लिभरपुलको धर्ति बेस्सरि चम्कि रहेको थियो । अझै राम्ररि आकाशलाई नियालेर हेर्ने हो भने बादलका टुक्राहरु यत्रतत्र कतै देखिएका थिएनन् । बेलायतको अगष्ट सेप्टेम्बर महिनामा त्यति पारिलो घाम ताप्न पाउनु भनेको तालुमा आलु फल्न झै मलाई लाग्दथ्यो । त्यसैले त्यति राम्रो मौसमको फाईदा लिदै मैले आनन्दको अनुभुति लिई रहेको थिए ।

साङ्गितिक समुह बिटल्स सङ्ग लिभरपुल

लाईम स्ट्रिट छाडेको रेलले एज हिल पार गर्दै ‘रेईन हिल’ पुगेर पहिलो पटक रोकियो । रेल रोकिए पछि औलामा गन्न सकिने यात्रृहरु रेलबाट झरे र त्यति जति नै शँख्यामा चढे । केहि मिनेट पश्चात फेरि रेल हिडन सुरु गर्यो । रेईन हिल पार गरेपछि वारिङ्गटन नपुगिन्जेल सम्म पातलो अङ्ग्रेजि बस्ति सँग सँगै मैले हरेक मानिसको घरको शोभनिय बगैचाहरु बिभिन्न प्रकारका रुखहरु लटरम्म फलेका स्याउका बोटहरु हरिया घासे मैदानका चौरहरु र सस्याना तलाउहरुसँग रुमलिएर मेरो समय लाई कटाउन थाले । तर मलाई त्यति बेला किन किन शिक्षाबाट पाईने ज्ञान भन्दा प्रकृतीबाट सिकिने ज्ञान पो झन धेरै तागतिलो छ कि जस्तो लागि रह्यो ।

टुप्लुक्कै वारिङ्गटनमा रेल झुल्कियो र केहिबेर रोकिएर हिडन थालेपछि कति बाहिरको मात्रै रमिता हेर्ने होला भनेर हाते झोलाबाट एउटा पुरानो पुस्तक निकाले । र, एक पटक पुस्तकको पानाहरु फरर पल्टाएर हेरे । अब कुन पेजबाट पढन सुरु गरौ होला भनेर एकछिन झोक्रिएर त्यतिक्कै बसि रहे, किनभने त्यो पुस्तकलाई मैले केहि बर्ष अगाडि पहिलो पटक पढि सकेको थिए । अनि मेरो एउटा नराम्रो बानि चाँही के थियो भने कुनै पनि पुस्तकहरु प्रायस् दोहर्याएर पढन जागर चलाउदिन थिए ।

मैले झोलामा बोकि हिडेको तिनै थोत्रो पुस्तकलाई सन् १८४५ मा फ्रेडरिक एङ्गेल्सले लेखेका थिए । र, पुस्तकको नाम “द कण्डिसन अफ ओर्किङ क्लास ईन ईङल्याण्ड” भन्ने थियो । अथवा तत्कालिन समयमा अङ्ग्रेजी श्रमिकहरुको दुराबस्थाको बिषयमा त्यो पुस्तक लेखिएका थियो ।

मार्क्स र एङ्गेल्स दुवै जना मिलेर लेखेका राजनैतिक दस्तावेज “कम्युनिष्ट घोषणापत्र” १८४८ मा प्रकाशित हुन अगावै एङ्गेल्सले क्रान्तिकारि भाषामा लेखेको त्यो पुस्तक नै सारा बर्गिय बिभेदका आमुल परिवर्तनका श्रोत हुन कि भन्ने मलाई यदाकदा अनुभुति हुने गर्दथ्यो ।

“नर्दन रेल” आफ्नो गन्तब्य तर्फ क्रमशस् बढि रह्यो । समय समयमा रेलले निकालेको छकछक आवाज मेरो कान सम्म आई पुग्ने गर्दथ्यो । मैले त्यसबेला निकोला टेस्लाको एउटा मर्मस्पर्शि भनाई लाई एक पटक सम्झे –

“सबै कुराहरु मध्ये पुस्तक सबैभन्दा उत्तम कुरो हुन् ।”

त्यसपछि म पुस्तकका हरेक हरपहरुमा मज्जाले घोत्लिन थाले । बेलायतमा भर्खर भर्खरै अबिष्कार गरिएको स्टिम ईन्जिन र तिनै मेशिनहरु सँगसँगै काम गर्दा सर्बहारा बर्गले पाएको दुर्दशा लेखिएको तिनै पुस्तक पढदा कुनै कुनै बेला म अति भावुक हुने गर्दथे ।

लगभग चालिस मिनेटको यात्रा पछि हाम्रो रेल म्यानचेस्टर पिकाडेलिमा पुगेर अन्तिम चोटि रोकियो । रेल रोकिए पछि तारा र म एक-एक वटा हाते झोला काँधमा भिरेर रेल स्टेसनबाट बाहिर निस्कियौ ।

रेल स्टेसन देखि बाहिर निस्केर लम्रङ लम्रङ हिडदै ट्याक्सि स्टेसन नजिकै पुगेका थियौ । तर स्टेसनमा पुग्ने बितिक्कै थुप्रै मानिसहरुको भिड देखेर एक छिन आश्चर्यमा पर्यौ । त्यस दिन म्यानचेस्टर युनाईटेड र चेल्सिको बृहत ठुलो फुटबल खेल ओल्ड ट्रार्फोर्डमा हुन गई रहेको थियो । त्यसैले म्यानचेस्टर युनाईटेड फुटबल क्लबको रातो गन्जि लगाएका थुप्रै फुटबल अन्धोभक्त्त समर्थक ठिटा ठिटिहरु ट्याक्सि पर्खेर त्यँही बसि रहेका थिए । अझै कुनै कुनै फुटबल समर्थकहरु त एक अर्कामा अँगालो मार्दै गित गाउदै र नाच्दै गरेका पनि देखिन्थे ।

हामी दुई जना चुपचाप तिनै हुलको अन्तिममा पुगेर उभि रह्यौ । एकछिन पछि तीन-चार जना अङ्ग्रेजहरु खुट्टा लरबराउदै लरबराउदै हामी तर्फ बढदै आए । उनीहरु त्यति बिहानै देखी माति सकेका रहेछन् भन्ने कुरो मैले उनिहरुले चालेको कदमबाट नै पत्ता लगाई सकेको थिए ।

बिहानको सूर्यले एक टाङ्गो पार नगर्दै अङ्ग्रेजहरु मातेको देख्दा अङ्ग्रेज फुटबल सँस्कृतिले अति चरमोत्कर्ष स्थानमा पुगेको जस्तो मलाई कता कता अनुभुति भयो । अझै तिनीहरु मध्ये झ्याम्म बोके दार्ही पालेका एकजना मत्थुले, “जिन्दगीमा शारिरिक सम्पर्ग र पेय पदार्थ पछिको मनोरन्जन फुटबल खेल लाई नै लिन सकिन्छ,” भन्दै हामी तर्फ अघि बढेको देख्दा मलाई हल्का हिनताबोध भयो । तर मैले मत्थुहरु प्रति केहि वास्ता नगरे झै गरे, झन ताराले त उसले के भनेको होला भनेर बुझ्ने कोशिस पनि गर्न चाहिनन् ।

केहि बेरपछि ट्याक्सि चढने हाम्रो पालो आयो । हाम्रो ठिक अगाडि ट्याक्सि आएर रोकिने बितिक्कै हतार हतार ट्याक्सि भित्र पसि हाल्यौ । ट्याक्सि भित्र आरामले बसेपछि मैले चालक लाई वेस्टी, सालफोर्ड जानको लागी अनुरोध गरे । त्यसपछि पाकिस्तानी मुलका चालकसँग उर्दु भाषामा हाम्रो हल्का परिचय भयो ।

मेरो लट्याङ पट्याङ उर्दु भाषा सुनेर उसका दार्ही जुङ्गा सम्म प्रभावित बने । यात्राको क्रममा उसले लाहोर देखि म्यानचेस्टर सम्मको राम कहानी हामीलाई सुनाई रह्यो । उसको जिवनमा घटेका दुखद घटनाहरु सुनेर मेरो हृदय केहि बेर बिचलित बने । त्यसैले घुमाउरो पारामा तै पनि तपाईलाई अहिले म्यानचेस्टरको जीवन आमोद प्रमोद छ नि भनेर उसलाई सानो तिर हानी पठाए । तर मेरो भनाई सुनेर उसले एक्कै शब्द निकालेन बरु फिसिक्कै मुस्कान छाड्यो ।

हामी केहि बेरमा वेस्टि पुग्यौ र भिक्टोरिय मिलको ठिक अगाडि मैले ट्याक्सिलाई रोक्न लगाए ।

भिक्टोरिय मिल त्यस्तो ठाउँ हो जुन ठाँउ बाट एउटा बिशाल दर्शन “साम्यबाद” को जन्म भएको थियो । तिनै घरमा सन् १८३७ मा पिटर एर्मेन र फ्रेडरिक एङ्गेल्स (सिनियर) मिलेर “एर्मेन एण्ड एङ्गेल्स” कटन मिल खोलेका थिए । सालफोर्डमा कटन मिल खोलेर एङ्गेल्स प्रर्शिया पुगेपछि आफ्नो छोरालाई त्यहाँ हुने ब्यापारिक भविश्यको बिषयमा हरेक दिन सुनाउने गर्दथे ।

म्यानचेस्टर युनाईटेड रङ्गशाला

तर छोरो त्यसबेला सम्म अलिक कलिलो भएको हुनाले त्यति धेरै कुरो बुझ्दैनथे । जब छोराले अलिक धेरै कुरो बुझ्ने भयो त्यतिबेला उनि समुल सुधारबादको बिचार पछ्याएर आमुल परिवर्तनको पक्षधरमा उभिन थाल्यो । अझै उनले आफ्नो बिचारलाई निरन्तरता दिन युनिभर्सिटिको अध्यान बिचैमा छाडि दियो । त्यसरि अध्यानलाई छाडदा बाबुले उसलाई जब्बरजस्ति म्यानचेस्टर पठाई दिए । सन् १८४२ मा फ्रेडरिक एङ्गेल्स म्यानचेस्टर आउदा उनको उमेर केबल बाईस बर्षका मात्र थिए ।

एङ्गेल्स म्यानचेस्टरमा पुगेर मिलको मालिक भएर काम गर्न थाले । उसको मिलमा काम गर्ने जम्मै श्रमिकहरु चाँही निम्न बर्गका सदश्यहरु थिए । अनि तिनीहरुको भयानक तितो भविष्य देखेर उनि ज्यादै दुखित हुन थालेका थिए । उनलाई समय समयमा उच्च बर्गले ब्यबस्थापन गरेको ‘सेम्पेन पार्टि’ मा उपस्थित हुन निम्ता गरिन्थ्यो तर पार्टीमा नगएर बरु उल्टै श्रमिकहरु सँग नजिक भएर समय बिताउन थालेका थिए । श्रमिकहरुले त्यति न्युनतम तलबमा ज्यादै कठिनाई काम गर्नु परेको अबस्था देख्दा उसको हृदय जलेर खरानि हुने गर्दथे । अझै बेलायति ठण्डि महिनाहरु नोभेम्बर डिसेम्बर र जनवरिको कठङ्ग्रिने जाडोमा पनि कलिला कलिला बाल बच्चाहरु र महिलाहरुको परिश्रम देख्दा उनि भाव बिह्वल हुने गर्दथे ।

त्यति मात्रै नभएर मिलमा काम गर्ने वातावरण नै राम्रो थिएन जस्ले गर्दा हरेक हप्ता एक(दुई जना श्रमिकहरुको ब्यार्थैमा ज्यान जाँदा उनि भयाकुल हुने गर्दथे । त्यसबेला बेलायत भर्खर भर्खरै नयाँ औधगिक युगमा प्रबेश गर्दै थियो । त्यसैले श्रमिकहरुको पक्षमा कुनै पनि शक्त्तिशालि नियम एबम कानुनहरु बनि सकेका थिएनन् । त्यहाँ राजनैतिक र सामाजिक अन्याय मात्रै नभएर सबै प्रकारको मानबिय अन्यायहरु हुने गर्दथ्यो । जुन अन्यायको मुल जरो चाँही बर्ग बिभाजन र पूँजिबाद नै हो भन्ने उसले पुर्ण रुपले ठम्याएका थिए ।

“आ…थोत्रे घर पनि कति हेरि रहने होला ?”

ताराको मुख बाट बिजुलि चम्केको झै निस्केको आवाज अचानक मेरो कानमा बज्र्यो । म तिनै युबक एङ्गेल्सको जिवनचार्य लाई सम्झेर त्यतिबेला सम्म भावनामा डुबि रहेको थिए ।

चालकलाई, ‘अब जाउ है,’ भन्ने बितिक्कै उसले ट्याक्सिको हाते ब्रेक खोल्यो र पुनस् सालफोर्डको बाटोमा ट्याक्सिले गति लिन थाल्यो । हामी बिस्तारै ग्रेट डुसि स्ट्रिट तर्फ लाग्यौ । अनि क्रमशस् थोर्नक्लिफ ग्रोभ र डोभर स्ट्रिट तिर ट्याक्सि बाट एक चक्कर मार्यौ, किनभने एङ्गेल्सले सालफोर्डको तिनै घरहरुमा पटक पटक कमिला झै डेरा सारि रहेका थिए । अझै भनौ बेलायति गुप्तचर प्रहरीहरु बाट बच्न उसले डेरा मात्र सारेका थिएनन् आफ्नो अशलि नाम कसैले चाल पाउन नसकोस भनेर छद्मभेषि नाम “जनरल” भनेर उनले आफ्नो परिचय दिने गर्दथे ।

सालफोर्डको भ्रमण सकिए पछि जुल्फिकरले हामीलाई रेल स्टेसनमा झारी दियो । त्यसपछि बेलुकिको एउटा रेल समातेर हामी बर्मिङ्घाम तर्फ लाग्यौ । रेल भित्र पसेपछि ताराले अघि झै मलाई अडेस लगाएर मज्जाले आराम गर्न थालिन । तर मेरो क्षुद्र दिमाग भरि तिनै एङ्गेल्सको जीवन कहानि पुनारबृत भै रह्यो ।

“पेटको भरले दिमागले काम गर्छ,” भन्ने बिचारका धनि एङगेल्सले दुई बर्ष सालफोर्डमा बस्दा “द कण्डिसन अफ ओर्किङ क्लास ईन ईङल्याण्ड” को जन्म मात्र दिएका थिएनन् । तिनै मिलमा काम गर्ने एकजना श्रमिक युबती सँग प्रेम लिलामा फस्न पनि पुगेका थिए । तर उसलाई राम्रै हेक्का थियो कि बर्ग बिभेदको कारणले गर्दा उनीहरु बिच एक अर्कामा बिबाह हुन एकदमै कठिन छ । त्यसैले त्यो अबैधानिक प्रेमलाई उनिहरुले एकदम गुपचुपमा राखेका थिए ।

उच्च बर्गको प्रर्शियन युबक फ्रेडरिक एङ्गेल्स र निम्न बर्गको आईरिस युबती मेरी बर्न्सको अदृश्य प्रेम रोमान्चकारि बन्दै गएको मेरीकी बहिनी लिज्जि लाई चाँही राम्रै सँग थाहा थियो । तर मेरीको बाबु माईकल बर्न्स लगायत अरु श्रमिकहरु कसैले सुईको सम्म पाएका थिएनन् ।

निक्कै लामो समय सम्म दुई जनाको प्रेमलिला चलि रह्यो । दुर्भाग्यबस सन् १८६३ मा ४१ बर्षको अल्प आयुमा मेरी बर्न्सको अचानक मृत्यु भयो । “उनको मृत्युले बनाएको खालि ठाउँ मेरो जिन्दगीमा कहिले भरिदैन,” भनेर उदाश बन्दै भौतारि हिडेका एङ्गेल्सलाई मेरीकी तिनै बहिनी लिज्जिले पुनस् दिदीको ठाउँमा साथ दिईन । त्यसपछि सन् १८७० मा एङ्गेल्स लिज्जि सँग सुटुक्कै सँधै सँधैको लागि म्यानचेस्टर छाडेर लण्डन तिर लागेका थिए ।

“रेडिसन ब्लु” होटल बर्मिङघाममा एक रात बिताएर बिहानीको खाजा हसुरे पछि तारा र म ‘मुर स्ट्रिट’ रेल स्टेसन तर्फ लाग्यौ । त्यहाँ देखि चिल्टर्न रेलवेजको एउटा रेल समातेर लण्डन तिर बाटो ततायौ । बर्मिङ्घाम छाडेको केहिबेर पछि रेलले सोलिहलमा पुगेर एकछिन थकाई मार्यो ।

‘सोलिहल क्षेत्र’ लण्डन पछिको दोश्रो ठुलो सहर बर्मिङघामको अति धनाढ्यहरुको प्रख्यात बस्ति रहेको थियो । उपनिबेष कालमा भारत जम्मै रित्याएर ल्याईएका सम्पतिले बनेका जस्ता त्यहाँका भिमकाया महलहरु, सुन्दर बगैचाहरु र फराकिला आगनहरु देखेर तारा केहि बेर भावुक बनि रहिन । सायद मार्क्स र एङ्गेल्सको सपना पुरा भएर कसैले पनि ब्यक्तिगत सम्पति राख्न नपाईने हुदो होत यिनै बिशाल महलहरुमा हामी पनि बस्न पाईन्थ्यो होला कि भनेर उनले मधुरो स्वरमा बोलिन ।

उनको भनाई सुनेर म एकछिन नाजबाफ बनि रहे किनभने म अर्काले कमाएको सम्पतिमा भन्दा पनि आफ्नो कर्म र परिश्रममा बिश्वास गर्दथे । रेलले क्रमशस् आफ्नो गति लिई रह्यो र केहि बेरमा वारविक, लिमिङ्टन स्पा, बानबुरि र बिस्टर उत्तरमा रोकिदै हेड्डेनहाम पुग्यो । रेल हेड्डेनहाम देखि हाईवेकम नपुगिन्जेल सम्म मैले ‘देम र रिसबोरो’ को दमसाइलो जमिनमा बनेका फाटिला घाँसे मैदानहरु लाई लामो समय सम्म हेरि रहे ।

रिसबोरो देखि सुरु भएको त्यति आकर्षक जमिन उँधो उँधो बढदै जाँदा दक्षिणी भागमा अबस्थित चिल्टर्न डाँडोको क्षितिज सम्म पुगेर बिलय भएका थिए । अनि तिनै घाँसे जमिन माथि निस्फिक्रि सँग चरि रहेका हेरिफोर्ड सायर गाईहरु र स्रोपसायर भेडाका बथानहरुले ति चरणहरु झन कम्ति रमाईलो देखिएका थिएनन् ।

टावर ब्रिज नियाल्दै, लण्डन

त्यति रहर लाग्दा भेडाका जोडा जोडि पाठाहरु खुशिले तरङ्गित हुदै आफ्नो आमा बाबाको अगाडि पिछाडि उफ्रि रहेको देख्दा मलाई किन किन नराम्रो महसुस हुने गर्दथ्यो, किनभने धेरै जसो निरहि पाठोहरुको आयु मात्र छ महिनाका हुन्थे । त्यसपछि “ल्याम्प चोप” मा परिणत भएर मांसभक्षि बुभुक्षित मानिसको थाल थालमा उत्तम डिनर बनेर सजिन पुग्दथ्यो । म त प्रकृति र प्राणी प्रति प्रेम गर्दथे त्यसैले शाकाहारी नै थिए तर तिनीहरुको दयनिय जीवनलाई सोच्दा वास्तवमा मानिसहरु कति निर्दयि र दुष्ट हुने रहेछ भन्ने मलाई तिनै पाठोहरु लाई देखेर तिथ लाग्दथ्यो ।

बिस्टर उत्तरमा रेल रोकिदा किनेको ‘अङ्ग्रेजी चिया’ सकिन नपाउदै हामी लण्डनको मार्लिबन स्टेसन पुगि सकेका थियौ । हामी त्यँहा पुग्दा स्टेसनको भित्तामा रहेको ठुलो घडिले बिहानिको समय दश बजाई सकेको रेलको झ्याल बाट मैले देखे । रेल पुर्ण रुपले रोकिए पछि म एक्कै शब्द नबोलि स्टेसन बाट हिडदै बाहिर निस्कन थाले । ब्यस्त सहर लण्डनमा कतै हराई हाल्छु कि भन्ठानेर मेरो पछि पछि ताराले पछ्याउन थालिन । स्टेसन बाट बाहिर निस्केपछि मोबाइललाई मानब निर्मित उपग्रह ‘सेटलाईट’ सँग जुधाएर जमिनको नक्सा पढदै पढदै हामी आफ्नै गतिमा रेजेन्ट पार्क तर्फ लाग्यौ ।

केहिबेर हिडेपछि बाटोमा नै मध्यान्हको भोजन खायौ र “१२२ रेजेन्ट पार्क रोड” पुग्यौ । एङ्गेल्स र बर्न्सले म्यानचेस्टर छाडे देखि रेजेन्ट पार्क रोडको तिनै घरमा धेरै लामो समय सम्म सँगसँगै जीवन बिताएका थिए । त्यो घरको बाहिरि पर्खालमा निलो रङ्गले पोतिएको गोलो फलामे पातामा “फ्रेडरिक एङ्गेल्स १८७०(१८९४” सम्म बसेका थिए भनेर लेखेर राखिएका ‘ब्लु प्लेग’ अहिले सम्म चम्कि रहेको देख्न सकिन्छ ।

त्यस घरमा सरेको आठ बर्षपछि लिज्जि बर्न्स सार्है बिमारि भईन र ११ सेप्टेम्बर १८७८ को दिन उनको मृत्यु भयो । उनको मृत्यु हुनु भन्दा दुई घण्टा अगाडि मात्रै एङ्गेल्सले लिज्जि सँग सानो बिहे गरेर उनीहरु बिचको बर्ग बिभेदको अन्त्य गरेका थिए । उनको मृत्यु भए पश्चात एङ्गेल्स सन् १८९४ मा त्यस घर नजिकै रहेको ‘४१ रेजेन्ट पार्क रोड’ मा डेरा सारे । तर उनि त्यहाँ सरेको अर्को बर्ष ५ अगष्ट १८९५ मा उनको पनि देहान्त भयो ।

२८ नोभेम्बर १८२० वारमेन, प्रर्शिया (हालको जर्मनि) मा जन्मेका एङ्गेल्सको मृत्यु भएपछि वकिङ शव गृहमा लगेर उनको अन्तिम संस्कार गरियो । उनको खरानिलाई आफ्नै इच्छा बमोजिम मार्क्सको छोरी जेनि इलिनरले इस्टबोर्न सामुन्द्रिक किनार नजिकै रहेको बिचीहेडमा लगेर “एङ्गेल्स अल बिदा” भन्दै सँधै सँधैको बहाई दिएका थिईन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्