साना व्यवसायीको माग ‘व्यवसायीहरुले पुनर्कर्जाको सुविधा पाउँनु पर्छ’

व्यवसायीहरुले को’भिड १९ का कारण केरुङ नाकामा एक हजारभन्दा बढी कन्टेनर रो’किएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी केरुङ नाकामा रोकिएका मालवस्तुसहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालवस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलादिन मन्त्री भट्टसमक्ष माग गरे । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्यजादर र घरभाडा तिर्न सक्ने क्षमतासमेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिनसमेत व्यवसायीहरुले माग गरेका छन् ।
त्यस्तै व्यवसायीहरुसँग मासिक भ्याट तथा राजस्व तिर्ने पैसासमेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन अध्यक्ष कटुवालले माग गरे । व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताए । पुनर्कर्जा उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।
त्यस्तै केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कूटनीतिक पहल सुरु गरिसकेको समेत उनले बताए । लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पुँजीसमेत नभएकाले बिनाधितो न्यूनतम ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनसमेत व्यवसायीहरुले माग गरेका छन् । को’भिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनर्कर्जाको सुविधा आफूहरुले समेत पाउनुपर्ने माग व्यवसायीहरुको छ ।