Logo

कबिता – “टालो”


भाई किराति 

घुमाइ-घुमाई तन्काएर
अंक मेटिँदै गएको त्यो फित्तासँगै
पछ्याई-पछ्याई पहेँलो चकको गोहो
विभिन्न आकारमा
काटिएँ छाटिएँ, छेकिएँ
छोप्नलाई नि:सन्देह तिम्रो लाज-गाल
नछोपुँ ?
मालिक पो हु म चिन्दैनस्  भन्यौ

आविष्कार आफ्नै जस्तो गरि
गरिदियौ मेरो न्वारान पनि
पटकपटक धेरै पटक
तिम्रै मौसम अनुकुल

छेकेर अदृश्य कोखे कैँचिले
पारेर टुक्राटुक्रा अनि
थमायौ टालो नामको उपमा
र फेरि तुन्यौ मेरै रङको तुनौरीले
मिलाई-मिलाई छलको सिउनी
अनेकौं ढाँचामा झुन्डाएर
मूल्य अंकित ट्याग

भिडाउँदै दर्ज्यानी पद
नानाथरी वर्गीकरण फेसनको
सजाउँदै सिसावाला शोकेसबाट होस् या
धुलो टक्टकाउँदै फुटपाथ भरी
बिक्री गर्‍यौ
हदैसम्मको मुनाफा जोडेर
पुँजीवादको उत्कृष्ट मेलाहरुमा

खै!
पाउँदिन सुइँकोसम्म पनि
थमाईदिन्छौ कुन घडी, कुन पद
भित्र वा बाहिरपट्टिबाट
त्यो पनि कुन घराना, कुलको
कुलिन वा महामानवको
बन्दिनु पर्ने हो टालो ?

बनेर आफै टालो बिहिन
टाल्दै आएँ नग्नता तिम्रो
बडो ठूलो हित-चित्तले

तर
आत्मिक पर्खालले घेरिएको तलाउमा
शताब्दीयौँको कठिन डुबाईपछि
जब तैरिनु सिके यता
बल्ल पो चिन्नु थालेको छु
मालिक त तिमी नै हौ
र यो पनि सत्य हो
कि असली मालिक त
मेरो आफ्नै सचेत गिदी पो हो त

जसको हुकुममा
निर्माणाधीन मेरो राजमार्ग भरी
थुपार्दै फोहोरको डङ्गुर
आधा बीचमा अवरोध त गर्‍यौ-गर्‍यौ
अझै पनि घसेर पुनर्जन्मको लेपन
प्रयासरत छौ जगाउन
तिम्रा सनातनी भाइरसहरु

जो रक्तधाराहरुमा
सर्वाङ्ग स्नान गरेर मात्रै
शुद्धता प्राप्त गर्ने भित्री इच्छा त्यसको
बदलिने छाँट देखिँदैन अझै

किनभने
बदलिएको छैन सूर्य, चन्द्रको अक्ष
उही छ दैनिकी, परम्परा चक्र
छोडेका छैनन् अझै

तर
सामाजिक चर्खाले धेरै फन्का मार्‍यो
भैसके औचित्यहीन
ती सत्ताका मुल अस्त्रहरु
किनकि धेरै भैसकेको छ न्युटन,
माइकेल्सन, मोर्ले, आइन्सटाइन,
बोर, हकिङ्स र हिक्सहरु
अस्तित्वमा आएको

त्यत्तिमात्र कहाँ हो र
नयाँ कालिगडहरुले निर्माण गरेका
उत्तराधुनिक न्युक्लिएर बुलेट
कोभिड -19 नै पुरानो भइसक्यो
रत्तिभर वास्ता गर्दैनौ तिमी
या बुझपचाउँदैछौ ?

घोत्लिएर सोच त
उज्ज्वल मेरो राजमार्गमा
तिमीले थुपारेको फोहोरको डङ्गुर
अब त थुप्रीनु थालेको छ
तिम्रै साँघुरो चोरगल्लीहरुमा
जहाँ शिकार बन्ने गर्थ्यो
हरेक पल ईमान र अस्मिताहरु

कठै बरा ….
शवलाई दागबत्ती अर्पनु अघि नै
चुहाउँदै तप्कनाहरु आँसुका
टेकेर घुँडा, फैलाएर हात
बिछ्याउँदै ललना-बिलौनाको कार्पेट
एकसरो पूरै सामग्री सहित
सुन-भाउको हाजिरामा
मोल्नु परेको छ कीरियापुत्र
छँदाछँदै बाबू-बाजेको बिँडो थाम्ने
यही हो नी
पछिल्लो संस्कृतिको बान्की

हो साँच्चै
त्यहीँदेखि भयौ तिमी अछुत
बनाउँदा बनाउदै अरुलाई
हो त्यहीँदेखि

त्यसैले भाँडियो मन
आखिर म टालो नै हुँ
टाल्नैपर्छ कहिँ न कहिँ
भर छैन तिम्रो अब
टाल्न थाल्छु मेरै पगरी
थमाइराख्यो पुर्खाले मलाई
पारेको टुक्राटुक्रा तिमीले नै हो
टुक्राटुक्रा

तथापि फिक्री छैन अब
सिकीसकेकोछु सिउनु
समातिसकेँ बिज्ञानको सियो-धागो
नियालेर सजगता पुर्वक
मेरो महान पुर्खाको आँखा
उतारेर दुरुस्तै फेरि
जोडिनेछ मुन्धुमको हाडखोरहरु
चिथोर्दै आयौ
तिम्रा ती उछृङ्खलताको
दाह्रा उध्याई उध्याई

स्मरण रहोस्
सोल्टी लाटोकोसेरोले
मासु केलाई खाएर छाडिराखेको
निछा खेवामाको हाडखोरहरु बटुलेर
जोड्दै प्रत्येक अंग अंगको सार
उभ्याएर अस्तित्वको इतिहास
रचीदिने महान नाना तोयामाहरु पनि
यतै कतै तान बुनिरहेकै होलान्
रिसीवा र लहरी गाउँदै
शिली नाचिरहेकै होलान्

भित्रै देखि
घरीघरी भक्कानिँदै होलान्
सम्झी सम्झी दुर्गति
माइती खोक्चिलीप्पाको
झझल्को आईरहेकै होला
अल्लो केलाईरहेकै होलान्
धागो बाटिरहेकै होलान् !

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्