सन्जिब राई, मकाउ – कोरोना भाइरसका कारणले रोजगारी गुमाएका नेपाली मकाउबाट हङकङ ट्रान्जिट भएर आज नेपाल फर्केका छन् ।

मकाउ रहेका नेपालीहरु कोरोनाका कारणले रोजगारी गुमाएका,श्रम सम्झौता थप नभएका, राजिनामा दिएका र बाध्याताले छुट्टीमा गएका एक जना नावालक सहित मकाउबाट ३० जना नेपाली बुधबार हङकङ हुँदै नेपाल फर्केका हुन् ।

एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार ३१ जना नेपाली नेपाल फर्कने तयारी रहेकोमा पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो हुँदा एक जना मकाउमा नै रोकिएका छन् । आज मकाउबाट ३० जना मकाउ अध्यागमन पास भएर हङकङ हुँदै नेपाल फर्केका हुन् ।

नेपाली महावाणिज्य दूतावासको विशेष आग्रहमा मकाउ सरकारले बुधबार बिहानै मकाउ अध्यागम विभागले अध्यगमन खोलेर ३० जना नेपालीलाई नेपाल फर्कन अनुमति दिएको हो । अध्यक्ष गुरुङका अनुसार ‘दूतावासले नै रिजर्भ गरेको बसमा नेपालीहरु हङकङ पुगेका थिए ।

महावाणिज्य दूतावास हङकङ र एनआरएनए मकाउको सहयोगमा मकाउमा रहेका नेपालीहरु नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका हुन् । नेपालीहरुका लागि हङकङ हुदै ट्रान्जिट हुन पनि भिसा चाहिन्छ । हङकङ ट्रान्जिट गर्ने भिसा नेपाली महाबाणिज्य दूतावास हङकङले आफ्नै खर्चमा मिलाइ दिएको थियो ।