Logo

झण्डाको विपर्यास यात्रा – भूपाल राई


झण्डा-प्रशङ्ग : एक मिटर रातो कपडा, केही रङ्ग र केही सापेक्षित न’श्लका टोटेमहरु उनेर जब बनाइन्छ कुनै झण्डा । र, जब बनाइन्छ त्यसलाई कुनै आस्थाको कथित `राष्ट्रीय झण्डा´ तब त्यो निरपेक्ष रहिरहदैन । निरपेक्ष नरहे पछि यो स्वभाविक छ कि त्यहाँ कसै कसैले आफ्नो अनुहार भेट्दैनन ।

आफुलाई बिम्बित पाउदैनन । आफुलाई नपाए पछि झण्डा च्या’तिनुजल्नुलाई स्वभाविक मान्नु पर्छ । इतिहासमा यसरी धेरै पटक धेरै ठाउँ झण्डा जलेका छन् । यो कृया आफ्नो खोजको सामान्य प्रतिक्रिया हो । र यो कुरा पनि बुझ्न जरुरी छ कि नेपालको राष्ट्रीय झण्डा जलाउन कुनै मङ्गोल अर्गनाइजेसनको कार्यकर्ता भैरहनु पर्दैन ।

पुनश्च : ठिक यतिखेर सम्झिरहेछु २०७०/७१ साल । र सम्झिरहेछु आफैलाई । जतिखेर आफैबाट पनि राष्ट्रीय झण्डाबारे एक कविता लेखिएको रहेछ । अखण्ड सुदुर पश्चिमाञ्चलको आ’न्दोलनमा फहराइरहेको राष्ट्रीय झण्डाबारेको त्यो कविता यहाँ मात्र स्मरणको लागि ।

झण्डाको विपर्यास यात्रा

त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगिन राजकुमार जस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा

थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुवोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा

घुमाउँदै चन्द्र सुर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
काट्दै पहिचानको सयौँ लाख टाउको
किन उत्रीरहेछ धर्मयु’द्दमा
राष्ट्रीय झण्डा ?

कहाँ पुग्ला यो
यसरी मान्छेको स्वायत्त हावामा
काटेर मान्छेकै पखेटा ?
कहाँ पुग्ला
दस लाख दुवोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालिन तरवार ?
कहाँ पुग्ला
साढे सत्र लाख कमैया ढाडमाथि
उभिएर अखण्ड अञ्चल ?
र कहाँ पुग्ला
तराईको तलुवामाथि
टेकेर पहाडको बुटजुत्ता ?

मध्ययुगिन राजकुमार जस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रीय झण्डा ?

झोसेर वंशज-आगोको वृक्ष
नानिहरुको खाली दिमागमा
जो हुर्किरहेछ हरेक पुस्ता
नानिहरुकै गिदि चाटेर
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानिहरुको माटोमा ?
कहाँ छ सुर्यवंशको ईतिहास
तिनिहरुको माटोको किताबमा
र किन उत्रीन्छ
फेरि तिनिहरुकै बि’रुद्द
वंशावली लेखिएको
एक मिटर रङ्गिन कपडा ?

के त्यही हो राष्ट्रीय झण्डा ?

अखण्डताको हावा हम्किदै
जो उभिन्छ
पर…पर कुनै रातो चिज
र फहराउँछ
नानिहरुकै पहिचान वि’रुद्द
के त्यही हो राष्ट्रीय झण्डा ?

ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड अञ्चलाधिसहरु
ठिक उल्टो यात्रामा छ
यतिखेर राष्ट्रीय झण्डा
जो क्रमश फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतिततिर
कृपया, रोक त्यहिँनिर झण्डालाई
र आशिन गराऊ
त्यही सनातन गद्दिमा

नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
`मान्छे र झण्डा´
र उठ्नेछन केही स्वभाबिक प्रश्नहरु –
`कि रोकेर त्यही बिन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सक्दैन राष्ट्रीय झण्डाजस्तो
राष्ट्रीय झण्डा ?

किन बिचाराधिन छ
यतिखेर राष्ट्रीय झण्डा ?

(बरिष्ठ कबी तथा लेखक भूपाल राईको फेसबुकबाट ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्