यो झण्डा खास जात र खास धर्मकै हो । यो झण्डामा हिन्दू वाहेकको आस्थाको कुनै प्रतिविम्वन छैन । यसमा कुनै अग्रगामी या लोकतान्त्रिक तत्व पनि छैन । यो झण्डामा सात सालदेखि त्रिसठ्ठी सालसम्म लड्ने र मृत्युवरण गर्ने महान सहिदहरूको कुनै चिनो चपेटो छैन ।

नितान्त धार्मिक मान्यता तथा हिन्दूहरूका आराध्यदेवहरूका प्रतिक छन् यसमा । त्यो भन्दा बढी छ भने चन्द्र वंशी र सूर्यवंशी राजाहरूको कुरा छ । गणतन्त्र लखर लखर एक थान गीत बोकेर आयो । त्यसैले पुरानै झण्डाले हामीले चित्त बुझाउनु परेको छ। त्यसो भनेर झण्डा जलाएर भलो हुन्छ त ? अहिले यो देशको झण्डा पनि हो भनेर बुझौं है । जलाउनै पर्ने त सिङ्गै राज्यसत्ता पो हो !

यसरी झण्डा जलाएपछि सबैभन्दा उत्तेजित भ्रष्ट तथा निरङ्कुश राज्य सत्ता हुन्छ । त्यसपछि “राष्ट्रवादी”हरु उत्तेजित हुन्छन् । समाजका घोर दक्षिणपन्थीहरूले फूर्तिफार्ती गर्ने अनावस्यक अवसर पाउछन् । झण्डासँग जोडिएर इमान्दार देशभक्तहरू पनि रिसाउछन् । किनकि जति नै झुर भए पनि झण्डाले देशको भावनाको प्रतिनिधित्व गरेको हुन्छ ।

त्यसैले यस्तो केटाकेटी हठ परित्याग गरौं र ठण्डा दिमागले सोचौं । हामीले लड्नु पर्ने लडाइँ निकै लामो, निकै जटिल र निकै कठीन छ। झण्डा जलाएर देश बदलिदैन । सत्ता ढल्दैन र बराबरी न्यायको दिन आउँदैन । बरु साम्प्रदायिक किचलो जन्मन्छ र राम्रै मनसायले खनेको बाटो पनि नरक पुग्न सक्छ भनेजस्तो हुन्छ ।

म यो देशका उत्पीडित जाति तथा विभिन्न समुदायको दिलभित्र उम्लिरहेको विद्रोहको म्याग्मालाई थोर बहुत अनुभूति गर्छु ।त्यसैले शान्त तरिकाले यो मैत्रीपूर्ण सुझाव दिएको छु । राष्ट्रिय झण्डा जलाएको सामाग्रीबाट उत्तेजनामा आउनु भएका मित्रहरूलाई पनि म अपिल गर्छु कि – यही देशका भाइ-बैनीहरू जसको आत्मा कैयन ऐतिहासिक कारणले विथोलिएको छ । उनीहरूलाई अभद्र गाली गरेर होइन बरु प्रेमपूर्वक दुखेको घाऊमा सुम्सुम्याउनोस् र अव यसो नगरौं भनेर सम्झाउनोस् ।

(याे सामग्री तिमल्सिनाकाे फेसबुकबाट लिइएकाे हाे ।)