‘विज्ञान पढ्ने छोराछोरी’ कबिता – बलराम तिमिल्सिना
विज्ञान पढ्ने छोराछोरी !
सत्यलाई सत्य जसरी नै बुझुन भनेर
विज्ञान पढाएकी छोरीले
जव भनिन्-
‘आज त मंगलवार
मेरो व्रत छ ममी !’
म भीरको टुप्पोबाट खसेजस्तै भएँ
सोच्न थालें-
हिजो आज विज्ञान ब’हुलायो कि कसो
या विज्ञानले घु’ष खायो धर्मसँग
या विज्ञान शिक्षकले ग’द्दारी गरे
या कलेजले दुई नम्बरी व्यापार गर्यो
टाउको फनफनी घुमिरहेछ !
विज्ञान पढाएर
डाक्टर बनाएकी छोरीले
विरामीको अप्रेशन गर्नुअघि
जव हात छात्तीमा राखिन
र भनिन् सुस्तरी-
“प्रभु मलाई सफल बनाइदेऊ !”
देखिसकेपछि यो कारुणिक दृश्य
मनमनै सोचें-
भगवान भरोशा नै हुने थियो भने
सिव लिङ्ग पूज्न नपठाएर मैले
किन विज्ञान पढाएँ हुँला छोरीलाई ?
फेरि सोचें-
विज्ञानको पाठ्यक्रमभित्र
पाजी ईश्वर कसरी छिर्यो
र खराव गरिरहेछ छोरीको दिमाग ?
पल्ला घरे दाजुले भने
पाइलट पढाएको उनको छोराले पनि
प्लेन चढ्नु अघि
बोको का’टेर पूजा गर्यो रे
प्लेनमा चढिसकेपछि
उसै गरी पुकार्यो रे ईश्वर
‘हेर भाइ छोराले खै के पढ्यो पढ्यो ?
ईश्वरले सिकाउने भए प्लेन उडाउन
किन पढाएँ होला विज्ञान ?
किन पठाइँन होला काँसी ?
किन सकाएँ होला पचासौं लाख ?’
दाइ वर्वराउँदै थिए खै के के के के
मेरो मनले अनुमान लगायो-
विज्ञान भनेर पक्कै हामी
पढाइरहेछौं नक्कली कुरा !
जव जव
विज्ञान पढेका छोराछोरी
भू’तसँग डराउँछन्
भगवानसँग वर माग्छन्
मन्दिरमा सबैभन्दा बढी भिड
जव विज्ञान पढ्नेहरू नै लाग्छन्
मलाई भन्न मन लाग्छ-
हामी हाम्रा छोराछोरीहरूलाई
रोगले थलिएको विज्ञान पढाइरहेछौं
जुन विज्ञान
मृ’त्यु शैयाँमा छटपटाउँदै छटपटाउँदै
भनिरहेछ सुस्त सुस्त-
‘आखिर श्रीकृष्ण रहेछ एक !’
२०७७|०४|२५, भक्तपुर। (लेेेखकको फेसबुकबाट लिएको हो ।)



