Logo

‘तिम्राे आफ्नो केही छैन’ कबिता-बलदिप प्रभाश्वर चाम्लिङ


तिम्राे अाफ्नाे केही छैन

अरूको इतिहास लेख्दैलेख्दै जाने
आफ्नो इतिहास मेटाउँदैमेटाउँदै जाने
अरूको लागि मर्न जान्ने
आफ्ना लागि बाँच्न नजान्ने
ए रैथाने !
तिमी कस्ता बहादुर हौ ?

संसारका बहादुरले राज्य खान्छन्
तर तिमीले भात मात्र खान्छौ
संसारका बहादुरको खल्तीमा देश हुन्छ
तर तिम्रो खल्तीमा ज्यालामात्र हुन्छ
हे रैथाने !
तिमी कस्ता बहादुर हौ ?

आफ्नै आदिम अस्तित्वको विराषद फाँडिदिने
गोर्खालीमात्र जन्माइदियौ,
अर्कैको लागि घाम नअस्ताउने देश कमाइदिने
लाहुरेमात्र जन्माइदियौ,
घरेलु निरंकुशताको किल्ला भत्काएर
परजीविहरूलाई सिंहाशन थमाइदिने
भोलन्टियरमात्र जन्माइदियौ,
आदेश र स्वेच्छा नखुट्याउने
लाउकेमात्र जन्मायौ,
तर तिमीले अहिलेसम्म
छोरा जन्माउन सकेनौ
नेपाली जन्माउन सकेनौ
हे रैथाने !
तिमी कस्तो बहादुर हौ ?

तिम्रो टाउको छ, तर मष्तिष्क तिम्रो होइन
तिम्रो बोली छ, तर शब्द तिम्रो होइन
तिम्रो आँखा छ, तर दृष्य तिम्रो होइन
तिम्रो जिब्रो छ, तर स्वाद तिम्रो होइन
तिम्राे नाक छ, तर बास्ना तिम्राे हाेइन
तिम्रो हातपाखुरा छ, तर कर्म तिम्रो होइन
तिम्रो खुट्टा छ, तर बाटो तिम्रो होइन
तिम्रो पौरख छ, तर उपलब्धि तिम्रो होइन
तिम्रो बहादुरी छ, तर विजय तिम्रो होइन ।

भाले जनावरले आमा चिन्दैनन्
भाडे सिपाहले देश चिन्दैनन्
भाटे बहादुरले दुश्मन चिन्दैनन् ।

तिमीले
आफूले आफैलाई चिनेनौ
सृष्टिको माटोलाई चिनेनौ
आफू हिड्ने बाटो चिनेनौ
सूर्याका किरणहरू दौडने दिशाहरू चिनेनौ ।

तिमी बहादुरसंग
शरीर छ, जीवन छैन
हार्मोन छ, वीर्य छैन
तरुनी छ, नारी छैन
बच्चा छ, सन्तान छैन
तलब छ, सम्पति छैन
स्यावासी छ, प्रतिष्ठा छैन
वस्ती छ, ठेगाना छैन
नाम छ, पहिचान छैन
घर छ, राज्य छैन ।

अरूको इतिहास लेख्दैलेख्दै जाने
आफ्नो इतिहास मेटाउँदैमेटाउँदै जाने
अरूको लागि मर्न जान्ने
आफ्ना लागि बाँच्न नजान्ने
ए रैथाने !
तिमी कस्ता बहादुर हौ ?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्