राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख सहयोग गर्ने घोषणा गरेका छन्।

सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि आज त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोगको घोषणा गरेका हुन्।

“कोरोना भाइरसको महामारीका बीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो”, लामिछानेले भने, “यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ।” कोरोना महामारीमा कर्मचारी पीडामा बाँचिरहेको र आफ्नोतर्फबाट सकेको सहयोग गर्न पाएकामा खुशी लागेको लामिछानेले बताए।

“मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ”, उनले भने, “मैले सानो सहयोग गर्न खोजेको छु।” मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उनको भनाइ थियो। हाल त्रिवि मैदानमा १४ कर्मचारी काम गर्दै आएका छन्।