एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ ।

ला लिगा अन्तर्गत शनिबार उपाधि दाबेदार क्लब बार्सिलोनाले सेल्टा भिगोको सामना गर्नेछ । बार्सिलोनाले सेल्टासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

सेल्टाको मैदानमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ । सहज प्रतिद्वन्द्वी सेल्टालाई हराएर बार्सिलोना उपाधि होड कायम राख्न चाहन्छ । यस्तै बार्सिलोना घरेलु टोलीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ६८ अंक जोडेको छ । र, सेल्टालाई पराजित गरेमा बार्सिलोनाले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

सेल्टा ३३ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ । घरेलु मैदानमा बार्सिलोनालाई हराएर सेल्टा अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेससँग खेल्नेछ ।

त्यस्तै ओसासुनाले लेगानेस तथा एथ्लेटिक बिल्बाओले मालोर्कासँग खेल्नेछ ।