युगौँ भयो सुतेको त्यो
मुलढोकाको सामुन्ने
न चौकीदार नै हो उ
तैनाथ छ तैपनि
सधै त्यहीँ, आसनमा

लुकीछिपी सदियौँ त्यसले
हसुर्नै सम्म हसुरेछ
शुतीशुती निमिट्यान्नै
तर पनि भेटिँदैनथे साक्षीहरु
देखिजान्ने कोही !

अति नै रोचक छ कथा
साँढे त देखिराकै हो सबैले
तर थिएन चिनोदशी सम्म
मलमुत्रको
खाएको पनि सत्य नै हो दानापानी
युगौँ युग सम्म उत्तिकै
र त अदभूतको छ बानी यसको
त्यसैले त थामेको छ
उसको स्वर्ग

भोजन, कृतनको जोहो
कैलाशकुटको फेदीमा
त्यो पनि सहगोत्रीहरुबाटै
नत्र डराउछ अचाक्ली नै ढल्ला कि
धरहरा झैँ मुलखम्बा ?

सोड्काएर त्यसको ढाडमा
नयाँ युगको आलो सिर्कनाले
तङ्ग्राएको थियो बल्लतल्ल
त्यहिँ देखि यता त हो नि
बल्ल जम्मा हुनथालेको छ
मलमुत्रहरु धेरथोर,

तब पो खुल्यो त भेद
पहिराएर पत्लुन पहेँलै
गाउनले ढाकेर झोलीका झोली
निक्कै गोप्यताको चोरबाटो हुँदै
पुस्तौंनी बक्यौता भुक्तान झैँ
पुग्दो रहेछ खाको जति गोब्राउँन चाहिँ
उता ठूला मालिकको करेसा बारीमा
अनि पो उजाडिएछ त
आफू लुकेर सिकार मारिखाने
हरियाली खुवाहरु

यो सत्य हो कि
आर्जेको हिजो न उसले,
सोच्नुछ न भोलीकै लागि
स्वेच्छाचारी त्यो सुखवादी हो
हडपेर अरुकै सिरिखुरी
गर्छ मस्ती भर्छ पेट
र भन्छ, यही धर्म हो मेरो

आउथे त बिटुलिएर मालेताँत
हुद्दाका हुद्दा भक्तालु मालिकहरु
र छर्दिराख्थे सत्बीउसँगै छरपस्टै
सबसे महँगो कागजका
चिर्कुटाहरु
अनि धातुका चोइटाहरु
र पनि सधैं मलखाद रित्तो !

कस्तो आश्चर्य खाने, सुत्ने यहाँ
मल थुपार्ने उता !
कस्तो भक्त हो या त्याग
लुटी लुटी पराइहरुको गाँस
बचाउनु पर्ने आफ्नो मालिकलाई

हेर्दा हट्टाकट्टा छ ज्यान
ओकल्छ ढोंग पिट्दै
तँ भन्दा २३ औं गुणा ठूलो छु
तर जाँगर चाहिँ ठिक उल्टो छ उसको
ठगिखान ईश्वरको वरदान नै रे
नोक्सान जति ब्यहोर्ने यो
आम्दानी जति उसका पोल्टामा
जान्दैन शिवाय धुतिखानु
छ नि भुस्तिग्रे ज्यान
तर के काम डिँगाको

साँढे- यानेकि एक र आधा
अर्थात अर्ध रुप साँढेको
सार अर्थात हालीमुहाली
ठुला मालिकको

त्यति भइरहँदा पनि
अझै लामो लामो होस् आयु भनी
लिएर बिणा बाजागाजा व्यस्त छन्
मुलघरे ईश्वरको भक्तिगानमा
सद्दे आँखा भएका अन्धाहरु

चिच्याउँछ्न
रहलपहल कुँडोपानीको बलमा
जमाएर पुरानै खाल
कनिकनि एक स्वरमा
श्री साँढे नाथ कि – जय !!!
हाम्रा राजा हाम्रो देश – प्राणभन्दा प्यारो छ !!!!