–निनाम कुलुङ ‘मंगले’

नेपालको भगौलिक एकीकरणपछि यहांँका आदिवासी जनजाहिरुले आफ्नोे भाषा, भेषभुषा धर्म, संस्कार–संस्कृति, रीति–रिवाज, चाड–बाडहरु स्वतन्त्रतापूर्वक मनाउन नपाउने स्थिति सिर्जना भयो । घोषित रुपमै नेपाललाई ‘असली हिन्दुस्तान’ भनियो भने जंगबहादुरले मुलुकी ऐन (विसं. १९१०) बनाएरै धार्मिक रुपमा हिन्दुकरणलाई संस्थागत गरे । ‘फुटाऊ र, शासन गर !’ भन्ने नीति अनुरुप त्यो वेला स्थानीय प्रभावशाली व्यक्तिहरुलाई ‘राई’, ‘सुब्बा’, ‘देवान’, ‘मुखिया’ (त्यस्तो पदवी वा पगरी पाउने स्थानीयस्तरका ठालूहरुलाई जिम्मावाल अथवा तालुकदार भनिन्थ्यो भने अझै पनि त्यस्ता व्यक्तिहरुका सन्तानलाई फलानो जिम्मावाल अथवा तालुकदारको छारो वा छोरी भनी बोलाउने प्रचलन हटी सकेको छैन ।) आदि पदवी–पगरी दिएर भाषिक रुपमा खस नेपालीकरण र धार्मिक रुपमा हिन्दुकरणको अभियानलाई मूर्तरुप दिइयो । माथिको भूमिकाको अर्थ नेपालको भगौलिक एकीकरणप्रति यो पंक्तिकारको असहमति छ वा असहमत रहेको भन्ने होइन । यसरी हिन्दुकरण र राईकरणको मारमा परेका किराती जातिहरुमध्ये एक कुलुङ जातिमा रहेको सांस्कृतिक चाडबारे यहाँ छोटोमा चर्चा गर्ने प्रयास गरिएको छ ।

कुलुङ जातिमा रहेको विश्वास अनुसार आदिमकालमा किरात कुलुङ जातिहरुको पूर्खा धनमुख महाकुलुङमा बस्दथे । उनी निकै शक्तिशाली थिए । पाँच पाथीसम्मको पिठोको ढिडो खान्थे । कटुसको रुख उखालेर ल्याउनु उसको दिनचर्या हुन्थ्यो । धनमुख कुन शताब्दीका पूर्खा थिए भन्ने बारे यकिन प्रमाण नभेटिए तापनि नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघद्वारा कुलुङ भाषामा प्रकाशित “कुलुङ वंशावली २०५४” अनुसार उनी आजभन्दा २६ पुस्ता पहिले कुलुङ जातिको थिम्रा पाछा (अरु जातजातिहरुले थर भन्ने गरिएको) भित्रका कुलुङ पूर्खा थिए । कुलुङ जातिमा रहेको विश्वास अनुसार, पूर्खा धनमुखको पालामा एकसाल महाकुलुङमा ठूलो खडेरी प¥यो । विभिन्न देवी–देवता र सिमेभूमेको पूजाआजा गर्दा पनि पानी नपरेपछि सारा झारपात, अन्नवाली सुकेर गयो । फलतः अनिकालले मानिसहरु मर्न थाले । बाँचेका मानिसहरुले समेत अब अनिकालले मरिने भयो भन्दै शोक मनाउन थाले । त्यसै वेला एकदिन धनमुखले गाउँभरिका शक्तिशाली साँढेहरु भेला पारी सबैभन्दा शक्तिशालीलाई छानेर जुरोमा टोकेर बिरालोले मुसो मारे झैं गरी मारे । उक्त गोरु गाउँ हल्लिने गरी करायो । तुरुन्तै आकाशमा बादल गर्जे जस्तै सुनियो । त्यसपछि गाउँभरिका मानिसहरु विशेष चासोका साथ भेला भए । तर, त्यतिन्जेलमा गोरु मरिसकेको थियो ।

लोगो

संयोगले भनौ या दैवी शक्तिले भनौ, त्यसदिन गाउँमा मूसलधारे पानी प¥यो । त्यसपछि सारा बोट–विरुवा अन्नवाली सप्रियो र गाउँलेहरुमा अनिकालको डर हट्यो । यस खुशीयालीको अवसरमा गाउँभरिका मानिसहरुद्वारा आफूसँग भएको अन्न (मकै, कोदो, चामल, आदि) लिएर आई धनमुखले मारेको गोरुको मासुसँग भोज खाए । त्यस दिनदेखि धनमुखलाई सम्बोधन गर्ने नयाँ नाम (दप्पनिङ) धेरै खाने मात्र नभएर भगवानलाई समेत कुत्कुत्याई दिन सक्ने भनी कुलुङ भाषामा “निनाम्मा यासाम्मा चादुम्लु युप्लुमा” राखियो । त्यसरी पानी परेपछि बालीनाली सप्रिएर हावाले लहलहाउँछ भन्दै बाली हल्लिने पारामा गाउँका सम्पूर्ण मानिसहरु भेला भएर नाच्न थाले । सो नाच नाचेको दिनलाई कुलुङ भाषामा “चालिम” भनियो । नेपाली भाषामा भन्ने हो भने, “चालिम” भन्नाले ‘बाली पूजा’ हो । त्यो वेला यो उत्सवलाई ३/४ दिनसम्म मनाइयो र अन्तमा तोस कुइम (भूमे पूजा) गरी खुशियाली मनाइयो । खासमा कुलुङ समुदायमा ४/५ प्रकारको तोस भए तापनि चालिमदेखि तोससम्मको उत्सवमा पनि मुख्यतयाः याऊ तोस/फुर्तोस, येनाम तोस/सील तोस, र थो/थोनाम तोस आम प्रचलनमा रहेको छ ।

याऊ तोस नेपाली पात्रोअनुसार फागुन–चैत महिनामा, येनाम तोस जेठको अन्तिमतिर र थोनाम तोस असोज–कत्तिकतिर गरिन्छ । अहिले लकडाउन भएकोले सहर–बजारका कुलुङहरुले येनाम तोस तोस सिल नमनाए तापनि सोलुखुम्बु जिल्लाको महाकुलुङ भोजुपर जिल्लाको साल्पाफेदी, खाटाम्मा, दोभाने, चौकीडाँडा, कुलुङ लगायत गाउँहरुमा संखवासभाका कुलुङ ठलो भेला गरेर नभए तापनि घरघरमा तोस सील मनाउने छन् ।  र का साथ वर्षमा तीनपल्ट (बाली लगाउने र भित्र्याउने बेलामा) मनाउँने गरिन्छ ।

तर, वि.सं. १८३१ को पृथ्वीनारायण शाहको नेपालको भगौलिक एकीकरणपछि गोरु काट्न कानुनी रुपमै प्रतिवन्ध लगाइनुकासाथै दशैं तिहार जस्तो हिन्दु चाड जबरजस्ती अनिवार्य मनाउनैपर्ने बाध्यताका कारण “चालिम” उत्सव ओझेलमा पर्दै गयो । यो पर्वमा खाईने मुख्य खानेकुरोलाई कुलुङ भाषामा “वाक्पुम्” भनिन्छ । अहिले पनि “चालिम” उत्सव मनाउनका लागि महाकुलुङमा चालिमको २÷४ दिन अगाडिदेखि प्रत्येक घरबाट एक–एक ट्वाक (माना) मकै उठाइन्छ । मकै उठाउँदा कसैसँग गोरुको छाला छ भने सो पनि दिइन्छ र पकाएर खाई मनाइन्छ । यसरी पकाएको ‘वाक्पुम्’ गाउँभरिको मानिसहरुले खाएमा गाउँमा सहकाल हुन्छ, अनिकाल लाग्दैन भन्ने मान्यताका कारण परदेश गएका घरका आफन्तहरुलाई समेत ‘वाक्पुम्’ सुकाएर राखिदिने चलन छ । यसरी “चालिम” मनाउने साझा ठाउँलाई कुलुङ भाषामा “चालिमखम” भनिन्छ । कानुनी रुपमा “चालिम” उत्सवमा हल गोरु काट्न प्रतिबन्ध लगाइएकोले (विसं १८३१ पछि) कुनै एक मानिसले गोरु कराए (डुक्रिए) झैं गरेर “पार है …” भन्दै जोडले कराएर भाँडामा राखिएको पानीमा स्याउला भिजाएर पानी परेझैं छरिन्छ । यसरी “चालिम” उत्सवको उद्घाटन गर्ने व्यक्तिले “पार है …” भनेर कराएपछि गाउँभरिका मानिसहरु पानी लिएर घरबाहिर निस्केर “पार है …” भन्दै कराउने प्रचलन अझै पनि छ । यो उत्सव ३/४ दिनको हुन्छ । जसमा ‘तोस सील’ अन्तिम दिनमा हुन्छ ।

ङली

हाल आएर “तोस सील” काठमाण्डौं लगायत (यो वर्ष यो कार्यक्रम हुँदैन) देशको विभिन्न भागमा नाच्ने गरिन्छ । तर, सामान्यतः सोलुखुम्बुको नचाई र काठमाण्डौंको नचाईमा कुलुङ जातिबीचमै पनि केही फरक रहेको छ । राईकरणको मारमा परेका अरु जातिहरुसँग त झन् मिल्ने कुरै भएन । जे भए तापनि किराती समुदायहरुमा आपसी सद्भाव भने निश्चितरुपमा बढाउँदै आएको मान्न सकिन्छ “–तोस सीलले” ।

‘नेपालको संविधान–२०७२’ ले किराती चाडहरु खुलारुपमा मनाउन पाउने बाटो खुला गरेको छ कि छैन ? भन्ने प्रश्न उठेको छ । यदि कुलुङ लगायत किरातीहरुले आफ्नो धार्मिक परम्परा र, विश्वासआनुसार गोरु काटेर चाडबाड मनाउन पाएनन् भने, आदिवासी कुलुङ लगायत अन्य किरातीहरुले लोकतन्त्रको अनुभूति गर्न सक्छन ? प्रश्न खडा भएको छ । किनभने, हालको संविधानमा मौलिक हक अन्तर्गत “नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कार, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने हक हुनेछ ।” भनिएको छ । त्यस्तै “प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्व कालदेखि चलिआएको आफ्नो धर्मको अवलम्वन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ” भनी लेखिएको छ ।

कुलु मोप्स

 

यसलाई विश्लेषण गर्दा किराती कुलुङहरुले गाई–गोरु काटेर खुलारुपमा उक्त संस्कृति मनाउन सक्ने देखिए तापनि संविधानको कतै कुनामा स्पष्टीकरणको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ “–तर कसैले कसैको धर्म परिर्वतन गराउन पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन ।”
यसले के देखाउंँछ भने कुलुुङ लगायत अन्य किरातीहरुले गोरु काटेर चालिम लगायत अन्य चाडहरु मनाउँंदा निश्चितै रुपमा हिन्दूहरुको धर्ममा खलल पुग्ने गरी लगाइएको परिभाषासँग मेल खाने देखिन्छ । किनभने, अझै पनि राष्ट्रिय जनावर गाई मानिएको छ । हुन त राष्ट्रिय जनावरको कुरो गर्दा अष्ट्रेलियामा कंगारुलाई त्यहाँको राष्ट्रिय जनावर मानिएको छ । तर, त्यहाँ बुडा–खाडा भएको र बढी भएको कंगारुलाई राज्यले नै मारेर मासु तथा छाला प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । तर, नेपालमा माथिको प्रस्टीकरणको आशय नेपालका आदिवासी जनजातिहरुले आफ्नो धर्म र मौलिक परम्पराअनुसार खुल्लारुपमा गोरु काटेर “चालिम” लगायत चाडहरु मनाउन पाउनु असम्भव प्रायः देखिन्छ ।

 

जसको फलस्वरुप आदिवासी कुलुृङहरुले पूर्ण स्वतन्त्रताको महसुस नगरी अर्को स्वतन्त्रको माग गर्ने सम्भावना रही नै रहन्छ । देशको सबै भागमा गोरु काट्न पाउनुपर्छ भन्नु पनि गलत कुरा हो । तर, धार्मिक विविधतालाई मिलाउन र त्यस्तो समस्याको सम्बोधन गर्नकै लागि पनि अहिले चलेको संविधान शंशोधनको कुरोमा यस्तो समस्याहरुलाई पनि मिलान गर्ने गरी शंशोधन गरे हुन्थ्यो । किनभने, अहिलेको कानुनमा ‘मामा चेला फुपु चेलाबीच विवाह गर्ने परम्परा भएको समुदायमा त्यस्तो विवाहलाई हाडनाता विवाह मानिने छैन ।’ भनेर व्यवस्था गरिएको छ । नत्र भने हालको यो लोकतन्त्र र गणतन्त्रले नथेगेर जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको माग गर्नेहरुको आवाज बढ्दै जान बेर छैन । त्यसैले अन्यत्र नभए तापनि किरात प्रादेशिक क्षेत्रहरुमा गोरु काटेर किरातीहरुले आफ्नो चाड मनाउन सकोस् । हिन्दूहरुको क्षेत्रमा प्रतिबन्ध लगाउँंदा पनि फरक पर्दैन । यस विषयमा एक पटक सरोकारवालाहरुले विचार गर्ने हो कि ?

(नोटः  थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com, लेखकको निजी बिचार हो । )