Logo

मुन्दुममा वनस्पती उद्यान एक परिचय तथा अवधारणा


टंक राई

मुद्धुम किरातहरुको जीवन दर्शन हो । मुद्धुम दर्शन, सिद्धान्त र ब्यवहारिक जीवनको आधारभुत मार्गदर्शन पनि हो । यो किरात समुदायको विश्वास र दर्शन हो ।

यससँग रितिरिवाज, जीवन दर्शन, धार्मिक सिद्धान्त, उपचार पद्दति, खोज र अनुसन्धान गाँसिएर रहेको छ । मुद्धुमको आलोकमा किरातहरुको सांस्कृतिक पक्ष निरन्तर समृद्ध हुदै आएको छ । सजिलो गरी बुझ्नका लागि यसलाई हिन्दुहरुको वेद, क्रिस्चियनहरुको बाइबल वा मुस्लिमहरुको कुरान जस्तै किरातीहरुको प्रमुख धर्मग्रन्थका रुपमा बुझ्न सकिन्छ ।

यस अन्तरगत रितिविधि, जीवन दृष्टि, उपचार पद्दति, दर्शन आदि बृहत विषय समेटिएको छ । यसभित्रको एउटा मूख्य पाटो वानस्पातिक क्षेत्र पनि हो । वानस्पातिक पाटोमा कर्मकाण्ड र विभिन्न प्रीय, अप्रीय कार्यहरुका लागि नभइ नहुने, पवित्र तथा औषधिजन्य बोट विरुवाहरु पर्दछन् । मुद्दुमले पवित्र र आवश्यकीय मानेका कतिपय वनस्पती लोप हुने खतरा समेत रहेको अवस्था छ । यस बारेमा खासै खोज अनुसन्धान समेत भएको छैन । हजारौं वर्षदेखि प्रयोग भइ आएका यस्ता वनस्पतिको आफ्नै खालको महत्व रहेको हुन्छ र यसले मानवीय समुदाय र जीवनमा समेत ठुलै महत्व राख्दछ ।

यस्तो वनस्पतिहरुलाई संकलन, संरक्षण र अध्ययन गर्नका लागि सरल र सहज होस् भन्ने उद्देश्यले यो उद्यान निर्माण गर्न लागिएको हो । १ नं प्रदेश किरात भूमि भएकाले र अझ खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ऐतिहासिक माझकिरातको केन्द्र भागमा पर्ने भएकाले पनि किरात संस्कृतिका हिसावले महत्वपूर्ण स्थान हो ।

यस्तो स्थानमा मुद्धुममा वर्णित:

(१) पवित्र बोटविरुवा,

(२) औषधिजन्य बोटविरुवा,

(३) संस्कारमा चाहिने सांस्कृतिक बोटविरुवा,

(४) किरातहरुको लागि नभइ नहुने बोटविरुवाहरु एकै ठाउमा लगाएर मुद्धुम बनस्पति उद्यान निर्माण गर्नु अनिवार्य जस्तै भएको छ ।

यो उद्यानमा यसरी संकलन गरिएको बोट विरुवाहरुको नेपाली नाम, अंग्रेजी नाम, बैज्ञानिक नाम र किराती नाम समेत राखेर अवलोकन गर्ने, अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा मात्र होइन पवित्र तिर्थस्थलका रुपमा विकास गर्ने योजना रहेको छ । यसैले यो काम गर्न स्थानीय जनता कम्मर कसेर लागेका छन् ।

उनीहरुको उत्साहलाई सबैतिरबाट प्रशंसा गरिएको छ । यो उद्यान निर्माण कार्य सम्पन्न भएपछि संस्कृतिको अध्ययन अनुसन्धान गर्ने, सामान्य जानकारी लिन चाहने, आफ्नो संस्कार र संस्कृतिसँग वनस्पतीको के सामिप्यता र अन्तरसम्बन्ध छ भनेर जान्न चाहने सामान्य नागरिक समेतले श्रोत केन्द्रका रुपमा उपयोग गर्न सहज हुनेछ । यसका साथै वनस्पती शास्त्रका विद्यार्थी र शोधकर्ताका लागि र आम विद्यार्थीका लागि पनि यो उद्यान अत्यन्तै उपयोगी हुने विश्वास गर्न सकिन्छ ।

किरातहरुका लागि त यो पवित्र उद्यान नै हुनेछ र आफ्नो संस्कार संस्कृतिमाथि गर्व गर्न उत्प्रेरित गर्नेछ । यो उद्यानको वाहिरी भाग तारवारले सुरक्षित गरिनेछ र सम्भव भएसम्म वा प्राकृतिक रुपमा यस क्षेत्रमा बसोबास गरिरहेका चराचुरुङगी, वन्यजन्तु आदिको संरक्षण गरिनेछ । यसभित्र सबै वनस्पतिसम्म सहज आवत जावतका लागि बाटो निर्माण गरिनेछ । यस उद्यानभित्र किरात पहिचान झल्काउने खालका स्क्लप्चरहरु, मुर्तिकलाहरु समेत राखिनेछ । सानो बैठक कक्ष, जानकारी मूलक सूचनाहरु, विश्रामस्थहरुको समेत व्यवस्था गरिनेछ । मनोरञ्जक दृष्यहरुको समेत जोहो गरेर यसलाई आकर्षक बनाइने छ । यसले गर्दा ज्ञान आर्जनका लागि मात्रै होइन मनोरञ्जनका लागि समेत यो एउटा गन्तब्य हुनेछ । यो बनस्पति उद्यान (Muddum Botanical Garden) खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जालपामा स्थापना र सञ्चालनका गर्न लागिएको छ ।

यसका लागि आधारभुत सर्वेक्षण, सम्भाव्यता अध्ययन, परियोजना प्रस्ताव निर्माणका लागि आवश्यक बजेटको व्यवस्थाका लागि प्रदेश १ को सरकार समक्ष अनुरोध गरिएकोमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ छुट्याइएको छ । यसका लागि प्रदेश सरकार र यसका निम्ति प्रयास गर्नुहुने यस जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय प्रदेशसभा सदस्य ज्यूहरु धन्यवादका पात्र हुनुहुन्छ । यस रकमबाट उद्यानको लागि बृस्तृत परियोजना निर्माण र उद्यानको प्रारम्भिक काम यो वर्ष गरिनेछ । यसका अलावा स्थानीयको श्रम र सहयोगबाट समेत काम अघि बढाउने लक्ष राखिएको छ ।

यस उद्यानबाट हुने फाइदाहरु ः

क) यसले पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्छ र स्थानीय जनताको आय बृद्धि गर्छ ।

ख) सांस्कृतिक र धार्मिक सम्पदाको विकास र विस्तार गर्छ ।

ग) विद्यार्थी तथा अनुुसन्धानकर्ताहरुलाई श्रोत स्थलको रुपमा स्थापित हुन्छ ।

घ) किरात संस्कारका लागि सामग्री आपुर्ति गर्ने स्थानको रुपमा कायम हुन्छ ।

ङ) जैविक विविधताको संरक्षणको क्षेत्रमा महत्वपूर्ण योजदान दिन्छ ।

च) अनुसन्धानशालाका रुपमा विकास भई अनुसन्धानलाई सहज र सरल बनाउछ ।

छ) मनोरञ्जनका लागि समेत उपयोगी स्थल निर्माण हुन्छ ।

 

यो वर्ष गरिने कामहरु ः

क) हाल प्रस्तावित स्थानको सर्भे नापी, नक्सा तयार गरी बृस्तिृत परियोजना निर्माण,

ख) प्रस्तावित स्थानमा हुन सक्ने बोट विरुवाको बारेमा अध्ययन,

ग) आवश्यक पर्ने जग्गाको क्षेत्रफल निर्धारण र प्राप्ति,

घ) नर्सरी स्थापना,

ङ) बजेट निर्माण अहिलेसम्म भए गरेका कामहरु उद्यान स्थापना गर्ने स्थानको पहिचान गरिसकिएको र सो स्थानको जग्गा प्राप्तिका लागि आवश्यक कदम चाल्न छलफल भइरहेको छ ।

स्थानीय रुपमा उपलब्ध विरुवाहरु रोप्ने संरक्ष गर्ने काम भइरहेको । वडाको तर्फबाट उद्यान निर्माणका लागि समुदायसँग छलफल र प्रचार प्रसारको काम भइरहेको छ । उद्यान निर्माण र सञ्चालनको जिम्मेवारी यस उद्यान निर्माणका लागि स्थानीय सरोकारवालाको आम सहभागितामा निर्माण समितिको निर्माण गरी कामको थालनी गरिनेछ । समितिको काम सुशासन, पारदर्शी तवरले सम्पन्न गर्नका लागि आवश्यक पर्ने नीति नियमहरु सरोकारवालाको भेला मार्फत पारित गरी लागु गरिनेछ ।

यस कामका लागि स्थानीय सरकारको सहयोग अपेक्षा गरिएको छ । यसको दीर्घकालीन सञ्चालनका लागि एक स्वायत्त र अविच्छिन्न संस्था सरोकारवालाहरुको निर्णयले निर्माण गरिने छ । यो किरातीहरुको मात्रै गौरवको ईतिहास नभएर समग्र जनताको गौरव को आयोजना हो । यसलाई सफल पार्न सके यो एउटा उदाहरणीय काम बन्ने पक्का छ । यसैले यसलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । आर्थिक, भौतिक, बौद्धिक सहयोग सबैबाट पाए मात्र यो सफल हुनेछ । आशा एबम् विश्वास छ यसलाई सबैको सहयोग प्राप्त हुनेछ ।

(पूर्वसांसद टंक राईको जाल्पालिराई ब्लगस्पोर्ट डटकमबाट लिएको हो ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्