Logo

मुख्यत: नेपाल पढ्ने सिद्वान्त


गोपाल किराती

देशभक्त जनसाँस्कृतिक अभियानको मेची-काली पैदल यात्रा पूरा गरेर जब काठमाडौं पुग्यौ, लगत्तै देशमा कोरोना भाइरसको प्रकोप बढ्यो। नियन्त्रणका लागि भन्दै हिंडडुलमा सरकारी बन्देज सुरु भैहाल्यो। करिब १५ दिन जत्ति विभिन्न पुस्तकहरु पढेर बन्देजको लाभ उठाउन लागियो। वीचवीचमा सामाजिक सञ्जालमा केही धारणाहरु पनि सम्प्रेषण गरिरहियो।

त्यसपछि मानसिक चित्रमा घुम्दै आइपुग्यो एउटा कुरा- आखिर हामी त वैचारिक कार्यकर्ता हौं, किन नगर्ने सञ्जाल मार्फत वैचारिक काम? किन नगर्ने पार्टीपंक्तिलाई सैद्वान्तिक प्रशिक्षण? के मार्क्सवादी स्कुलिङ भनेको एउटा कोठामा प्रशिक्षक र प्रशिक्षार्थीवीच बिषयगत व्याख्या मात्र हो र? के आधुनिक प्रविधि माध्यमले सम्प्रेषण गरेको चाहिँ मार्क्सवाद-लेनिनवाद-माओवाद हुदैन र? हो, यसरी सञ्जालमा लागातार लेख्न थालियो, नेपाली समाजवारे सामान्य बिश्लेषण।

जब नेकपा (माओवादी केन्द्र) पुनर्गठनको ऐतिहासिक दायित्व निर्वाह गर्नैपर्ने समय उपस्थित भयो, तब गम्भीर विचार बिमर्शमा लाग्नै पर्यो। गहिरो बिमर्शक्रममा अनेक वैचारिक-सैद्वान्तिक प्रश्नहरु खडा भए। जस्तो कि नेपाली विशिष्टतामा मार्क्सवादको प्रयोग कसरी गर्ने? के यथास्थितिमा मार्क्सवादको प्रयोगशाध्य छ र? दलाल पुजीवादी राज्यसत्ताको संसदीय राजनीतिमा यथास्थितिमा मार्क्सवादको प्रयोग किमार्थ शाध्य छैन। अब के गर्ने? स्वभाविक निश्कर्ष रह्यो-मार्क्सवादको विकास गर्नुपर्छ। तर, कसरी गर्ने? विध्यमान अन्तर्राष्ट्रीय तथा राष्ट्रीय परिस्थितिको नेपाली समाजलाई मानसिक चित्रमा दह्रोगरी राखेर दर्जनौं मार्क्सवादी पुस्तकहरु अध्ययनमा लागियो। गज्जबको समाधान फेला पर्यो, नेपाली विशिष्टतामा मार्क्सवादको विकास गर्ने।

हो, यसरी नेपाली विशिष्टतामा मार्क्सवादको विकास केन्द्रीत अध्ययनबाट तीन सैद्वान्तिक प्रस्थापना निर्माण गरियो। सर्वप्रथम फ्रेडरिक एङ्गेल्सको विचार- “सिद्वान्त प्रकृति र मानव जातिमाथि थोपर्ने होइन, बरु त्यसबाट झिकिन्छ।” दोस्रोमा लेनिनको विचार-क्रान्तिको मौलिक किसिम विकास गर्नुपर्छ र तेस्रोमा माओको विचार-मुख्यत: नेपाल पढ्नुपर्छ। माओले भनेका छन-“यूरोपको इतिहास पनि पढ्नुपर्छ, मुख्यत: चीनको इतिहास पढ्नु पर्छ। किनकि, हामी चीनमा क्रान्ति गरिरहेका छौ।” तब चीनमा क्रान्ति गर्न माओले मुख्यत: चीन पढे भने हामीले पनि नेपालमा क्रान्ति गर्न मुख्यत: नेपाल पढ्नै पर्छ। माओबाट सिकिएको यो सिद्वान्त पूर्ण रुपमा द्वन्दात्मक भौतिकवादी छ र यसरी निर्माण गरियो- “मुख्यत: नेपाल पढ्ने सिद्वान्त।”

२४ औं जनयुद्व दिवशको अवसरमा फागुन ०७५ मा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनले नेपाली विशिष्टतामा मार्क्सवादको विकास खातिर उपरोक्त तीन सैद्वान्तिक आधार स्वीकार गरेको छ। त्यसमध्ये यो संक्षिप्त आलेखको उद्देश्य मुख्यत: नेपाल पढ्ने सिद्वान्तवारे प्रकाश पार्नु हो।

दुश्मनलाई चिन्ने कुरा वस्तुगत परिस्थितिको ज्ञान राख्नु हो भने आफुलाई चिन्ने कुरा आत्मगत परिस्थितिको। यी दुई परिस्थितिगत ज्ञानको एकीकृत अभ्यासबाट मात्र ठोस परिस्थितिको ठोस विश्लेषण सम्भव हुन्छ। साथसाथै भनिन्थ्यो,- “जनसमुदाय भनेको पोखरीको पानी हो, क्रान्तिकारी भनेको माछा।”

सरकारी बन्देजको समय जे जत्ति अध्ययन तथा लेखन कार्य गरियो, यसलाई “कोरोना विमर्श” नाम दिने सोंच राखिएको छ। कोरोना बिमर्शक्रममा नेपाली समाज तथा यसको गुणात्मक परिवर्तन हेतु जे जत्ति रचनाहरु सार्वजानिक गरिए, एक जना माओवादी कम्युनिस्टको जीवनमा चित्त प्रशन्नता संगालिएको छ। जसबाट, बन्देज समयको अत्यन्त सदुपयोग गरिएको स्वत: स्पस्ट छ। परन्तु, बिमर्शक्रममा तथ्यको आधारमा सत्य प्रकाशित गर्दा, जसप्रति पूर्णतया मार्क्सवादी दृष्टिकोण अख्तियार गरिएको छ, दुई अतिवादी कोणहरु देखा परे, जुन खतर्णाक तथा निन्दनीय छन। ती निम्न प्रकारका छन:

१. दक्षिण एसियामा अवस्थित नेपाली समाज भारतवेष्ठित बर्णब्यवस्थाद्वारा ग्रस्त छ। त्यसैले जब नेपाली समाजको भौतिकवादी विश्लेषण गरिन्छ, त्यहाँ जातजाति नै जातजाति ओइरिएर आउँछ। एक जना सर्वहारा क्रान्तिकारीको परम चाहना हुन्थ्यो कि सिधै वर्गको मात्र कार्यक्रम बनाएर वैज्ञानिक समाजवाद हासिल गर्न पाए नेपाली क्रान्ति कत्ति सहज ढंगले सम्पन्न गरिन्थ्यो होला! तर, यो प्रकृति, यो समाज अनि समाजनिहित अनेक चिन्तनधारा कोही एक जना ब्यक्तिको इच्छा र नियन्त्रणमा रहँदैन, बरु त्यो स्वतन्त्र गतिमान रहन्छ। त्यसैले त प्रकृति, समाज र चिन्तनवारे अध्ययन गर्न मार्क्सवादी विज्ञानको आविष्कार गरियो, जसलाई कामको पथप्रदर्शक सिद्वान्त तुल्याएर अघि बढेका हामीहरु मार्क्सवादी कहलिएका छौं।

तथ्यको आधारमा सत्यको खोजी गर्नु माओ प्रदत्त भौतिकवादी नियम हो। जब कुनै मार्क्सवादी यो नियमको प्रयोग गरेर नेपाली समाजको इतिहास एवं अर्थ-राजनीतिलाई हेर्दछ, वस्तुत: उसले वर्ग र वर्ण गुथ्थिएको पाउँछ। दक्षिण एसिया, जसमा नेपाल अवस्थित छ, यहाँको वर्गसंघर्षको मौलिक जटिलता यही “गुथ्थाई” हो। जटिल गुथ्थाईको वैज्ञानिक पहिचान र ठोस निरुपण नगरी कसरी हुन्छ यहाँ समाजवादी क्रान्ति? लौ मानौं कि क्रान्ति भयो रे, त्यसको भोलि बिहान दलित र ब्राम्हणको सम्बन्ध एकाएक कसरी समाजवादी हुनेछ? मधेसी र पहाडीको सम्बन्ध एकाएक कसरी समाजवादी हुनेछ? अति सीमान्तकृत समुदाय र राजकीय अहंकारवादीहरुवीचको सम्बन्ध कसरी समाजवादी हुनेछ? जसको, वैज्ञानिक संश्लेषण बिना क्रान्तिद्वारा प्राप्त समाजवादी राज्य कसरी सञ्चालन गर्ने हो?

अझ त्यस अगावैको प्रश्न, के उपरोक्त प्रश्नको वस्तुगत र नीतिगत जवाफ तयार नगरी अबको क्रान्तिमा कसैले बिस्वास गर्ला? देशमा निहित अनेक खाले अन्याय र उत्पीडन समूल अन्त्य गर्ने सैद्वान्तिक र ब्यवहारिक प्रत्याभूति बिना आशन्न क्रान्तिमा हाम्फाल्न कोही तयार होलान? जबकि, मदन भण्डारीदेखि प्रचण्डसम्मको संसदवादी बिसर्जनले यहाँ घृणित प्रतिक्रान्तिको दुर्गन्धित आहाल जमाएको स्थिति छ। त्यसमाथि क्रान्ति र क्रान्तिकारीहरु बिरुद्द भ्रम छर्ने, अनेक घेरा हालेर शखाप पार्ने बाह्य शक्ति र त्यसका घरेलु दलालहरु दाह्रा नङ्ग्रा फिजाउँदै झम्टिन आईलाग्ने छन। तब सर्वहारावर्गको भ्रम चिर्ने, घेरा तोड्ने र प्रत्याक्रमण गर्ने जननीति के हुनेछ? हो, त्यही जननीति निर्माणको सत्प्रयास हो- कोरोना विमर्श।

अत: स्मरण हुन्छ, जनयुद्वको समय बारम्बार उद्धृत गरिन्थ्यो चिनियाँ युद्वशास्त्री सुन्जुको भनाई कि-“दुश्मनलाई चिन र आफुलाई चिन। त्यसपछि तिमी युद्व जित्न सक्छौ।” ख्याल रहोस, दुश्मनलाई चिन्ने कुरा वस्तुगत परिस्थितिको ज्ञान राख्नु हो भने आफुलाई चिन्ने कुरा आत्मगत परिस्थितिको। यी दुई परिस्थितिगत ज्ञानको एकीकृत अभ्यासबाट मात्र ठोस परिस्थितिको ठोस विश्लेषण सम्भव हुन्छ। साथसाथै भनिन्थ्यो,- “जनसमुदाय भनेको पोखरीको पानी हो, क्रान्तिकारी भनेको माछा।”

पोखरी जत्ति विशाल र पानी सफा हुन्छ, माछा त्यत्तिकै सप्रन्छ। लेनिनको समय जस्तो औध्योगिक मजदुर अनि माओ र पुष्पलालको समय जस्तो लडाकु किसान उपलब्ध नहुने यथार्थतामा समाजवादी क्रान्तिको विशाल पोखरीमा आम उत्पीडित जनसमुदायलाई कसरी बदल्ने? पोखरीलाई कसरी स्वच्छ तुल्याउने? हाम्रो प्रयास यसतर्फ हो।

तर “मान्छे ताक्छ मुढा, बन्चरो ताक्छ घुँडा” चरितार्थ गर्ने चिन्तन प्रबृत्तिले हिजो पनि यहाँ क्रान्ति हुन दिएन, भोलि पनि हुन दिदैन, जसले ऐना हेरेर नेपाली समाजको समग्रतालाई बुझ्ने गर्दैन। अर्थात वर्ग र बर्णवीच “गुथ्थाई” को जटिलता देख्ने तथा फुकाउने इमान्दारिता र क्षमता राख्दैन। अर्थात चिन्तन र कर्मको आधारमा होइन कि मानिसको मूल्याङ्कन नितान्त जन्मको आधारमा गर्छ र तथ्यको आधारमा प्रकट सत्य स्वीकार गर्ने सामर्थ्य राख्दैन।

नेपाली समाजको भौतिकवादी बिश्लेषणमा आउने जातीय प्रश्न, जुन नेपाली वर्गसंघर्षको आधारभूत प्रश्नमध्येमा पर्दछ, सुन्ने र देख्ने बित्तिकै उत्तेजित हुने, किञ्चित पचाउन नसक्ने, बरु रकमी तरिका अपनाएर भाँडभैलो मच्चाउने प्रबृत्ति नेपाली क्रान्तिको गम्भीर समश्या हो। त्यस प्रबृत्ति बिरुद्द कथित उपल्लो जातजाति र पहाडिया समुदायबाट आएका एवं पुरुष मार्क्सवादीले सर्वप्रथम लड्नुपर्छ र अरु समुदायबाट आएका र महिला मार्क्सवादीले त्यसमा सहयोग गर्नुपर्छ। जसले गर्दा वर्गभित्र घुसेर वर्गसंघर्षलाई जटिल तुल्याउने गुथ्थाईको गाँठो फुकाउन सकियोस्। यसरी हामीहरु पूर्व जातीय अवस्था मुक्त-वर्गको प्रश्नमा सर्वहारावर्गीय तहमा उठेर कम्युनिस्ट पार्टीको सक्षम कमरेड बन्न सक्दछौं।

२. अर्को, सहायक समश्याको रुपमा खसआर्यलाई जन्मजात शत्रु ठान्ने प्रबृत्ति देखा पर्न खोज्दैछ। उसले पनि के बुझ्नु पर्दछ भने जन्मले होइन, चिन्तन र कर्मले मानिसको भूमिका निर्धारण गर्छ। कोही मानिस जन्मनु अघि गर्भाधारणको समयमा निश्चित समुदाय वा क्षेत्रको आमाको कोख उसले रोजेको हुदैन। आमाको कोख रोज्ने सुबिधा कसैलाई हुदैन। अत: उत्पीडनकारी इतिहासको क्षेतिपूर्ति दिलाउने मार्क्सवादी मुल्यमा साझेदारीको नेपाल निर्माण वैज्ञानिक मार्गचित्र हो, भनेर स्वीकार गर्नुपर्छ। हिजो निश्चित समुदायका मानिसले ढलिमली गरेको सम्झेर आफुले पनि मौका पाउँदा त्यस्तै ढलिमलीको माग गर्नु यथास्थितिवाद तथा बदलाभाव मात्र हुनेछ, जसले अन्तत: अग्रगमनको नभएर प्रतिगमको सेवा पुर्याउने हुन्छ।

नेपाली समाजमा जाति बिनाको मानिस पाइँदैन। अत: वर्गको साथसाथै जातिगत समुदाय नै कम्युनिस्ट पार्टीको संगठन स्रोत हुने गर्दछ। जुन जातिहरुबाट प्रकट हुने राजकीय अहंकारवाद तथा स्थानीय अहंकारवाद दुवै वर्ग चरित्रको दृष्टिले निम्न-पुजीवादी चिन्तन प्रबृत्तिका समश्याहरु हुन। जनताको तहमा निम्न-पुजीवाद क्रान्तिको एक चरणसम्म आपत्तिको बिषय हुदैन, तर कम्युनिस्ट पार्टीमा निम्न-पुजीवादी चिन्तन प्रबृत्ति स्वीकार्य हुन सक्दैन। किनकि, वर्गको रुपमा कम्युनिस्ट पार्टी सर्वहाराको पार्टी हो। सर्वहारावर्गको संगठनमा गैरसर्वहारा चिन्तन प्रबृत्ति स्वीकार्य हुने कुरै आउँदैन।

अन्त्यमा, उपरोक्त वैचारिक-साँस्कृतिक उचाईबाट मुख्यत: नेपाल पढ्ने सिद्वान्तलाई इमान्दारितापूर्वक आत्मसात गरी ब्यवहारिक अभ्यासमा दृढतापूर्वक डट्ने हो भने पार्टी पुनर्गठन दस्तावेजमा भनिएको माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतलाई निरन्तता दिने मात्र होइन, अग्रगामी छलाङको उचाईमा उठाउने शक्ति आर्जन गर्न नेकपा (माओवादी केन्द्र) लाई कसैले रोक्न सक्दैन। कोरोना प्रकोपले नव-पुजीवाद वस्तुत: ढलेको छ। विश्व राजनीतिमा निकै ठूलो फेरबदल आउने स्थिति जो कसैले अनुमान गर्न सक्छ। नेपाली विशिष्टतामा मार्क्सवादको विकासलाई संक्षिप्तमा “नेपाली मार्क्सवाद” भन्न सकिन्छ। नेपाली मार्क्सवादको सुदृढ विकाससहित प्रयोगका निमित्त -अरु जे मन लाग्छ भन्दै गरून्, माओवादी कम्युनिस्टहरु सरासर क्रान्तिकारी पार्टी निर्माणमा डट्नुपर्छ।

(गोपाल किराती नेकपा माओबादी केन्द्र पार्टिको अध्यक्ष हुनुहुन्छ ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्