गोपाल किराती

तत्कालीन नेकपा (माओवादी) नेतृत्वको सशस्त्र जनयुद्व नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीक आन्दोलनको सर्वोच्च सँश्लेषण थियो। अर्थात नेपालको इतिहासमा त्यो एक अभूतपूर्व राजनीतिक आन्दोलन थियो। सर्वहारावर्ग र उत्पीडित जनसमुहका निम्ति महान भएकैले साम्राज्यवादी तथा संशोधनवादीहरु त्यसलाई राक्षशीकरण गर्न लागिपरेका हुन। किनकि, नेपाली जनयुद्वले तिनको यैशआराम र अलौलिक सपनालाई एक पटक भताभुङ्ग पारिदिएको हो। त्यसैले जनयुद्वको अपराधीकरणद्वारा सर्वहारावर्ग र उत्पीडित जनसमुहलाई कहिल्यै उठ नदिन ती साम्राज्यवादी तथा संशोधनवादीहरु खुराफात मच्चाउँदैछन। माओको निधन र पेरुमा क. गोन्जालोको गिरफ्तारी उप्रान्त त्यस स्तरको नेपाली जनयुद्ववारे विभिन्न कोणबाट इतिहासमा निरन्तर समीक्षा अवश्य भैरहने छ।

प्रचण्ड-बाबुरामको पलायनका कारण नेपाली जनयुद्वको गर्विलो इतिहासमा कुनै आँच आउन सकदैन। जसरी, पेरिस कम्युनको संघर्षमा नेतृत्वमा रहेका ब्लाङ्कीको गद्दारीका कारण पेरिस कम्युनको इतिहासमा कुनै आँच आएन, जसरी चाङ्को थाओको गद्दारीका कारण चिनियाँ लम्बे अभियानको अथवा ल्यु शाओची र लिन पियाओको गाद्दारीका कारण महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहासमा कुनै आँच आएन। यो पृष्ठभूमिमा नेपाली जनतयुद्वका सबल र दुर्बल पक्षवारे, खासगरी नयाँ पुस्ताको नाममा यहाँ अत्यन्त सानो समीक्षा प्रस्तुत छ।

सबल पक्षवारे

१. माओवादी जनयुद्वले नै अन्तर्राष्ट्रीयस्तरमा नेपालीलाई गरीखान लागेको क्रान्तिकारी जनताको चिन्हारी दिलाएको हो। त्यसैले पश्चिमा मुलुकका मार्क्सवादीहरुले गीत लेखेर गाएका थिए ।

‘पूर्वको हिमालयतिर फर्केर हेर,
त्यहाँ नयाँ विश्व जन्दैंछ!’

ती मार्क्सवादीहरु स्वभाविक रुपमा सर्वहारा अन्तर्राष्ट्र्वादप्रति प्रतिवद्व थिए, जसले नेपाली जनयुद्वलाई सकारात्मक सन्देशका रुपमा त्यसरी अन्तर्राष्ट्रीयकरण गरे। नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुह अन्तर्राष्ट्रीय जगतका ती महान कमरेडहरुप्रति सदा लालसलाम अर्पण गर्दछन।

अन्यथा प्राकृतिक अर्थमा ८,८४८ मिटरको चोमोलुङमा, ऐतिहासिक अर्थमा लुम्बिनी तथा सामरिक अर्थमा भाडाको सिपाही आपूर्ति गर्ने गोर्खा भर्ती केन्द्र बाहेक अन्तर्राष्ट्रीय जगतमा नेपालको विशेष चिन्हारी के नै थियो ?

चोमोलुङमाको प्रश्नमा त्यो मानव परिश्रमको योग होइन। मान्यता अनुसार जब पृथ्बीको पुनस्संरचना भयो, तब तेथ्थिस सागर भासियो र त्यो ठाउँमा अग्लो पहाड खडा भयो। त्यस पहाडमा सदाबहार हिउँ पर्ने र जम्ने भयो। ठिक दक्षिणपट्टि नेपाल देश बन्न पुग्दा हामी नेपाली भयौं। कुरा यत्ति हो।

लुम्बिनी पनि योजनाबद्व मानवीय परिश्रमको सम्पदा होइन। कपिलवस्तुबाट देवदहतर्फ माइत हिँडेकी मायादेबीले बाटैमा नानी जन्माइन। त्यो स्थान लुम्बिनी थियो र लुम्बिनीमा जन्मेका ती नानी महान दार्शनिक बुद्व भए। यो पनि यत्ति नै हो।

२. माओवादी जनयुद्वले राष्ट्रीयस्तरमा चेतना निर्माणको ऐतिहासिक पुनर्जागरण ल्यायो। गोपालप्रसाद रिमालको गीतले भने झैं ूएक युगमा एक दिनू ल्याउने जमर्को गर्यो। अशाध्य लाग्ने तथ्य हो कि पुरानो नेपालको चार हजार गाबिसमा माओवादी पुग्यो, जहाँ शाहीसेना कहिल्यै पुगेन। रिमालको गीत अनुरुप नै मजदुर, किसान-सुकुम्बासी, महिला, दलित, जनजाति, मधेसी, मुस्लिमलागायत लाटासोझा जर्याकजुरुक उठे। यही राजनीतिक जागरणको धक्कामा एकात्मक सामन्ती राजतन्त्र सिद्वान्ततस् ढल्यो।

प्रथम सम्बिधानसभाको निर्वाचनमा सुकदैया थारु, माया चेपाङ, जुब्बा सोरेन, बाबुलाल पासवान, सावित्री दुरा, अमिलाल झाँगड, असर्फी सदा आदि सामाजिक रुपमा अति सीमन्तकृत वर्गका कमरेडहरु जसरी माननीय सभासद बने, जनयुद्वको अभावमा यो सम्भव थिएन। हाम्रै जीवनमा पनि राजनीतिमा त लागियो, तर बाह्र महिना श्रम गरेर तीन महिना खान नपुग्ने वर्गको मानिस जनयुद्वको अभावमा पार्टी नेतृत्वमा पुग्ने वा निर्वाचित सभासद र गणतन्त्र नेपालको प्रथम मन्त्री हुने कुरा सम्भव थिएन।

यी नितान्त उदाहरण मात्र हुन। जनयुद्वको धक्काले नेपाली समाजमा अभूतपूर्व स्थिति निर्माण गरेको हो।

दुर्बल पक्ष

१. सम्बिधानसभा र संक्रमणकालीन अर्थमा लोकतान्त्रीक गणतन्त्रको कार्यनीतिवारे हामीहरुको कुनै टिप्पणी छैन। शक्ति सन्तुलनका आधारमा सीमित उपलब्धी र जघन्य कमजोरीसहितको सम्बिधानमा पनि हामीहरुको प्रश्न होइन। प्रश्न, चुनवाङ बैठकको कार्यनीति  ूस्थापना लगत्तै संक्रमणकालीन लोकतान्त्रीक गणतन्त्रलाई पुजीपतिवर्गले संसदवादीकरण गर्नेछन भने सर्वहारावर्गले समाजवादीकरण गर्नुपर्छू । बिरुद्द मुख्यतस् प्रचण्डहरु जसरी हठात् पतन भए, त्यसमा रह्यो। अतस् प्रचण्डहरु स्वयंको संसदवादीकरण देश, जनता, उत्पीडितवर्ग र हजारौँ क्रान्तिकारी कार्यकर्ताप्रति जघन्य धोकाधडी बन्यो। राजनीतिक रुपमा यही रह्यो दुर्बल पक्ष।

आन्तरिक पार्टी जीवनमा, नेकपा (माओवादी केन्द्र), आठौं महाधिवेशनको प्रतिवेदनले भने अनुसार मार्क्सवादी बैचारिक स्कुलिङ नगराउनु, कार्यकर्ता ब्यवस्थापन योजना नल्याएर जानाजान कार्यकर्तालाई लम्पटीकरणतर्फ धकेल्नु, उपल्लो नेतृत्व डप्फा अभिजातवर्गमा पतन हुनु, रक्तसम्वन्ध प्राथमिकतालाई बढावा दिनु जस्ता हर्कतहरुले पार्टी र जनसम्बन्धलाई पुरै दुर्बल तुल्याए। साथसाथै, कार्यकर्ता कमरेडहरुको पनि सहायक दुर्बलता प्रदर्शन प्रदर्शन भएकै हो कि जसले स्व-अध्ययन तथा वैचारिक-राजनीतिक संघर्षमा आफुलाई दीक्षित गर्ने परिश्रम गर्नु पर्दर्थ्यो, बिपरीत धेरैले एमाले-कांग्रेस चरित्रमा पतन गराउन पुगे।

जनयुद्व तथा शान्तिपूर्ण आन्दोलनको वर्गसंघर्षमा जे जत्ति फौजी वा गैरफौजी कार्वाहीहरु भए, तीमध्ये कम्तिमा ७५५ कार्वाहीहरु न्यायपूर्ण रहे भने २५५ कार्वाहीहरु अन्यायपूर्ण हुन पुगे होलान। किनकि, राजधानी र जिल्ला सदरमुकाम बाहेक देशको सबै गाबिस तथा नगरमा जनसत्ता सञ्चालन गरिएकै हो र त्यस दौरान स्थानीय जनताले व्यापक समर्थन र सहयोग गरेकै हुन। पछिल्लो समय एमाले-कांग्रेसको काँचो पल्टाइले मात्र जनयुद्वका कार्वाहीहरुको मूल्याङ्कनको मापदण्ड तय गर्दैन।

अन्त्यमा, नेपाली जनताका सर्वोत्तम छोराछोरीको रगत, आँसु र पशिनाको पोखरीमा स्थापित दस बर्षको सशस्त्र जनयुद्व एक महान जनक्रान्ति थियो। बिश्व कम्युनिस्ट अस्न्दोलनमा यसको गौरवमय ईतिहास सदा सुरक्षित रहनेछ। मात्र खड्केको कुरा देशको ऐतिहासिक पुनर्जागरणलाई क्रान्तिकारी ब्यवस्थापन गर्न सकिएन। खासगरी, तत्कालीन नेतृत्ववर्गले क्रान्तिकारी विचार एवं सर्वहारा जीवनशैली परित्याग गर्दै, अन्ततस् माओवादको सिद्वान्त नै परित्याग गर्दै जसरी त्यो पलायन भयो, मुख्य जिम्मेवार तिनै हुन। सहायक पक्षमा भने पार्टी केन्द्रीय समिति, राजनीतिक परिषद तथा स्थायी समितिमा समेत रहेर जिम्मेवारी सम्हालेका हामीहरु पनि स्वतस् जसदोषको भागिदार हुने नै भैयो, जुन सोपान क्रमअनुसार ।

-गोपाल किराती नेकपा (माओबादी केन्द्र) पार्टिको अध्यक्ष हुनुहुन्छ ।