Logo

मधेसमा माओवादी आन्दोलन ,समीक्षा र कार्यभार : गोपाल किराँती


महान जनयुद्वको बेला पश्चिमका मगर, दलित र थारु सामुदायिक रुपमै माओवादी बनेका थिए । त्यसपछि राजधानी वरिपरि ताम्सालिङ्का तामाङ्हरुको सामुदायिक उपस्थिति गणनामा आउँछ । अरु खसआर्य, नेवार, गुरुङ, राई-लिम्बू तथा मुस्लिमको ब्यक्तिगत सहभागिता मान्नुपर्छ । मधेसको चित्र भने फरक रह्यो , कार्यकर्ताको तहमा ब्यक्तिगत सहभागिता ब्यवहारले पुष्टि गर्यो । परन्तु, जनताको तहमा आम मधेसी माओवादी आन्दोलनमा संलग्न देखिन्थे । ०६०-०६२ तिर पटक-पटक हामी सिरहा, सप्तरी एवं धनुषा-महोत्तरीको भूगोलबाट यात्रारत रह्यौं । प्रत्यक्ष साक्षात्कार भएको तथ्य हो कि यो भूगोलमा, यहाँको गाउँ-समाजमा एक जना पनि बिरोधी थिएन , सुराकीको त कुरै नगरौं । सबै नागरिक पार्टीको कमरेड्ली सहयोगी थिए । अन्यथा सीमानास्थित मलङ्गवा कार्वाही गरेर सुरक्षित फर्कन जनमुक्ति सेनाको जीवनमा कसरी सम्भव हुन्थ्यो ?

परन्तु, मधेस कसरी माओवादी बिरोधी कित्तामा पुग्यो ? पार्टी अनुभव र आत्मसमीक्षाका आधारमा निम्न घटनाहरु प्रस्तुत छन ।

१.गणतान्त्रीक अभियानको अस्वीकृत कार्यक्रम,

शान्ति सम्झौता लगत्तै, ०६३ मंसीरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा हामीले जोड्दार माग गरेका थियौं । कि तत्काल मधेस गणतान्त्रीक अभियान सञ्चालन गरियोस ! एवं रीतले ताम्सालिङ गणतान्त्रीक अभियान, थरुवान गणतान्त्रीक अभियान आदि । पार्टी केन्द्रीय समितिले हाम्रो प्रस्तावलाई गम्भीर रुपमा लिएन । पुन: ध्यानाकर्शन गर्दा प्रचण्डले भने “कार्यालयबाट मिलाउँला”। पूर्वमा ओखलढुंगा-सोलुको कार्यकर्ता नेचा बजारमा केन्द्रीत गर्ने र ईलामसम्म किरात गणतान्त्रीक अभियान सञ्चालनको तयारी गरियो । तर, केन्द्रीय कार्यालयले स्वीकृति गरेन र तयारी स्थगित गर्नु पर्यो ।

अभियान मागको राजनीतिक पृष्ठभूमि थियो- शान्ति सम्झौताले जनयुद्वमा घोषित प्रदेश जनसरकारहरु बिघटन गर्यो । जसबाट, उत्पीडित जाति र क्षेत्रका जनता सशंकित बन्ने नै भए । त्यसमाथि “जो चोर, उसैको ठूलो श्वर” गर्दै एमालेका माधव नेपालले “माओवादीले संघीयता छोड्यो” भनेर कथित असहमति दुश्प्रचार गरिरहेको थियो । त्यस घडीमा एक मात्र सही कार्यक्रम पार्टीद्वारा गणतान्त्रीक अभियान सञ्चालन र जनसमुदायमाझ पार्टी नीति र स्थितिको सर्वत्र प्रश्टिकरण हुन्थ्यो । यदि प्रचण्ड-बाबुरामले त्यो अभियान स्वीकृति गरेका भए प्रष्ट थियो, जुन समय माओवादी कम्युनिस्ट बिरुद्व मधेसमा आन्दोलन उठाए, ठिक त्यस अगावै माओवादी पार्टीको “मधेस गणतान्त्रीक अभियान” प्रारम्भ गरिसकिएको हुन्थ्यो । जसले भ्रम चिर्ने, घेरा तोड्ने र अघि बढ्ने मार्ग स्वत: प्रशस्त गर्थ्यो ।

२. लहान घटना,

०६३ माघको पहिलो हप्ता चितवनमा राष्ट्रिय कार्यकर्ता भेला थियो । त्यहाँ जाने क्रममा लहानमा जुन घटना घट्यो, केन्द्रीय सदस्यको हैसियतमा राम कार्की जिम्मेवार छन । जहाँ माओवादीतर्फको गोली प्रहारबाट स्थानीय रमेश महतोको निधन हुन पुग्यो । घटना ब्यवस्थित गर्न हेडक्वार्टरबाट मातृका यादवलाई पठाईएछ । उनले अझ घिउ थप्ने मूर्खता प्रदर्शन गरे । किन कि, मातृका जीले अनाहक रमेश महतोको लास खोसेर लिए । मधेसमा अब त्यही भयो, जुन कुरा देशी-बिदेशी प्रतिकृयावादीहरु चाहान्थे ।

राम कार्की जिम्मेवार यसर्थले कि ठिक पहिलो दिन बिहान ११ बजे हामी लहान पुग्यौं । हामी बिराटनगरबाट त्यही चितवन हिंडेका थियौं । लहान पुग्नासाथ दश आठ जना युवाहरुले गाडी रोके र यातायात बन्द रहेको बताए । कहिले खुल्छ, भनेर सोध्यौं । बेलुका ५ बजे खुल्ने बताए । हामी प्रहरी कार्यालय नजिक गयौं र ६ घण्टा चुपचाप बस्यौं । जब ५ बज्यो, मर्यादासाथ तिनै युवाहरु आएर भने -“लौ जानुस्, ५ बज्यो।” हामी सहजै पश्चिम लाग्यौं ।

तर, राम कार्कीहरु भोलि ६०-७० जनाको टोलीमा आए, शक्तिको उन्मादमा बन्द अवज्ञा गरे । भिडन्त भयो, बन्दुक बोकेकाहरुले आन्दोलनकारीलाई गोली हानेर ढाले ।

साथीहरु जनवादको भाषण दिन खुब सिपालु छन । तर, पहिलो दिन हामीले जस्तै बन्दकर्ताको जनवाद बोध गरिदिएको भए लहान घटना हुने कुरै थिएन ।

३. गौर हत्याकाण्ड,

लहानमा राम कार्की र मातृका यादवले प्रदर्शन गरेको उन्माद र दम्भपूर्ण मुर्खता गौरमा प्रभू साहले उत्कर्षमा पुर्याए । जुन मैदानमा फोरमले सभा मञ्च खडा गरेको थियो , त्यही मैदानमा, त्यही समय प्रभू साहले किन माओवादीको मञ्च खडा गर्नु पर्यो ? त्यस उद्दण्डताका कारण वाईसीएलका २७ जना भाइ-बहिनीले बिभत्स बलिदान दिनु पर्यो । त्यही सिलसिलामा ईनरुवामा वाईसीएल जिल्ला नेता क.हरी बस्नेतको ज्यादै निर्ममतापूर्वक हत्या गरे ।

यसरी मधेस गणतान्त्रीक अभियानको प्रस्ताव उपेक्षा गर्ने प्रचण्ड-बाबुरामदेखि तत्कालीन माओवादीका अनेकहरु स्वयंले उपेन्द्र यादव र बिजय गच्छदारलाई मधेसको मशिहा बनाइदिने काम गरे ।

भूगोलसंगै नेपाली बनीआएका, तर सर्वहारावर्गका महान गुरु कार्ल मार्क्सको उचित शब्दमा अंग्रेजको सानो कुकुर राणा जंगबहादुरको अंग्रेज-भारती दलालीका कारण कठमाडौको सत्ताबाट युगौं उत्पीडित मधेसी जनताको मुक्तिमा नेपाली क्रान्तिको भविश्य निर्भर छ । क्रान्तिको यही तथ्य बुझेर हिजो कांग्रेसका सुजाता कोइरालादेखि एमालेका माकुने र खड्ग ओलीहरु त्यसरी माओवादी कम्युनिस्ट बिरुद्व लागिपरेका हुन । त्यसबाट शिक्षा ग्रहण गर्दै माओ लिखित “जनताको माझमा अन्तर्बिरोध सञ्चालनवारे” रचना अध्ययनका आधारमा नयाँ पुस्ताको माओवादीले डट्नै पर्छ । नेपाली कम्तुनिष्ट आन्दोलनमा समर्पित क. जयगोविन्द साहको योगदान एवं क. रामबृक्ष यादव र क.अजबलाल यादव लागायत योद्वाहरुको बलिदानको महान इतिहासबाट नयाँ पुस्ताले अखण्डनीय शिक्षा लिनै पर्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको निर्णायक अंग मधेसमा माओवादी आन्दोलन पुनर्गठनको सैद्वान्तिक एवं ब्यवहारिक आधार वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र सर्वहारावादी संगठन हो । नेकपा (माओवादी केन्द्र) को समग्रतामा विशेष रुपले मधेसको पार्टी सुदृढीकरणको समवेदनशील कार्यभार मधेसमा कार्यरत कमरेडहरुको काँधमा हुन्छ । सर्वहारावर्गको नेतृत्वमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण एव समाजवादी निर्वाचन प्रणाली नै एक मात्र मधेसका पचाशौं लाख मजदुर-किसान मुक्तिको राजनीतिक कार्यक्रम हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्