Logo

समाचार प्रभाव : सहुलियत मूल्यपछि खाद्यको बिक्री बढ्यो


रासस -खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडले अनुदानको चामलमा दश प्रतिशत मूल्य घटाएर सहुलियत दिएपछि बिक्री दर बढेको छ ।

बजारमा खाद्यान्न सजिलै पाइन छाडेपछि कम्पनीले लकडाउनको समयमा सर्वसाधारणलाई १० प्रतिशत सहुलियतमा छुट दिएको हो ।

अरुवा मोटो चामलको पहिलेको मूल्य प्रतिक्वीन्टल रु ४ हजार ४ सय रहेकामा अहिले रु ३ हजार ९ सय ६० रुपैयाँ भएको छ । अरुवा मध्यम चामल भर्खरै बजारमा आएको चामल हो । यो चामलको मूल्य ४ हजार ५ सय रहेकोमा अहिले घटेर रु ४ हजार ५० भएको छ । यसको नयाँ चामलको रु ४ हजार ५ सय ९० कायम भएको कम्पनीका जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जापनी चामलको पहिलेको मुल्य रु ४हजार २ सय रहेकोमा अहिले घटेर रु ३ हजार ७ सय भएको छ । जिरा मसिना चामलको मुल्य रु ५ हजार ३ सय ५० बाट घटेर रु ४ हजार ८ सय १५ भएको छ । सदरमुकामस्थित कम्पनीको कार्यालयबाट यो दरमा खाद्यान्न विक्री भएपनि दुर्गम ठाउँमा रहेका डिपोमा ठाउँ अनुसार मूल्य फरक रहेको उहाँको भनाइ छ । बारेकोट गाउँपालिकाको घाट डिपोमा खाद्य अभाव भएको समाचार केही दिन पहिले राससबाट समाचार प्रकाशित भएपछि तत्काल सो ठाउँमा ३३० क्वीन्टल चामल पठाएको छ । अझै १ हजार क्वीन्टल चामल पठाउने तयारी भइरहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

समाचार प्रभाव : सहुलियत मूल्यपछि खाद्यको बिक्री बढ्यो

छिमेकी जिल्ला डोल्पामा पनि मूल्य घटेसँगै कम्पनीको चामल बिक्रीदर अत्यधिक बढेको पाइएको छ । कम्पनीका डोल्पा प्रमुख कमलराज पाण्डेका अनुसार सडक सञ्जासँग भर्खरै जोडिएको डोल्पामा बजारमा खाद्यान्न पाउन मुस्किल भएपछि कम्पनीको चामल लिनेहरु बढेका छन् ।

ठुलिभेरी नगरपालिका –११ का स्थानीयवासी हर्क कार्की भन्नुभयो, “खाद्य डिपोमा आएर चामल लिएर जान थालेका छौँ । पहिलेको भन्दा सस्तो पनि रहेछ । खुसी लाग्यो ।” डोल्पाका बजारमा मुस्किलले प्रतिकेजी रु ७८ रुपैयाँ अर्थात प्रतिक्वीन्टल ७ हजार ८०० रुपैयाँ मूल्य पर्छ ।

कम्पनीमा रहेको चामलको मूल्य प्रतिकेजी रु ६१ रुपैयाँ अर्थात ६ हजार १ सय रहेको थियो । अहिले सो मुल्यमा १० प्रतिशत छुट अर्थात सहुलियत पाएसँगै प्रतिकिलो ५४ रुपैयाँ ९० पैसामा बिक्री भइरहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । अहिले स्थानीय तहले राहत वितरणका लागि कम्पनीकै चामल प्रयोग गरिरहेका छन् । दैनिन २० क्वीन्टल चामल बिक्री हुने डोल्पामा अहिले दैनिक ८० क्वीन्टलभन्दा बढी बिक्री भइरहेको छ ।

डोल्पामा पनि ४ प्रकारको चामल विक्री भईरहेको छन । बन्दाबन्दीमा कम्पनीले दश प्रतिशत छुट गर्दा जिरा चामल प्रति क्विन्टल रु ६हजार १०० बाट घटेर रु ५ हजार ४९० बिक्री भइरहेको छ । जिल्लामा खाद्यान्न अभाव हुँन नदिन नयाँ खाद्यान्न ढुवानीको काम सँगै ठाउँ ठाउँबाट बिक्री गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । अहिले सर्मी डिपोमा पनि चामल ढुवानीको काम सुरु भइसकेको प्रमुख पाण्डेले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्