-बलराम तिमल्सिना

नागरिकहरूका आधारभूत कुराहरूको जिम्मा बजारलाई छोड्दा विपत्तिको वेला कस्तो हुने रहेछ भन्ने ताजा उदाहरण अमेरिका हो। पृथ्वीलाई दशौं पटक खरानीमा परिणत गर्ने अणु वम छ । हजारौं सुपर सोनिक लडाकु जहाजहरू छन। हजारौं जहाजी बेडा र पनडुव्वीहरू छन।हजारौं अन्तरमहादेशीय मिशायलहरू छन। अरु देशले हानेका मिशायललाई बाटैमा निष्कृय पार्ने प्रतिरक्षा प्रणाली छ। अमेरिकामै बसी बसी संसारको कुनै पनि कुनामा रहेका नागरिकलाई मार्न सक्ने ड्रोनहरू र अन्तरिक्ष प्रणाली छ ।
यी सारा कुरा भएर पनि ऊ अहिले भेन्टिलेटरको अभावले रोइरहेको छ। अमेरिकाले अणु वम त बनायो तर अस्पताल बनाएनछ । भारी युध्दपोत बनाएछ तर भेन्टिलेटर बनाएनछ।  संसारमाथि आक्रमण र लुटपाट गर्ने सेना र हतियार त बनाएछ तर आवस्यकता अनुसार डाक्टरहरू उत्पादन गरेनछ। कैयन दशकदेखि अमेरिकाले नाकाबन्दी लगाउँदा अमेरिकी नाकाबन्दीको समर्थन गर्ने देश इटलीलाई सहयोग गर्न एउटा सानो देश क्युवा आइपुग्यो तर अमेरिका आज आफ्नो निकटतम प्रतिद्वन्दी चीनसँग भेन्टिलेटरको लागि याचना गरेर बसेको छ। यसैबीच चीनले एक हजार भेन्टिलेटर अनुदान दिएर गुण लगाएको छ। त्यति मात्र होइन जर्मनीको लागि पठाइएका भेन्टिलेटर , किट तथा अन्य सामाग्रीहरू हाइज्याक गरेको आरोप पनि अहिले अमेरिकामाथि छ र त्यो सत्यको निकै नजिक मानिन्छ।

यी सवै कुराले के प्रमाणित गर्छ भने प्रकृति र प्राणीद्वेशी बिकास वास्तवमा अर्को अर्थमा बिनास नै हो र आजको पूँजीवादले विकासको नाममा बिनाश गरिरहेको छ र नयाँ नयाँ व्याँधीहरूलाई निम्त्याइरहेको छ।प्रथम विश्व मानिएका युरोप र अमेरिका आज सवैभन्दा हायलकायल बनेका छन भने दोश्रो भनिएको विश्व बरु कम प्रभावित देखिएको छ । विश्वका धेरै देशमा भएको लकडाउँन पछि नदी, समुद्र तथा वायमण्डलमा आएको प्रदुषणको कमी , डल्फिन, कछुवा तथा जङ्गली जनावरहरूले अनुभव गरेको स्वतन्त्रता र चलखेलले यो पृथ्वीमा पृथ्वीको आयु र अन्य प्राणीहरूको स्वतन्त्रताको दुश्मन वास्तवमै मान्छे रहेछ भनेर प्रमाणित
भएको छ।

यो महामारीले जनता आधारभूत कुराहरू निजी क्षेत्रलाई जिम्मा दिनु भनेको नितान्त गलत छ र ती कुराको जिम्मा राज्य या समुदायले लिनु वैज्ञानिक छ भनेर देखाएको छ।
यो सङ्कटले के पनि सिकाएको छ भने भूमण्डलीकरणको आजको विश्वमा यस खाले स्वास्थ्य शङ्कटहरू जहाँबाट सुरु भए पनि ती अन्तत: क्षेत्रीय शङ्कट नभएर विश्वव्यापी शङ्कटको रुपमा बदलिन्छन र त्योसँग लड्न पनि एउटा देश विशेषको क्षमताले मात्रै संभव नभएकोले विश्वव्यापी सहकार्यको जरुरी छ ।

हाल क्युवामा रहेको समाज व्यवस्था समाजवादी हो कि हैन भन्नेमा बहस छ । जे भए पनि क्युवामा समाजवादी ढाँचाको अवशेष तथा संस्कृति वाँकि छ। जसको कारण आज ऊ यो विपत्तिको समय मानव सेवाको नायक बनेर छाएको छ।

यो सङ्कटले सिकाएको अर्को महत्वपूर्ण कुरा भनेको विश्वव्यापी सहकार्यको लागि पूँजीवाद सवैभन्दा बाधक छ। जसरी आज इटली आपतमा परेको वेलामा शेष यूरोप तमासा हेरेर बस्यो। जसरी इरान आपतमा परेको समयमा ऊमाथि नाकाबन्दी लगाउने अमेरिकाले नाकाबन्दी खुकुलो बनाउने स्तरको समेत मानवीयता प्रदर्शन गर्न सकेन , त्यसले के बताउँछ भने पूजीवादमा सवैभन्दा ठूलो र एक मात्र नैतिकता भनेको #नाफा #नाफा र फेरि पनि #नाफा मात्रै हो। नाफा देख्यो भने अमेरिका तालिवानीसँग शान्ति वार्ता पनि गर्छ। नाफा देख्यो भने नयाँ नयाँ तालिवानी पनि जन्माउँछ। नाफा देख्यो भने सहरका सहर खरानी पार्न बम पनि वर्षाउँछ तर नाफा देखेन भने एउटा सिन्को पनि कसैलाई सहयोग गर्दैन। नाफाका अगाडि मानवता, स्वतन्त्रता, नैतिकता सव खारेज हुन्छन। त्यही पूँजीवादको नाफामुखी क्रुर आत्मा बोकेको पूँजीवाद विश्वव्यापी सहकार्य र अप्ठेरोमा परेका देशहरूलाई नि:शर्त सहयोग गर्न सर्वथा असफल छ। त्यसैले पृथ्वीलाई लामो समयको लागि प्राणीहरूको साझा बासस्थान रहिरहन दिन लड्नु भनेको अन्तत: पूँजीवादको अन्तको लागि लड्नु हुन पुग्छ ।

आज विश्वव्यापी रुपमा फैलिएको कोरोना प्रकोप प्रकृति र पर्यावरणको विनासले बजाएको खतराको पहिलो खवरदारीको घण्टी मात्र हो। मानव जाति यो चेतावनीबाट सचेत बनेन भने उसले योभन्दा खतरनाक चेतावनीको अर्को घण्टी बजाउँने छ। मानव जातिले आफूलाई प्राणी जगतको सवैभन्दा विवेकशील र बुध्दिमान प्राणी भएको दावी गरेको छ। आज पूँजीवादको नाफाको पछि दगुर्दा दगुर्दा उसको त्यो वौध्दिकता कसरी नाफा कमाउने भनेर रोगी र विकृत भएको छ। पूँजीवादले मान्छेभित्रको मानवीय तत्वलाई झिकेर कुनै दुष्ट आत्माको प्रत्यारोपण गरिदिएको छ।

अवको जरुरी कुरा भनेको तत्कालको महामारीबाट बच्ने ध्याउन्न मात्र नगरेर यो महामारीबाट बच्दै पृथ्वीलाई महामारी उत्पादन गर्न कारखाना हुनबाट  बचाउँनेतिर सोच्ने हुनु पर्छ।त्यसको लागि आजको विश्वमा बलजफती शासन गरिरहेको वृध्द पूँजीवादलाई विदा गर्ने तथा वैज्ञानिक समाजवादको स्थापना गर्ने हुनु पर्छ ।समाजवाद नै त्यस्तो समाज व्यवस्था हो जसले समाजको लागि काम गर्छ। समाजको रोहबरमा शासन गर्छ। धेर थोर समाजवादको गन्ध रहेको चीनले कसरी आफूमाथिको सङ्कट हल गरेर इटलीलाई सहयोग गर्न टोली पठाउने र अमेरिकालाई एक हजार थान भेन्टिलेटर अनुदान दिने काम गर्न सफल भयो अनि एउटा सानो देश क्युवाले देशभित्रको महामारीलाई चुड्कीको भरमा ठेगान लगाएर इटलीमा आएर मानवजातीको नि:स्वार्थ सेवा गर्न सफल भयो भन्ने कुराले पनि प्रमाणित गर्छ । यद्यपि हाल क्युवामा रहेको समाज व्यवस्था समाजवादी हो कि हैन भन्नेमा बहस छ । जे भए पनि क्युवामा समाजवादी ढाँचाको अवशेष तथा संस्कृति वाँकि छ। जसको कारण आज ऊ यो विपत्तिको समय मानव सेवाको नायक बनेर छाएको छ। (२०७६|१२|२४, जनआन्दोलन दिवस, लेखकको फेसबुक वालबाट )