काठमाडौं । सरकारले कोरोना संक्रमणको रोकथाम र संक्रमितको उपचारमा काम गर्न चाहने निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी सेवा सुविधा दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले निजी अस्पतालमै बसेर कोरोनासम्बन्धी उपचारमा संलग्न भए पनि उनीहरुको तलब भत्ता सरकारले नै ब्यहोर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न शतप्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ ।

यसैगरी सरकारले स्वास्थ्य स्वयंसेविकालाई एक पटकका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ उपलब्ध गराएर क्वारेन्टाइनमा बसे नबसेको अनुगमनका लागि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोनाको महामारीका लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।

क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई १४ दिनपछि र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरी ७ दिन आफैँ अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको व्यवस्था तथा अनुगमन स्थानीय तहले गर्ने निर्णय पनि बैठकले गरेको छ ।