पोखरामा कोरोना संक्रमित ब्यक्ती भेटिएको हैन -स्वास्थ्य मन्त्रालय

काठमाडौं : शुक्रबार दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै सचिवालयबाट पोखरामा एकजना कोरोना संक्रमित भेटिएको सूचना पत्रकारहरुसम्म पुग्यो।
उता पोखरामा पनि गण्डकी प्रदेशका एकजना मन्त्रीले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट एकजनामा पोजेटिभ देखिएको सूचना दिए। पोखराको ल्याबमा गरिएको परीक्षणमा पोजेटिभ देखिए पनि स्वास्थ्य मन्त्रालयले नयाँ मेसिनको परीक्षण नै पूरा नभएको भन्दै उक्त रिपोर्टलाई इन्कार गरिदिएको छ।
स्वास्थ्य मन्त्रीको सचिवालय र गण्डकी प्रदेशका एकजना मन्त्रीले पनि भनिसकेपछि धेरै सञ्चारमाध्यमले पोखरामा सातौं संक्रमित भेटिएको समाचार बनाए। तर अन्तिममा स्वास्थ्य मन्त्रालयले उक्त कुरा नभएको जानकारी दियो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुराबारे व्याख्या गरेका थिए।
डा. देवकोटाले पोखराको कोरोना परीक्षण ल्याबको मेसिन भर्खर जडान गरिएकाले उसले अहिले नै दिने पोजेटिभ या नेगेटिभ रिपोर्टलाई पत्याइहाल्न नसकिने उल्लेख गरे। स्रोतका अनुसार डा. देवकोटाले भने जस्तै पोखराको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पोजेटिभ देखाएको थियो। तर काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा भारतबाट आएका बागलुङका तिनै व्यक्तिको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो।
‘अस्तिबाट सच्चालन गरिएको पोखराको मेसिनमा पोजेटिभ देखिए पनि त्यसको निश्चित समयसम्म परीक्षण पूरा नभइ रिपोर्टलाई मान्न सकिँदैन’, देवकोटाले भने, ‘नयाँ मेसिन भएको केही नमूनाहरुको एक पटक पुन टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न लागिएको छ। तर यो सधैँलाई हुँदैन, केही समयसम्म परीक्षण गरेर मेसिनले राम्रो काम गर्न थालेको प्रमाणित भएपछि पोखराकै रिपोर्टलाई मान्यता दिन्छौं।’
अहिले प्रदेशमा विस्तार गरेका मेसिनहरुको ‘भ्यालिडेसन’को कुरामा केही समय प्रश्न उठ्न सक्ने देवकोटाको तर्क थियो। ‘नयाँ मेसिनले दिने रिपोर्टलाई तत्कालै आधिकारिक मान्न सकिँदैन’, उनले भने, ‘केही संख्याको परीक्षण एथेष्टरुपमा आएर अन्त पनि प्रमाणित भएपछि हामी त्यसलाई मान्यता दिन्छौँ।’