मेरी `रारा´ र एक आदिम प्रेम- भूपाल राई

“कति हजार वर्ष पछाडि
यो अनकङ्टार जङ्गलमा
आफ्नो छुटेको पाइतला पहिल्याउँदै
आइपुगे
एक जोडा लापत्ता प्रेमी ?”
स्वागतार्थ मुद्रामा निहुरिदै
हठात
उत्तिसको हाँगाले भन्यो –
“यसरी हामिलाई छाडिराखेर
हाम्रै आदिम छाँयासङ्ग
दिईइराखेर हामिलाई एक एक नाम
एक एक पहिचान
हराएको थियो प्रेमको त्यो सकल अनुवंश
कहाबाट बिरायो बाटो आज
र आइपुग्यो अचानक
आफ्नै अभिषारको अतीत दोहोर्याउन !”
कटुसको बोटले त्यसै भन्यो –
उनिउको झ्याङले भन्यो –
भन्यो पात्लेको हाँगाले –
“जतिसुकै बदल तिम्रो संस्करण
जतिसुकै बदल रङ्ग अनुहारको
फेर जस्तोसुकै आवरण सरिरमा
चढ्दै जाऊ सभ्यताको हिमाल
तर कदाचित बिर्सिएका छैनौँ
तिमिहरुलाई हामिले
हराएको छैन तिमिहरुको गन्ध
अझै हाम्रो पातबाट
मेटिएको छैन तिमिहरुको स्पर्श
हाम्रो आदिम बोक्राबाट
बिर्सेको छैन तिमिहरुको पहिलो पहिलो माया
हाम्रो नुहेको हाँगाले
छुट्टिएर त तिमिहरु पो गएका हौ – कहाँ कहाँ
यी हेर हामी त अझै यहि छौँ
आफ्ना पृयजनहरुसङ्ग
लौ भन
के तिमीहरु सम्झिन्छौ
हामि छुट्टिएको त्यो अन्तिम वर्ष ?”
साच्ची ! कति हजार वर्ष पछाडी
त्यसरी बाटो बिराएर
भाग्दै भाग्दै
प्रेम निशिद्द प्रेमिहरुबाट
मान्छे निशेधित मान्छेहरुबाट
पुग्यौँ तिमी र म त्यहाँ ?
र पल्टियौँ आकासको नग्न आँखा छलेर
उत्तिसको छहारी मुनि
कि सम्झिदै हज्जारौँ वर्ष अघिको त्यो चुम्बनवर्षा
बर्सियौँ पानी पानी भएर
उनिउको ओछ्यानमाथि
त्यो आदिम भेलामा
केहि थोपा चुम्बनको पानीले
जब सर्वाङ्ग भिजाईरहेको थिएँ तिमिलाई
जब खेलिरहेको थिएँ
एक आदिम खेल तिमीमाथी
उसैगरी नाचिरहेका थिए हावाका लश्करहरु
उसैगरी रमाइरहेका थिए पात, पुतलिहरु
गाईरहेका थिए चरा
उत्सव मनाइरहेका थिए
जङली फूल, घाँस र बुट्यानहरु
मेरी रारा !
तर के तिमिलाई याद छ ?
त्यो आदिम उत्सवमा पनि
म कस्तरी डराईरहेको थिएँ
मान्छेका आँखाबाट !
(२०७६ मङ्सिर ९)-फेसबुकबाट
