पुँजिवादी वर्गिय सत्ता र कोरोना कहर: बलराम तिमल्सिना

बलराम तिमल्सिना
कोरोनाको इपिसेन्टर वुहानमा फसेका मध्ययम तथा उच्च बर्गका नेपाली तथा कालापानी पारी भोकै प्यासै खुला आकासमुनी अलपत्र परेका मजदूरी गरेर फर्केका नेपाली प्रति सरकारले गरेको दुई विपरित व्यवहार हेरेपछि जसले पनि भन्न सक्छ- नेपालको राज्यसत्ता/ सरकार कुन बर्गको हो भनेर ! निकै लामो रोईकराईपछि बुहानमा फसेका/ कोठा कोठामा बसेका नेपालीलाई करोडौं खर्च गरेर हवाई जहाज चार्टर गरेर नेपाल ल्याइयो र उनीहरूकै लागि भनेर खरिपाटी भक्तपुरमा सरकारी खर्चमै क्वारेन्टाइन स्थापना गरेर अनुगमन तथा परिक्षण गरियो । सरकारको उक्त कामको सवैले प्रसंसा गरे । उध्दार गरेर नेपाल ल्याएपछि चीनबाट फर्केका नेपालीहरूले हबाइजाज गिरानमा – “नेपालमा सरकार रहेछ भनेर खुसी लाग्यो”भनेर प्रतिकृया दिए । एता दिल्लीबाट ७०० किलोमिटरको दुरी काँखमा डेढ वर्षको बच्चा समेत बोकेर प्रबासी नेपाली मजदूरहरूले तय गरेको हृदयविदारक समाचार आइरहँदा सरकारलाई फिटिक्कै छोएन। सरकार लकडाउनको घोषणा गरेर खोपीमा म्यारिज खेलिरहेको थियो सायद ।
कञ्चनपुरको नाकाबाट हजारौं आप्रबासी मजदूरहरू छिरे । तिनीहरूको खासै स्वास्थ्य जाँच भएन ।
हो सामान्य परिस्थितिमा यस्तो बेला जो जहाँ छ त्यही सुरक्षित बस्ने हो ।तर सामान्य मजदूरी गरेर खानेहरू जव मजदूरी बन्द हुन्छ तव सुरक्षित रहन सक्दैनन्। उनीहरूलाई कोरोनाभन्दा पहिलै भोकले घिस्याएर लैजान्छ। त्यस्तो समयमा आफ्नो देश र आफ्ना जहान परिवारसँगै बस्न पाए दुख सुखमा ऋण सापटी ऐंचो पैंचो गरेर पनि खान पाइन्थ्यो भनेर सीमा जोडिएको देशमा रहेका मजदूरहरू देश छिर्न खोज्छन् । त्यस्तो बेलामा सामान्यत: संबन्धित देशको सरकारले उनीहरूको स्वास्थ्य जाँच सहित देश छिर्न दिने तथा निश्चित अवधीको अनुगमन/ परिक्षण पछि परिवारसँग पठाउने गर्नु पर्छ। तर हाम्रो ” समाजवाद उन्मुख” सरकारले त्यसो गर्नु आवस्यक ठानेन। आफ्नो पट्टिको दैलो बन्द गरेर खोलापारि रोइरहेका आफ्नै देशका नागरिकहरूलाई हेरेर भनिरह्यो- ” खुरुक्क जो जहाँ छ त्यही बस । देश छिर्न खोज्यौ भने कार्वाही हुन्छ।” यसरी थुनिएकामध्ये केही पौडी खेलेर देशको माटो टेक्न आइपुगे। देशको माटो टेकेर एक पटक सास फेर्न के भ्याएका थिए तिनलाई यमदूतहरूले घेरा हाले र घिस्याउँन थाले। हनुमान कट्टु मात्रै लगाएका ती मजदूरलाई एक सरो कपडा लगाइदिने मानवीयता समेत प्रकट नगरी अर्धनग्न अवस्थामा डोर्याइयो। यस्तो दृश्यमाथि आलोचना गर्दा -” तिनलाई लाहुर जान कसले भनेको थियो ?” भनेर सरकेरको पक्ष लिने पूर्व बिद्रोही कलाकारहरूका कटप्पा अवतारहरू पनि देखा परे।
उता केही दिन देशको जयकार गर्दा पनि देश पस्ने ढोका नखुलेपछि भारतको सरकारले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र खाने कुराको प्रवन्ध गरेको खवर पढ्न पाइयो। यो समाचार पढेपछि लाग्यो-
— मजदूरहरूको लागि देश भन्ने कुरा एउटा मीठो भ्रम मात्र हो ।
—देश सामन्त तथा पूँजीपतीको हो । मजदूर किसानहरू उनीहरूको देशका रैती मात्र हुन।
— देशको ( राष्ट्रको) अवधारणा हिजो सामन्तहरूले बनाएका र आज पूँजीपतिले समर्थन गरेको अवधारणा हो।
— जहिले सम्म देश ( राष्ट्र) रहन्छ त्यो समय सम्म मजदूर किसान लगायत उत्पीडित बर्ग तथा समुदाय मुक्त हुदैनन।
यस्तो विपत्तिको समयमा सरकारको आलोचना गर्नु हुदैन भन्ने न्यारेटिभ अहिले खुव चर्चामा छ। हो सामान्य रुपमा हेर्दा त्यस्तो अवधारणा खुव गुलियो/ मिठो लाग्छ ।
सरकार भन्ने जिनिस बर्गभन्दा माथि हुन्थ्यो भने, पारदर्शी हुन्थ्यो भने, भ्रष्टाचार नगर्ने हुन्थ्यो भने, धनीलाई काँखा र गरीवलाई पाखा नगर्ने हुन्थ्यो भने , अझ गरीव तथा असहायहरूलाई पहिले र बढी माया गर्ने हुन्थ्यो भने , यस्तो बेलामा ज्यान हत्केलामा राखेर विप्तिको बिरुध्द जुधिरहेको हुन्थ्यो भने र यस्तो विपत्तिको वेलामा विदेशबाट ल्याइने सामानमा लामो हात र लोभी चित्त नगर्ने हुन्थ्यो भने – सरकारको आलोचना गर्नु हुन्न भन्ने न्यारेटिभ ठीकै हुन्थ्यो। तर सरकार त्यसको ठीक बिपरित छ। लकडाउनको मारमा परेका दैनिक ज्यालादार मजदूरहरू तथा निम्न आय भएका जनताको दयनीय अवस्थाप्रति दुष्ट पूँजीपतिको आत्मा भएको सरकारमा कुनै पीर चिन्ता छैन। बजारमा कृतिम अभाव छ। मूल्य वृध्दि भैरहेको छ। निजी अस्पतालहरू मूल गेट बन्द गरेर बसेका र सामान्य ज्वरो आएका बिरामीलाई समेत गेटबाटै फर्काउने अपराध गरेर बसेका छन । तर सरकारसँग सवै प्रश्नको एउटै जवाफ छ- लकडाउन । लकडाउन गर्ने र लकडाउनको अवधी थप्नेभन्दा बढी सरकारको दिमागमा छैन
। यस्तो बेलामा सरकारको आलोचना नगर्नु भन्नु भनेको –
— सरकारको लाचारीको समर्थन गर्नु हुन्छ।
— सरकारको नालायकीलाई बहादुरी देख्नु हुन्छ।
— सरकारको जनताका दुखप्रतिको उदाशिनतालाई सरकार गंभीर छ भन्नु पर्ने हुन्छ।
— गंभीर समयमा अझ बढी जनतालाई अधिकार र सुविधा दिएर सहकार्य गर्ने तथा रोगका विरुध्द मिलेर लड्ने गर्नुको सट्टा जनताका अधिकारहरू खोसेर प्रहरीलाई दिने अनि त्यतिले पनि नपूगे सेना गुहार्ने र सेनाको बन्दुकलाई जनताले रगत बगाएर प्राप्त गरेका अधिकार बुझाउँने हुन्छ।
अहिले संसार भर कोरोना विरुध्दको लडाइमा जुन नमुनाको प्रयोग भैरहेको छ त्यो शासकहरूलाई स्वेच्छाचारी बनाउन मद्दत गर्ने र जनतालाई चिडियाखानाका निरिह वाणीहीन प्राणी बनाउने नमुनाको प्रयोग भैरहेको छ।
निसंदेह कोरोना एउटा खतरनाक रोग हो तर आजसम्मको संक्रमितको संख्या र मृत्यु हुनेको संख्या गणना गर्दा यो –‘
— रोगभन्दा हल्ला बढी हो ।
–रोगभन्दा ब्यापार बढी हो ।
–रोगभन्दा राजनीति बढी हो ।
–रोग भन्दा षडयन्त्र बढी हो ।
कोरोना वारे सतर्क होऔं तर नआत्तिऔं ।
कोराना वारे थप बुझौं हल्लाको पछि नदगुरौं ।
सरकारका सही कामको समर्थन र खराव कामको आलोचना गर्ने कर्तव्यबाट च्युत नहोऔं ।
मानव जातिको अन्त नै हुन्छ कि जस्तो गरी निराश नहोऔं।
पूजीवादले आफ्नो फाइदा होउन्जेल कोरोना -व्यापार र कोरोना -राजनीति गरिरहने छ र जनतालाई चिडियाखानाका जनावर बनाएर मजा लिइरहने छ भनेर पनि बुझौं।
कोरोना महामारी पछि पनि प्राय हामी रहने छौं।हाम्रा दुखहरू रहने छन।हाम्रा दुखहरू अझ बढ्ने छन।पूजीपति बर्गले यो समय भएको अरवौं खरवौंको व्यापार घाटाको असुल उपर हाम्रो रगत निचोरेर गर्ने छ। शासकहरू पूजीपतिले हाम्रो रगत निचोरेर हामीलाई कङ्गाल बनाउँने प्रकरणमा सहयोगी बन्ने छन। पूजीपतिलाई फाइदा र सर्वसाधारणलाई घाटा हुने गरी, पूजीपतिलाई छुट र जनसाधारणलाई कस्ने गरी नियम कानून बन्ने छन। कोरोना पछि पनि हाम्रा ऋणहरू रहने छन। यो बीचमा पनि बैंकहरूले ब्याज स्याज जोडेरै बसेका छन। छिमेकीको सापटी या पसलको उधारो बाँकी नै रहने छ। हाम्रो स्थायी दुस्मन भोक कोरोनापछि पनि लाग्ने छ र त्यो भोकसँगको लडाई भोलिका दिनमा अझ कठोर हुने छ।
अन्तत जन साधारणले भोलिका दिनमा आज कोरोनासँग लडेभन्दा ठूलो लडाई पूँजीपतिको शासनका विरुध्द लड्नै पर्ने छ । त्यसैले निराश वैराग्य र भावनामा बहकिने काम नगरौं । कोरोना आउछ र आफ्नो खेला देखाएर जान्छ। केही बलिदानको कोटा बुझेर जान्छ। त्यसपछिको जीवन वारे पनि अहिलैबाट सोचौं । सर्व साधारणको अझ बिकराल भविष्यको वारेमा सरकारले सोच्दैन। किन कि यो सरकार जनताको सरकार नै होइन। ऊ त पूँजीपतिको स्वार्थ रक्षा गर्न बनेको सरकार हो । यो बीचमा पूजीपतिलाई पर्ने घाटाबाट कसरी जोगाउँने भनेर ऊ सोचिरहेकै छ। सरकारले सोच्ने भनेकै धनीहरूको लागि हो। गरीवहरूको लागि गरिव साथीहरू चै छन तर संसार भरि एउटा पनि सरकार छैन भनेर सोचौं। हाम्रो लागि हामी आफैले सोच्ने हो।
मेरा यी भनाइलाई पूँजीपतिले त आलोचना गर्ने नै छन। त्यसको साथै पूजीपतिको आत्मा पैंचो लिएर सोच्ने गरीवकै अभागी छोराछोरीले पनि पूजीपतिका कटप्पा बनेर मलाई गाली गर्न सक्छन। मलाई तिनीहरूले गर्ने गाली प्रति कुनै गुनासो छैन।त्यो उनीहरूको बर्गीय कर्तव्य हो। तर आफ्नो आत्मा मिल्काएर पूजीपतिको आत्मा नहालेका किसान मजदूर तथा उत्पीडित समुदायले चै मजैले सोचौं। पूजीपतिको बनिबनाऊ न्यारेटिभबाट संक्रमित भएर उनीहरूकै रोगको लक्षणबाट होइन आफ्नै अर्गानिक आत्माले सोचौं।
२०७६/१२/१९, भक्तपुर (प्रगतिशिल साहित्यकार तथा कवि बलराम तिमल्सिनाको फेसबुक फेजबाट । )