कोरोनाविरुद्ध विद्यार्थी संगठन एक ठाउँमा (विज्ञाप्तीसहित)

काठमाडौँ — संयुक्त विद्यार्थी संगठनले नेपालमा कोरोना भाइरसविरुद्ध सरकारलाई जवाफदेही बनाउन दबाब दिने भएका छन् । नेविसंघको आह्वानमा मंगलबार भएको संयुक्त बैठकमा नेताहरु महामारी सकेसम्म फैलन नदिन सरकारलाई जवाफदेही बनाउने, व्यापक बढेको कालोबजारी नियन्यत्र गर्न लाग्न सहमत भएका हुन्।
कोभिड-१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् । संयुक्त विद्यार्थी संगठनको आज अनुपम फुडल्याण्डमा बसेको बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन आफ्नो समितिमार्फत देशभर सचेतना फैलाउने निर्णय गरेका हुन् । बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालसँग जोडिएका खुला नाकामा अत्यावश्यक सामग्रीबाहेक मानिस आवतजावतमा रोक लगाउनुपर्ने बताएको छ । बैठकले कोरोना संक्रमण देखिए उपचारका लागि पर्याप्त तयारी गरेर सरकार अगाडि बढ्नुपर्ने बताएको छ । विद्यार्थी संगठनले धेरै भीडभाड हुने क्षेत्रमा विशेष सचेतना अपनाउन सबैलाई अनुरोधसमेत गरेको छ ।
कोरोनाका कारण निजी विद्यालयहरुले चाँडो परीक्षा लिएर चैत महिनाको शुल्क उठाएकोले त्यसलाई फिर्ता वा समायोजन गराउन पहल गर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए।
बैठकले चैत महिनामा विद्यालय सञ्चालन नहुने भएकाले विद्यार्थीको चैत महिनाको शुल्क नलिनसमेत निजी विद्यालयसँग मागसमेत गरेको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईले विपद्को बेला शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै विद्यार्थी संगठन एकजुट भएर अगाडि बढेको बताए । बैठकमा नेविसंघले कोरोनाविरुद्ध राष्ट्रिय सहकार्यको निम्ति प्रस्ताव राखेको थियो। नेविसंघ अध्यक्ष राजीव ढुंगानाको अध्यक्षतामा बसेको बैठकमा सत्तारुढ नेकपा निकट अनेरास्ववियू संयोजक ऐन महर, अखिल (छैटौं) का अध्यक्षमा विमल पोखरेल, अखिल (क्रान्तिकारी) का चिरञ्जीवी ढकाल लगायत सहभागी थिए।
