बिश्वमा कोरोनाबाट मृत्युदर यस्तो र नेपालमा जोगिन चार बुँदे विशेष रणनीति हेर्नुस

एजेन्सी– कोरोनाभाइरस कोविड्-१९ ले संसारभरिका १५६ देशहरूलाई असर गरिरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट संसारभर ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६ हजार ६९ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट ज्यान गुमाउनेहरु चीनमा सबैभन्दा बढी रहेका छन्। चीनमा हालसम्म ३ हजार १ सय ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् छन् भने ८० हजार भन्दा बढी संक्रमित भएका छन्। चीनपछि सबैभन्दा धेरै इटालीमा हालसम्म २१ हजार १ सय ५७ जना कोरोनाबाट संक्रमित भएकोमा १ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ।
चीनको तुलनामा इटालीमा कोरोना संक्रमितको मृत्युदर पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन्। इटाली सरकारले पुरै देशलाई ‘लकडाउन’ गरेर ६ करोड नागरिकलाई सेल्फ क्यारेन्टाइनमा राखेको छ। यस्तै इरानमा पनि कोरोनाको असर उच्च देखिएको छ। १३ हजार ९ सय ३८ जना कोरोनाबाट संक्रमित भएकोमा ७ सय २४ जनाको मृत्यु भइसकेको छ। चीनमा भने पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको छ। पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका केवल २५ नयाँ बिरामी फेला परेका छन् भने १० जनाले मात्रै ज्यान गुमाएका छन्। तर चीन बाहिर भने कोरोनाको प्रकोप भयावह देखिएको छ। विशेष गरी युरोपेली मुलुकहरु कोरोनाको महामारीबाट प्रभावित भएका छन्।
चीन, इटाली र इरानपछि कोरोनाको सबैभन्दा बढी प्रभाव देखिएको देश कोरिया हो। कोरियामा हालसम्म ८ हजार १ सय ६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएपनि मृत्यु दर भने अन्य देशको भन्दा कम देखिएको छ। कोरियामा हालसम्म ७५ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।यस्तै स्पेनमा २९१, जर्मनीमा ११, फ्रान्समा ९१, अमेरिकामा ६०, स्वीट्जरल्याण्डमा १४, बेलायतमा २१ र नेदरल्याण्डमा २० जनाले कारोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। हालसम्म विश्वभर १ लाख ६२ हजार ७ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यसमध्ये करिब आधा चीनका छन्। नेपालमा हालसम्म एक जनामा मात्रै कोरोनाको संक्रमण देखिए पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा भने कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेको छ। हालसम्म भारतमा १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २ जनाको मृत्यु भएको छ।
कोरोनाबाट जोगिन चार बुँदे विशेष रणनीति
रासस -सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसका लागि चारबुँदे रणनीति अघि बढाउने निर्णय गरेको हो ।
प्रारम्भमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई देशभित्र प्रवेश गर्न नदिने, कोरोनाबारे नागरिक सचेतना बढाउने, निगरानी र क्वारेन्टाइनको व्यवस्था गर्ने तथा बिरामीको उपचार र व्यवस्थापन प्रभावकारी तुल्याइने रणनीति अपनाउने बैठकले निर्णय गरेको समितिका सदस्यसचिव एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिंडारीले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा काम गर्ने, यसमा समुदायको थप सहभागिता जुटाउने, भारत तथा चीनसित जोडिएका नाकामा हालसम्म हुँदै आएको आवागमनमा कडाइ गर्ने र स्वास्थ्य निगरानी तथा प्रयोगशाला जाँचमा तीव्रता दिने निर्णय गरिएको उहाँले जनकारी दिनुभयो ।

यस्तै कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने, सङ्क्रमण तथा रोग व्यवस्थापन गर्ने र आपूर्ति व्यवस्था नियमित र सहज राख्ने बैठकले निर्णय गरेको छ । कोरोना भाइरस परीक्षणका लागि सरकारले भविष्यमा सातवटै प्रदेशमा ‘बिएसएल टुल लेभल’को प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ । हाल यस किसिमको प्रयोगशाला काठमाडौँमा मात्रै छ । सरकारले मास्क तथा स्यानेटाइजरजस्ता अत्यावश्यक सामग्री बाह्य मुलुकबाट सार्वजनिक खरिद ऐनको विशेष बन्दोबस्तका आधारमा सङ्क्षिप्त पद्धति अपनाई खरिद प्रक्रिया अगाडि बढाउने रणनीति बनाएको सचिव बिंडारीले उल्लेख गर्नुभयो । बैठकमा उपप्रधानमन्त्री पोखरेल, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत अन्य मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष, प्रतिनिधि, उच्च पदस्थ सुरक्षा निकायका अधिकारी, कर्मचारीलगायतको उपस्थिति थियो ।
बैठकमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले हालसम्म गरेका कामकारवाही तथा गतिविधिबारे समीक्षासमेत गरिएको थियो । सो अवसरमा प्रदेश मुख्यमन्त्रीहरुले विशेष बजेटको माग गर्नुभएको थियो । “हामीले सङ्घीय सरकारसमक्ष विशेष बजेट उपलब्ध गराउन माग ग¥यौँ”, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभयो, “चाँडोभन्दा चाँडो परीक्षणका लागि सातवटै प्रदेशमा प्रयोगशाला निर्माणका लागि पहल गर्नसमेत अनुरोध गरेका छौँ ।” सातवटै प्रदेशमा अस्पताल निर्माणको पहल गर्नसमेत मुख्यमन्त्रीहरुले माग गर्नुभएको छ ।