मकै दिदीको- कथा
सुनिता खनाल
‘कति रुपैयाँ हो दिदी मकैको ?’
‘३० रुपैया हो बाबू ।’
२५ रुपैयामा दिन मिल्दैन ?
त्यतिमा दिए त मेरो लगानी नै उठ्दैन नि बाबू ।
कस्तो ठग दिदी रहेछ, ल दिनु एउटा मकै ।
ऊ मकै हातमा बोकेर त्यहीँ छेउको मुढामा बस्यो हेर्दा ऊ एउटा मकैको निम्ति त्यतिसारो बार्गिनिङ गर्नुपर्ने अवस्थाको हो जस्तो कतै लागेन मलाई ।
यो संवाद, यो दृश्य राजधानीको कुनै एउटा व्यस्त सडक छेउको हो । जुन बाटो भएर म हरेक दिनजस्तो गुर्जेको छु । कयौँ पटक ती दिदीसँग मकै किनेर खाएको पनि छु । उनको दैनिकीलाई बेस्सरी नियालेको छु । तर आज मलाई यो दिदीसँग किनकिन कुरा गर्न मन लागेर आयो । उनीबारे केही जान्ने हुटहुटी भयो । मेरो अफिस र उनको मकै पोल्ने ठाउँ (अफिस भनौँ) निक्कै कम दुरिमा पर्छ ।
आज मलाई उनीसँग उनको कथा सुन्ने मन लाग्यो । सत्य कथा । सङ्घर्षका कथा । उकाली ओरालीका कथा । उनको पारिवारिक कथा । आर्थिक कथा । वा भनौँ उनको सिङ्गो कथा । तर त्यसको निम्ति उनीसँग समय थिएन, मकै नङ्ग्याउने र त्यसलाई आगोमा राखेर धुवाँसँग खेल्नबाट उनलाई एकछिन फुर्सद हुनेवाला थिएन । तर मलाई उनको कथा लिनु नै थियो । आज मैले उनीमा एउटी दिदी, एउटी आमा र एउटी प्रिय दोश्त जसरी बात मार्नु थियो । उनलाई नदेखेको एउटा दिन पनि थिएन । उनी बिरामी पनि त पर्दि हुन्, त्यो पनि त जान्नुथ्यो । कुनै दिन मैले त्यहाँ १५-१६ वर्षकी केटीले उनलाई सघाइरहेको पनि देखेकी थिएँ । ती नानी को हुन् उनको ? त्यो बारे पनि त जान्नुथ्यो,
म उनको पछाडितिरको सिँडीमा बसेर उनीसँग कुरा गर्ने मेसोबारे सोच्दै थिएँ । एउटा उपाय पनि आइहाल्यो । मकै किन्नेको भिँड प्राय थियो । एकछिन होलो भएको मौकामा म उनीतिर हानिएँ । कुनै मन्त्री वा उपल्लो ओहदाका मान्छेसँग बरु म सजिलै कुरा गर्न सक्थेँ हुँला । तर आज मलाई उनीसँग कुरा गर्न हम्मे हम्मे किन परिरहेको हो ? त्यो मैलाई थाहा छैन । त्योबारे सोच्न पनि मलाई यतिबेला फुर्सद कहाँ छ र ? कर्म गरेर खानेहरु अक्सर स्वाभिमानी हुन्छन् । आत्मसम्मानको ख्याल गर्छन् । यो कुरा म जान्दथेँ । मैले कतै प्रश्न गर्दा उनी रिसाउने पो हुन की ? यस्तो ख्यालले पनि नसताएको होइन तर पनि म लागेँ उनीतिर ।
०००
दिदी मकै पोलेर दिनमा कति कमाइ हुन्छ तपाइको ? मैले सोधेँ ।
त्यही ४ सय जति हुन्छ नानी । कुनै कुनै दिन पाँच सयसम्म पनि भएको छ । उनले भनिन् ।
उनले यत्ति बोलेपछि मलाई अलि सहज भयो । सहज बनाइदेकोमा मनमनै खुसी भएँ । आभार पनि मनैले भन्यो ।
त्यसो भए मलाई पाँच सयको मकै दिनुस न त है ? काँचै दिए हुन्छ, तर तपाइले पोलेरै बेच्ने मुल्यमा दिनुहोस न भनेँ । ्
किन नानी ? त्यत्तिका मकै किन लानुहुन्छ तपाईँ । फेरि मैले पोलेको मकैको दाम कसरी लिनु ? मेरा अरु पनि ग्रहाक छन् । उनीहरु आए भने मैले के दिनु ? उनले भनिन् ।
मलाई अचम्म लाग्यो उनको विचार सुनेर । उनको इमान्दारिता देखेर । उनलाई कत्ति माया आफना ग्रहाकहरुको । उनी आफ्ना ग्रहाकलाई भगवान मान्छिन् भन्ने मैले बुझेँ ।
आज एक दिन तपाइका ग्रहाकले अरु केही खालान् । मलाई तपाईँसग केही कुरा गर्नुछ । त्यसैले म यो सब भन्दैछु दिदी । अन्यथा नलिनुस् । म तपाइको बिचारलाई सम्मान गर्छु । मैले भनेँ ।
उनी फिस्स हाँसिन् र मेरो कुरामा स्वीकारोक्ति जनाइन् । त्यहाँ टन्नै भीँड थियो । कुरा गर्न सक्ने माहोल थिएन । मैले त्यो मकै अफिसमा पु¥याएर राखेँ । यदि .दिदी मान्छिन् भने उनैलाई फिर्ता दिन मन पनि नभएको होइन । तर उनी आत्मसम्मानी छिन् र नै मैले त्यसो गर्न सकिनँ । अफिसमा सबै गलल हाँसे । के गरेको यस्तो ? किन ल्याएको यत्रो मकै ? म हर सवालको जवाफ त्यतिबेलै दिने मुडमा थिइनँ । मैले दिदीलाई रोडमा कुराएको थिएँ । जो दिदी मकैबिना आज सुना सुना भएकी थिइन् । पाँच सय रुपैयाँ उनलाई थमाएँ । बडो अप्ठेरोसाथ समाइन् ती पैसा उनले ।
नजिकैको चिया पसलमा लगेँ दिदीलाई । मैले आफूलाई कालो चिया अर्डर गरेँ । दिदीले दुध चिया पिउने मन गरिन् । त्यही मगाएँ । चियाको चुस्कीसँगै उनले चुरोट पनि खाने मन गरिन् । त्यो अघि मैले उनलाई चुरोट खाएको देखेको थिइनँ ।
अगाडि चुरोटको स्टे छ । उनी चुरोट तान्छिन् र त्यसमा ठोस्छिन् । अनि चिया तान्छिन् । म एकछिन् उनलाई लियालिरहेछु । ओठ निक्कै काला छन् उनका । आँखामा पहेँला धर्सा छन् । उमेरभन्दा धेरै नै चाउरी देखिन्छ अनुहारमा । हातमा आगोले पोलेको फोका टक्लक्कै देखिन्छ । उनले लगाएको कुर्तामा मकैको कालो र सडकको धुलो नै हो भन्ने अनुमान लगाउन गा¥हो पर्दैन मलाई । तर उनीसँग कहाँबाट कुरा सुरु गर्ने भन्ने अन्यौलबाट म अझै बाहिर निस्केको छैन । तर पनि कुरा सुरु गर्नु नै थियो । उनको जीवन कथा यस्तो थियो ….
०००
रहरले कोही मान्छे सडकमा बस्दैन नानी । एघार वर्ष भयो मैले यो धुवाँ र धुलोलाई आफ्नो बनाएको । ०६० सालमा मेरो विवाह भयो । रोल्पामा मेरो एउटा सुन्दर परिवार थियो । श्रीमान स्कुलमा स्थायी शिक्षक थिए । ससुरा मेरो विवाह हुनुअघि नै दमको व्यथाले गुर्जिसकेका रहेछन् । सासुआमा थिइन् सँगै । जम्मा तीन जनाको परिवार थियो । छोरी जन्मिइन् । चार जना भयौँ । आर्थिक स्थिति पनि राम्रो थियो । जग्गाजमिन थियो । हुन त गाउँमा नै प¥थ्यो घर । सडक सुविधा थिएन । तर श्रीमानको विदाको दिन पारेर हामी सदरमुकाम जान्थ्यौँ । अर्को विदासम्मलाई हुनेगरी सामान बोकेर आउँथ्यौँ । जिन्दगीका सुनौला सपना थिए हाम्रा । यसो गर्ने, त्यसो गर्ने । केके योजना बनाउँथ्यौँ । मैले पनि एसएलसी पास गरेकी थिएँ । हामी एक अर्कालाई बुझ्थ्यौँ । परिवार चलाउने कला थियो हामीसँग ।
०६२ सालमा माओवादी युद्ध सुरु भयो । सरकार र माआवादी पक्षको युद्धमा रोल्पा निशानामा नै प¥यो । कहिले सेना र कहिले माओवादी हुलका हुल घरमा आउन थाले । खाने र बस्ने त्यहीँ गर्न थाले । उनीहरुलाई केही भने मार्दिने धम्की दिन्थे । एकातिर ज्यान जाने डर । अर्कातिर माओवादी पालेको आरोप छिमेकमा । घरमा खाने कुराकै अभाव हुन थालेपछि मैले एक दिन मुख फोरेर बोलेँ । अब त अत्ति नै भयो सरहरु, हाम्रो घर खाली गर्दिनुस् न । यत्ति बोल्न नभ्याई मेरो कन्चटमा बन्दुक तेर्सियो । चुपचाप बस् । केही बोलिस् र हामीलाई खान दिनसु भने तँ विधवा बन्छेस ।
लोग्नेभन्दा ठूलो सहारा मेरो कोही थिएन । माइति थिएनन् । म सानै छँदा बाआमालाई दमले नै लिएर गयो । बस् म उनीहरुको कुरामा हस् हस् भन्दै गएँ । यता उनीहरुलाई खुवाउने र राख्ने काम गर्दै थिएँ । उता स्कूलबाट श्रीमान अपहरणमा परेको खबर आयो । दुई वर्षकी छोरीलाई सासुआमासँग छोडेर श्रीमान खोज्न निस्किएँ म । सबै आफन्तको घरमा गएँ । गुहार मागेँ । गाउँ सबै मौन वर्तमा थियो । कोहीको मुखबाट एक वाक्य निस्किएन । एकले अर्कोलाई सहयोग गरे त्यो पनि अपहरणमा पर्ने वा मारिने भयले गाउँ चुपचाप थियो । रुँदा रुँदा गला भास्सिएको थियो । आँखा सुन्निएर बाटोमा हेर्न गाह््रो हुँदै पनि पुरै रात उनको खोजिमा बिताएँ ।
जब बिहान भयो । घर नजिकैको खोल्सीको एउटा रुखमा उनको शरीर नाङ्गै अवस्थामा उत्तानो पारेर झुण्ड्याईको देखेँ । जहाँ खुकुरीले दशौँ पटक हानिएको थियो । त्यो दृश्यले म बेहोस भएर लडेँ । पछि होसमा आउँदा म घरमै थिएँ । उनको लास आँगनमा थियो । अर्कातिर बुढी आमा बेहेुस थिइन् । अबोध छारी बाबूको लासमा सैसला खेलिरहेकी थिइ । आँगनभरी छिमेकीको भीँड थियो । जो हिजो चुपचाप थियो ।
माओवादीको आदेश थियो, मलाई कुनै पनि सहयोग नगर्न । गाउँले हेरिमात्रै रहे । श्रीमानको लासलाई डोकोमा हालेर लगेँ । एक्लै जलाएर घर फर्किएँ । घरमा केही थिएन खाने कुरा । छोरीलाई त्यही बासी लाम्टा चुसाएँ । आमाको होस अझै अएको थिएन । आएन पनि । त्यसको चार दिनमा उनले पनि संसार छोडिन् । मेरो संसार रित्तो भयो । त्यहाँ बसिरहे मैले छोरी पनि गुमाउँछु भन्ने ठानेँ । श्रीमान मरेको पाँचौँ दिनको रातमै म घरबाट कहिल्यै नफर्कने गरी निस्किएँ । बाटोमा बाघ कराएको आवाज आइरहेको थियो । एकातिर छोरी रोइरहन्थी भोकले । हिँड्दाहिँड्दै बिहान सदरमुकाम आइपुगेँ । त्यहाँ पनि क¥फ्यु लाग्ने बेला भइसकेको थियो । एक जना बुढी आमै जो मैले त्योभन्दा पहिले कहिल्यै भेटेको मान्छे थिइनन् । उनैले मेरो मद्धत गरिन् ।
६ बजेबाट क¥फ्यु थियो । म साँडे पाँचमा त्यहाँ पुगेको थिएँ । रोएँ । अनुनय विनय गरेँ र आज एक दिनलाई बस्न दिनु भनेँ । उनले पनि मेरो कहानी सुनेपछि मलाई सहारा दिइन् । उनी एक्लै रहिछिन् । एउटा गाइ पालेकी । बिहान दुध बेच्न आफैँ जाने । तर यो युद्धको कारण उनले दुध बेच्न पनि पाएकी रैनछिन् । छोरीलाई टन्न दुध खुवाइदिइन् आमैले । मलाई पनि खान दिइन् । भोलिपल्टदेखि त्यो गाइ गोठको जिम्मा मैले लिएँ । आमा मेरो छोरी हेरेर बस्थिन् । उनलाई पनि सहाराको खाँचो थियो । मलाई त्यहीँ बस्न भनिन् । म एक रातलाई बास मागेको मान्छे लगभग दुई वर्ष उनैकोमा बसेँ । छोरी पनि ४ वर्षकी भइ ।
ति आमा पनि बिरामी परेर थला परिन् र संसार छोडिन् । अब त मेरो कोही भएन यो संसारमा । त्यतिबेलासम्म आन्दोलन मथ्थर भइसकेको थियो । मेरो श्रीमान जस्तै थुप्रैको ज्यान चलिसकेको थियो । सरकार र माओवादीबीच वार्ता पनि भइसकेको थियो । म सानो खर्च जुटाएर त्यहाँबाट काठमाडौँ आएँ । एक जना दिदीको सल्लाहमा सानो कोठा लिएँ पाँच सयमा । विहान विहान कालिमाटी मकै लिन जान थालेँ । त्यतिबेला त कम प¥थ्यो मकै । पाँच रुपैयाँमा दिन सक्थेँ । दिनभरी यहाँ मकै बेच्थेँ । राति भएपछि एउटा घरको भाँडा माझ्न जान्थेँ । छोरीलाई सरकारी स्कूलमा नै भर्ना गरेँ । मकै पोलेर उसलाई पाल्नु र पढाउनुमा नै मेरो उमेर सकियो । अहिले उसले एस्एलसी सकेकी छे । क्याम्पस पढाउनुपर्ने । मलाई पनि ढाड दुख्ने बिमारीले सताउन थालेको छ । यो धुवाँको कारण स्याँस्याँ बढेको छ । डाक्टरकोमा जाँदा धुलो धुवाँबाट पर बस्नु भन्छ । त्योबाट पर बसे त छाक बन्द हुन्छ । खुइअ । छोरीको बिदा छ अहिले । मकै पोल्न ल्याउँ भने थुप्रै केटाहरुको गिद्धे नजर पर्छ ऊमाथि । नेपालमा त बलत्कार थुप्रै हुने भाछ । कतै मेरो छोरीलाई पनि त्यस्तै भयो भने त म फेरि पनि मर्छु । एउटा जीवनमा कत्तिपटक मर्नु म नानी ?
यतिवेला मेरा ओठहरु काँपिरहेछन् । वस्, यी आखैबाट मेरा जवाफहरु बगिरहेछन्, निरन्तर, निरन्तर……..।
- सुनिता खनाल , काठमाण्डौ ।