डोल्पामा शुक्रबार बिहानदेखि परेको मुसलधारे वर्षापछि जिल्लाका अधिकांश स्थानमा भारी हिमपात भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिँउले सेताम्य भएको छ ।

यस्तै बिहानैदेखि परेको वर्षाका कारण तल्लो र मध्ये डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह,लिकु, त्रिपुराकोट, पहाडा, काइगउँलगायतका बस्तीहरुमा पनि बाग्लो हिँउ जमेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिमपात हुने गरेपनि यो वर्ष अघिल्लो वर्षको तुलना कम हिमपात भएको थियो ।

अहिले बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शुन्यमा झरेपछि जनजीवन कष्टकर बनेको छ । तर, यो हिमपातले भरखरै लगाइएको बालीनालीलाई भने फाइदा पुग्ने छ । साथै घरपालुवा जनावरका लागि खर उम्रनलाई सहयोग पुग्ने भन्दै स्थानीय खुसी भएका छन् ।

बिहानैदेखि वर्षात सँगै सुरु भएको हिमपातले जुफाल बिमानस्थल बन्द भएको छ । धावन मार्गमै हिँउ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल बिमानस्थल बन्द भएपछि आवत–जावत बन्द हुँदा दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प भएको छ ।

शुक्रबार दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको जुफाल विमानस्थलले जनाएको छ । हिमपातका कारण जिल्लाका बिभिन्न ठाउँमा राखिएको मोवाइल टावर आउने जाने भइरहेको सर्वसाधारणले गुनासो गरे ।