दयाहाङ राई द्वारा अभिनित ‘नीरफूल’को ट्रेलर

पत्रकार फूलमान बलको लेखन र निर्देशन रहेको फिल्म ‘नीरफूल’को ट्रेलर रिलिज भएको छ । सेलो प्रोडक्सनद्वारा उत्पादित फिल्मको निर्माता सोनम डोमा छिन् । फिल्म १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले दिएको पीडा र मिलनको कथामा आधारित छ ।
‘अहिले फिल्म उद्योगमा समाज र कन्टेन्ट आएन भन्ने आलोचना सुन्नुपरेको छ । त्यसैले समाजको कन्टेन्ट टिपेर फिल्म ‘नीरफूल’ बनाएको हुँ,’ निर्देशक बलले भने, ‘हामीले भूकम्पमा घरहरू भत्किएको देख्यौँ, भग्नावशेषहरू देख्यौँ, तर मन र सम्बन्ध भत्किएको देखेनौँ । त्यही मन भत्किएको कथा हो, नीरफूल ।’
भोगेको कथामा आफू अटाउन पाउँदा निकै खुसी लागेको अभिनेता दयाहाङ राईले बताए । ‘मैले आफूले भोगेको समाजको कथा खोजिरहेको थिएँ,’ उनले भने । फिल्ममा राईका साथै रेखा थापा, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मेछ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवाको भूमिका छ । यो फिल्म ७ चैतदेखि प्रदर्शन हुँदै छ ।