तिक्त्ताको बिच बसिरहेको सत्तारुड दल नेकपाको बैठकमा प्रबक्ता श्रेष्ठ भारतीय सदगुरुको सन्देश लिएर बालुवाटारमा हाजिर

काठमाण्डौ- पार्टी उपाध्यक्ष वामदेव गौतम कि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा लैजाने भन्ने विषयमा बुधबार (१४ फागुन) को नेकपा केन्द्रीय सचिवालय बैठकमा नेकपा नेताहरुबीच मत बाझाबाझ भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने पक्षमा देखिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अधिकांस नेताहरु उपाध्यक्ष गौतमको पक्षमा उभिए ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्को अध्यक्ष प्रचण्डकै मत विभाजित भएपछि गरमागरम बनेको त्यो बैठकमा ओली–प्रचण्ड दुबैले एकजना भारतीय गुरुको सन्देश पाए ।
ओली–प्रचण्डलाई सन्देश पठाउने भारतीय गुरु थिए, जग्गी वाशुदेव । उनी ‘सदगुरु’ का नामले सुपरिचित छन् ।
ओली–प्रचण्डलाई सन्देश ल्याउने नेकपा नेता थिए, सचिवालय सदस्य समेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ । सदगुरुलाई भेट्न प्रवक्ता श्रेष्ठ ८ फागुनमा दक्षिण भारतीय राज्य तामिलनाडु पुगेर १२ फागुनमा फर्केका थिए ।
‘दुबै अध्यक्षलाई सदगुरुले शुभकामना दिनु भएको छ, ओली कमरेडको स्वास्थ्यलाभको कामनापनि गर्नु भएको छ’ बैठकमा प्रवक्ता श्रेष्ठले सदगुरुको सन्देश सुनाए ।
१० फागुनमा तामिलनाडुको कोयम्बटुरमा आयोजित प्रवचनमा भाग लिन जानुअघि प्रवक्ता श्रेष्ठले पार्टीका दुबै अध्यक्ष ओली र प्रचण्डसँग भेट गरी आफू सदगुरुलाई भेट गर्न जान लागेको जानकारी गराएका थिए ।
श्रेष्ठले कोयम्बटुर जान लागेको जानकारी गराएपछि ओलीले तत्कालका लागि स्वास्थ्यस्थिति र व्यस्तताका कारण सम्भव नभएपनि समय मिलाएर कुनै बेला भेट गर्न आउने सन्देश श्रेष्ठमार्फत पठाएका थिए ।
‘अहिले उपचारको क्रममा छु, त्यसैले तत्काल भेट गर्न आउन सम्भव छैन भन्ने उहाँ (ओली) को सन्देश थियो’ श्रेष्ठले भने, ‘स्वास्थ्य राम्रो भएपछि भेट्न आउँछु भन्नु भएको थियो, मैले सदगुरुलाई यही सन्देश सुनाएँ ।’
२५ माघमा एक अन्तरक्रियामा अर्का अध्यक्ष प्रचण्डले आफूले प्रत्येक दिन विहान सदगुरुको प्रवचन सुन्ने गरेको बताएका थिए । प्रचण्डले पनि श्रेष्ठमार्फत् समय मिलाएर भेट गर्न आउने सन्देश पठाएका थिए ।
‘सदगुरुसँग मेरो एक घण्टाजति कुराकानी भयो, त्यसक्रममा मैले उहाँहरुको सन्देश सुनाएको थिएँ’ श्रेष्ठले त्यसैक्रममा सदगुरुले पनि अध्यक्षदुवयलाई शुभकामना र प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।’
मानसरोवर (तिब्बत) को भ्रमणको सिलसिलामा सदगुरु वाशुदेव गत साउन अन्तिमसाता काठमाडौँ आएका थिए । काठमाडौँ हुँदै मानसरोवरतर्फ प्रस्थान गरेका उनले त्यस सिलसिलामा ओली, प्रचण्डका अलावा नेकपाका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग बालुवाटारमा भेट गरेका थिए ।
‘अरुले जस्तो उहाँले धार्मिक प्रवचन दिने होइन, उहाँले जीवनसम्बन्धमा सकरात्मक प्रवचन दिने गर्नुभएको छ’ श्रेष्ठले भने, ‘ईश्वरले मान्छे होइन, मान्छेले ईश्वर बनाएको हो भन्ने उहाँको मान्यता छ ।’
यसैगरी ‘नरक र स्वर्ग भनेर गरिएको परिकल्पना मान्छेले गरेको सबैभन्दा ठूलो अपराध हो भन्ने उहाँको धारणा छ’ श्रेष्ठले सुनाए, ‘स्वर्ग र नरक भन्ने धारणाले मानिसलाई निष्क्रिय बनाउँछ भन्ने उहाँको मान्यता छ ।’
श्रेष्ठका भनाईमा, सदगुरु वाशुदेव पनि भारतको ‘नक्सलाइट मुभमेन्ट’ बाटै आएका व्यक्ति हुन् ।